जिल्ला संकट व्यवस्थापन समिति दोलखाले शनिवार बिहानदेखि भदौ ६ गतेसम्म सम्मका दोलखा जिल्लाभर लकडाउन सुरु गरेको छ । दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशंकर गाउँपालिकाको दुईजनामा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले शुक्रबार थप ५ जनामा कोरोना संक्रमण भेटिए पछि बसेको समितिको बैठकले एकहप्ता जिल्लाभरी लकडाउन गर्ने घोषणा समितिका संयोजक डबल पाण्डेले जानकारी दिनु भयो ।
कोरोना भाईरस संक्रमितसँगको सम्पर्कमा पुगेकाहरुको खोजी, पूर्व सर्तकता र थप फैलन नदिनको लागि हप्ताभर लकडाउ गर्ने निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो । संक्रामक रोग ऐन, २०२० को दफा २ को अधिकार प्रयोग गरी दोलखा जिल्लाभर साउन ३१ गते बिहान ६ बजेदेखि भदौ ६ गते राती १२ बजेसम्मको लागि लकडाउन गरिएको प्रजिअ शर्माले जानकारी दिनु भयो ।
एम्बुलेन्स र दमकल बाहेकका सबै सरकारी तथा गैरसरकारी सेवा, विद्यालय, बजार, बैंक तथा वित्तीय संस्था, निजी तथा सार्वजनिक यातायात लगायत सबै प्रकारका सेवाहरु एकहप्ताको लागि निषेध गरिएको प्रजिअ शर्माले बताए । तर खाद्यन्न, तरकारी र दुग्धजन्य पसलहरु भने बिहान १० बजेसम्म खोल्न पाइने प्रजिअ शर्माले बताउनु भयो ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रामक रोग भएको कारण सबैलाई निषेधाज्ञाको उच्च पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेका उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ अनुसार एकमहिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना गरिने समेत प्रजिअ शर्माले जानकारी दिए ।
जिल्लाको गौरीशंकर गाउँपालिकामा संक्रमितको सम्पर्कमा पुगेका ८३ जनाको स्वाब संकलन गरि धुलिखेल अस्पतालमा परीक्षण गर्दा शुक्रबार एक महिला र चार पुरुष गरी पाँच जनामा कोरोना संक्रमण देखिए पछि थप सतर्कताको लागि निषेधाज्ञा जारी गर्नु परेको प्रशासनको भनाई छ । हालसम्म जिल्लाका पाँच सय ३२ जनाको पीसीआर परीक्षण गर्दा दुई महिलासहित ११ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।