जिल्ला प्रशासन कार्यालय दोलखाले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समिति दोलखाको आज बसेको बैठकले आज साँझ ५ बजे देखी भदौ १० गते राति १२ बजे सम्म निषधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्लाको गौरीशंकर गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा भीमेश्वर नगरपालिका क्षेत्रमा कोभिड १९ को संक्रमितहरुको संख्या बढ्दै गईरहेको र जिल्लाका अन्य स्थानीय तहहरुमा पनि संक्रमण फैलने संभावनालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको समयमा अत्यावश्यकीय काममा बाहेक घर बाहिर निस्कन र हिडडुल गर्न पाईने छैन । त्यसैगरि मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव वाहन, तरकारी फलफूल, दुध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, दाना ढुवानी, ईन्धन ढुवानी, निर्माण सामाग्रीका साधन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने साधन बाहेक अन्य सवै प्रकारका निजी सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाईने जनाएको छ ।
आधारभुत खाद्य सामाग्री पसल, तरकारी पसल, दुध डेरी लगायत अत्यावश्यक सेवाका पसलहरु तोकिएको बिहानको समय मात्र र अन्य सम्पुर्ण पसलहरु सञ्चालन गर्न नपाईने, सरकारी, गैरसरकारी कार्यालयहरुबाट अत्यावश्यक सेवा तथा कार्यालयको आन्तरिक कार्य मात्र गर्न पाइनेछ ।
त्यसैगरि होटल तथा रेष्टुरेण्ट, शैक्षिक संस्थाहरु (अनलाईन र भर्चुअल कार्य गर्न पाईने), सवै प्रकारका सभा गोष्ठी तालिम सेमिनार, सवै प्रकारका प्रदर्शन मेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायत मनोरञ्जन स्थल, शैलुन, व्युटिपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखाना, पुस्तकालय संग्राहलय र चिडियाखाना र समूहमा खेलिने खेलकुद पुर्ण रुपमा निषेध गरिएको छ ।
संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३) बमोजिम उक्त आदेश जारी गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । आदेशको अवज्ञा गरी कार्य गरे गराएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।
कोरोेना संक्रमणको जोखिम नियन्त्रण गर्न सहयोग, साथ र सहभागिताका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले सबैलाई अनुरोध पनि गरेको छ ।
भीमेश्वर नगरपालिकामा हिजो मात्रै ६२ जनाको स्वाव परिक्षण गर्दा ३ महिला र ३ पुरुष गरि ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यस अघि दोलखाको विभिन्न स्थानीय तहबाट पठाइएका स्वावको परिक्षण रिपोर्ट आउन बाँकी नै रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।