कोभिड-१९ ले अहिले संसारलाई नै ग्रस्त पारिसकेको छ|डिसेम्बरको अन्तिम तिर चीनको वुहान शहरबाट यो रोग सुरु भयो भन्ने समाचार आउदा हामीलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै थियो|कसैले पनि सोचेको थिएन, यसले सम्पूर्ण संसारलाई यसरि प्रभावित गर्ने छ र यति लामो समय संसार नै अस्तव्यस्त हुनेछ भनेर| त्यसपछि यूरोप र अमेरिका तिर यसको प्रकोक बढेपछी हामी केहि चिन्तित र सजग बन्यौं| सरकारले ४-५ महिना लकडाउन गरिरहदा रोग नियन्त्रण भित्रै थियो| यद्दपी खुल्ला सीमाबाट रोगहरु बिस्तारै भित्र भित्रै फैलिदै थियो|
४-५ महिनाको लकडाउनले गर्दा एक त हाम्रो जनजीविकामा समस्या आयो| अर्को सधैँ सामाजिक रुपमा दुरी कायम गर्दा र सामाजिक जमघट कम गर्दा-गर्दै हामी सबै आजित भयौं, थाक्यौ र धैर्यताको बाध टुट्यो| अझ त्यो भन्दा महत्वपूर्ण ४-५ महिनासम्म पनि धेरै संक्रमित नहुनु र मृत्यु नहुनुलाई हामीलाई कोरोनाले छुनै सक्दैन भन्ने हिसाबले बुझ्यौं| छोइहाल्यो भने पनि नेपालीलाई केहि हुदैन भन्ने गलत मानसिकता अपनायौं| परिणामस्वरूप लकड़ाउन खुकिलो हुने बित्तिकै हामी सामान्य रुपमै बाहिर निस्कियौ| आवश्यक सुरक्षाका उपायहरु अबलम्बन गरेनौं| राजनीतिक भेला, भोजभत्तेर, सेमिनार आदिमा धेरै जना निर्वाद सहभागी भयौं| २ मिटरको सामाजिक दूरी, अनिवार्य मास्क लगाउने र हात धुने र स्यानिटाइज गर्ने कुरालाई कुरालाई वेवास्त्त गर्यौं| परिणाम स्वरूप आज नेपालमा कोभिड-१९ को संक्रमण समुदाय स्तरमै फैलिसकेको छ| श्रावण २८ गतेको दिनसम्म नेपालमा २४ हजार जति संक्रमित भैसकेका छन् भने ८३ जनाको मृत्यु भैसकेको छ|
पछिल्लो समय लक्षण सहितका बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन्| चिकित्सक र स्वास्थ्यकर्मी समेत उल्लेख्य संख्यामा संक्रमित भैसकेका छन र ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन र आइसोलेसनामा बस्नु परेको छ|आइसियू र भेन्टिलेटर चाहिने बिरामीको संख्या त्यतिकै बढिरहेको छ| राजधानी लगायत देशका सबैजसो तोकिएका अस्पतालमा बेडको अभाव भैसकेको छ| यसै गरिव देश त्यो माथि पनि अस्तव्यस्त स्वास्थ्य संरचना र प्रणाली मुलुक| देशभररि बेड, आइसीयु र भेन्टिलेटर अत्यन्त न्यून संख्यामा छन्| अब बिस्तारै सिकिस्त र स्वास-प्रश्वासमा गम्भीर भएका बिरामी अस्पतालमा बेड, आइसीयु र भेन्टिलेटरका लागि कुर्दाकुर्दै जीवन मृत्युवरण गर्नुपर्ने दिन धेरै पर छैन| बढ्दो बिरामी संख्यालाई सिमित स्रोत साधान क्षमताले थेग्न सक्दैन| आफैँ संक्रमित हुदैं जाँदा उपचार गर्ने स्वास्थ्यकर्मी र चिकित्सकको समेत चरम अभाव हुने संभावना छ| तसर्थ निश्चित उपचार विधि प्रतिपादन भैनसकेको यो अवस्थामा रोकथाम नै यसको मुख्य मन्त्र हो| संक्रमित संख्या कम गर्न, संक्रमण फैलिन कम गर्नमा हामी सबैले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ| नियन्त्रण सरकारले गरेन, यसले गरेन, त्यसले गरेन भन्दा पनि हामी आफैले गर्न सक्ने धेरै छ| सरकारले त संक्रमित भैसकेपछि व्यवथापन गर्ने हो, रोकथाम हामीले नै गर्ने हो| सरकारको मात्र हातमा छैन| हरेक नागरिक सचेत भएर आफू अनुशासित हुने र सुरक्षाका उपायहरु अबलम्बन गर्ने हो भने मात्र यसको नियन्त्रण सम्भव छ|
कोभिड-१९ का लक्षणहरु
यसको लक्षणहरुसंग सायद कोहि पनि अनविज्ञ छैन होला| १००.४ डिग्री फरेन्डहाइड भन्दा माथि ज्वरो आउने, खोकी लाग्ने, स्वश प्रसासमा समस्या देखिनु नै यसको मुख्य लक्षणहरु हुन्| यसको अलाव शरीर आलस्य हुने, शरीर दुख्ने, घाँटी दुख्ने, थकान लाग्ने,रुघा लाग्ने, झाडापखाला लाग्ने, खानको स्वाद हराउने आदि लक्षणहरुसमेत देखिने गर्दछन| कतिपय विरामीमा कुनै लक्षणहरु नदेखिने पनि हुन्छ| मुख्य गरेर मौसमी रुघाखोकीसंग झुक्किने भएकाले अहिलेको समयमा यस्ता कुनै लक्षण देखिनसाथ होम क्वारेन्टाइन बस्नु अनिवार्य हुन्छ र गाह्रो भयो भने स्वास्थ्य सस्थामा सम्पर्क राख्न सकिन्छ| सामान्य रुघाखोकी त हो नि भनेर निर्वाद बाहिर हिडडुल गरेर समुदायमा धेरैलाई संक्रमण फैलाएको पनि पाइएको छ| यस्तो गल्ति कसैले पनि गर्नु हुदैन|
