सिन्धुली भदौ १२
सिन्धुलीको सुनकोशी गाउँपालिकाको विकास निमार्ण र समृद्धीका लागि संकलन हुने आन्तारिक स्रोत मिलेमतोमा ठेक्का लगाएको आशंकामा राजनितिक दलले पुन ठेक्का आह्वानको लागि विज्ञप्ति मार्फत गाउँपालिकाको ध्यानकर्षण गराएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी सुनकोशी गाउँपालिका कमिटीले गाउँपालिकाले आर्थिक वर्ष ०७७ /७८मा सुनकोशी नदी किनाराका ढुङग्रा, गिटी, बालुवा ठेक्का सुचना विगतको वर्षभन्दा कम दर रेटमा सुचना निकाल्नु ईविडिङ प्रकृया नअपनाउनु, प्रक्रियाको चरणमा प्रतिस्पर्धि कम्पनीहरुलाई प्रतिस्पर्धामा सहभागि हुन नदिने, प्रतिस्पर्धा विना न्यूनतम मुल्यमा ठेक्का दिने दुरासयका साथ फर्महरु मिलेमतोमा आएको जानकारी हुँदाहुदै उक्त ठेक्का प्रक्रियालाई सहयोग गरि गाउँपालिकाको सबैभन्दा महत्वपूर्ण आन्तारिक आर्थिक स्रोत क्षति पुर्याउने कामले गम्भिर आशंका पैदा भएको र जनभावनामा समेत नकरात्मक असर परेको हुदाँ उक्त ठेक्काको अन्तिम सम्झौता रोक्का गरि अनलाइन प्रणाली मार्फत पुन ठेक्का आह्वान गर्न सुनकोशी गाउँपालिका समक्ष आज एक विज्ञप्ती मार्फत माग गरेको छ ।
यस्तै विज्ञप्ती मार्फत सुनकोशी गाउँपालिका वडा नं ३ गणेस्थान बजारका श्याम जर्घामगरकी बुहारी शोभा जर्घामगरलाइ घरमै गएर कुटपिट गर्ने र अभद्र व्यवहार गर्ने कार्यका अगुवा राम बोगटी लगाएत घटनामा संलग्न अन्य व्यक्तिलाइ कानूनी कारवाही गर्न समेत माग गरिएको छ ।
साथै विना आधार तथा विना प्रमाण पुर्वाग्रहको भरमा गाउँपार्टी कमिटी सदस्य रोहित राज गिरि लगायत अन्य व्यक्तिहरुलाई लगाइको झुटो मुद्धा फिर्ता लिन सम्बन्धित पक्षलाई विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
यस्तै नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाले पनि गत मंगलबार एक विज्ञप्ती निकालेर सुनकोशीको नदी किनाराका ढुङग्रा, गिटी, बालुवा अघिल्लो आर्थिक वर्षमा ६ करोड ९६ लाखमा ठेक्का लागेकोमा यस आर्थिक वर्ष ०७७ ७८ मा तिन करोड बीस लाखमा लिन खोज्ने कम्पनीलाई समेत दर्ता गर्न नदिई मिलेमता १ करोड २० लाख मात्रमा ठेक्का दिएर सुनकोशी गाउँपालिकालाई ठुलो वित्तिय नोक्सानीमा पारेको भन्दै गाउँपालिकालाई ध्यानकर्षण गराएको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपाल सुनकोशी गाउँपालिकाले पनि आज प्रेस विज्ञप्ती निकालेर सुनकोशी गाउँपालिकाको आन्तारिक स्रोत मिलेमतोमा ठेक्का लगाएका भन्दै पुन ठेक्का आह्वान गर्न सुनकोशी गाउँपालिकालाई ध्यानकर्षण गराएको छ ।
उता सुनकोशी गाउँपालिकी अध्यक्ष दिपा वोहोरा दाहाल भने राजश्व परामर्श समितिको नियम अनुसार १ करोडको ठेक्का लगाउने भएकोले सो नियम अनुसार २० लाख बढी बनाई ठेक्का आह्वान गरिएको बताउनु भयो । “गाउँपालिकाले सुचना निकालेर ठेक्का आह्वान गरेको थियो” उहाँले भन्नु भयो “हामीले वातावरण प्रभाव मूल्यांकन ईआइई समेत गरेका थियौ ।” गाउँपालिकाले सबै प्रक्रियाको चरण पुरा गरि ठेक्का दिएको अध्यक्ष दाहालले बताउनु भयो ।