यसको रूकथामको उपायहरु
आजसम्म पनि गाउँघर र शहरमा राजनीतिक भेटघाट, भेला र विभिन्न कार्यक्रमहरु भैरहेका तस्विरहरु सामाजिक संजालमा आइरहन्छन| त्यस्तो गर्नु किमार्थ उचित हैन| एउटा व्यक्तिमा मात्र यसको जोखिम छ भने यस्ता कार्यक्रमबाट धेरैलाई सर्न सक्छ| त्यसैले अत्यावश्यक काम नभएसम्म घर बाहिर नजाने, सामाजिक र अन्तरव्यक्त दुरी कामय गर्ने र अरुलाई पनि त्यस्तो गर्न सुझाव दिने| कोहि रिसाउछ की भनेर कसैलाई पनि अनावश्यक भिडभाड र हिडडुल नगर्न भन्न हिच्किचाउनु हुदैन| उसको हेलचेक्र्याइँले समुदायकले नै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ|
- अनिवार्य रुपमा उचित तरिकाले मास्क लगाउने
यताउता जाँदा र भेटघाट गर्दा अनिवार्य रुपमा नाक र मुख दुबैलाई छोप्ने गरेर मास्क लगाउने| मुख मात्र छोप्ने र नाक नछोपी मास्क लगाउने गरेको पनि देखिन्छ, जुन अर्थहीन हो| कोभिड-१९ स्वाशप्रश्वास बाट सर्ने भाइरस भएकाले नाकबाट अझ धेरै सक्रमण हुन्छ| प्रभावकारी तरिकाले मास्क लगाउदा आफूमात्र सुरक्षित नभएर आफूबाटसमेत अरुमा सक्रमण सर्दैन| मास्क लगाएको अवस्थामा मास्क लाई पटक-पटक हातले छुनु हुदैन| त्यसो गर्दा भाइरसहरु मास्कमा रोकिएको छन भने हातमा सर्छ र तुरुन्त हात नधोएको अवस्थामा सक्रमित हुने जोखिम बढ्छ| लगाइसकेको मास्कमा भाइरसहरु हुने गर्दछन, तसर्थ खोलेपछि हातमा खेलाइरहने, भान्छामा, डाइनिङ्ग टेबलमा राख्ने, अरु छोइरहने ठाउँमा राख्ने गर्नु हुदैन| कि सुरक्षित डस्विनम फाल्ने, फेरी प्रयोग गर्नु छ भने अलग ठाउँ वा सम्भव भए हावा नछिर्ने सानो पलास्टिकको झोलामा राख्ने|
कुनै पनि व्यक्तिलाई भेट्दा कम्तिमा अनिवार्य रुपमा २ मिटरको दुरी कायम गर्ने| भेटघाट र जमघटमा केहि गरि जानै परे सामाजिक दूरी कामय गर्ने| हात नमिलाउने, नमस्कार गर्ने|
- हात धुने वा स्यानिटाइज् गर्ने
बेला-बेलामा साबुन- पानीले कम्तिमा २० सेकेण्ड मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने|
- खोक्दा वा हाच्छिउ गर्दा नाक मुख टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपर बिर्को भएको फोहोर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानले मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने|
- कोरोना संक्रमित ठाउँ गएर आएको वा संक्रमित व्यक्तिहरुलाई भेटेको आशंखा भएमा आफ्नो परिवारको सदस्यहरुबाट समेत छुट्टै होम आइसोलेसंमा बस्ने, लक्षण देखिए स्वास्थ्य सस्थामा सम्पर्क गर्ने गर्नुपर्दछ|
अहिले संक्रमण गाउँ-गाउँमा समेत पुगिसकेको छ| गाउँघरमा संक्रमण नियन्त्रण गर्नलाई अझ सजिलो छ| एक त बस्तीहरु पातलो छन्, दोस्रो दैनिक खानपानका लागि सामाग्रीहरु किन्नलाई भिडभाड हुने ठाउँमा जानै पर्दैन| आफ्नै करेसा र बारीमा फलेको सामाग्रीहरुबाट गुजारा चल्छ| किसानहरुले गाई वस्तु पनि आफैंले पालेका हुन्छन र दूध किन्नलाई पसल जानुपर्ने पनि हुँदैन| त्यसैले गाउँ घरका मानिसहरु नयाँ-ठाउँ नजाने, नयाँ मान्छे नभेट्ने, भोजभत्तेर जस्तो सामाजिक कार्य नगर्ने, राजनीतिक सभा-सम्मेलन नगर्ने र आफ्नै खेतबारीमा काम गर्दै आनन्दले बस्ने हो भने सजिलै यो रोग नियन्त्रण हुन्छ| विदेश र अन्य शहरबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नु पर्ने हुन्छ| यस्ता कार्यका लागि स्थानीय जनप्रतिनिधि र बुद्दिजिबिहरुले सक्रिय भूमिका खेल्नुपर्ने हुन्छ| यति गर्ने हो भने कोरोनाबाट गाउँघरमा त्रसित हुनुपर्ने केहि छैन| तर हेलचेक्र्याइँ भने ज्यान नै जोखिममा पर्न सक्छ| त्यसैले सचेत होऔं, सुरक्षित रहौं|