नेपाली साहित्यमा बिना थिङको नाम नौलो होईन । थोरै कृति र छोटो अवधिमै साहित्यमा जम्न सफल थिङ नेपाली नारी हस्ताक्षरमा अहिले स्थापित भई सक्नु भएको छ । थोरै कृति तर गहिरो अध्ययनका साथ वहाँको पुस्तक प्रकाशन भएको छ । कथा वस्तु छनोट र लेखनशैलीको आधारमा दृष्टिगत गर्ने हो भने तामाङ समुदायमाझ त बिना थिङ चम्किला तारानै मानिन्छ ।
थिङको २०६९ मा ‘छुकी’ कथासंग्रह र २०७२ मा ‘रातो घर’ कवितासंग्रह प्रकाशन भएका छन् । यी दुई कृतिलेनै पाठकको मन मस्तिकमा जमेका थिङको भर्खर बजारमा आएको ‘याम्बुनेर’ कथासंंग्रहले अहिले सञ्चारमाध्यम, सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । अहिले याम्बुनेरमाथि बहस, छलफल, संवाद हुन थालेको छ । बिना थिङको भर्खर प्रकाशित याम्बुनेर कथासंग्रह सेरोफेरोमा रहेर इदैनिक खबर अनलाईनका लागि जीवन लामाले गरेका कुराकानी संक्षेपमा

तपाईको बुझाईमा साहित्य के हो जस्तो लाग्छ ?
– सजीव अनुभूतिहरुको कलात्मक सम्प्रेषण नै साहित्य हो ।
तपाई शिक्षक पनि हुनुहुन्छ, लेखनलाई समय कसरी मिलाउनु हुन्छ ।
– यसको लागि धेरै थोक कटौती गर्न पर्छ । जस्तै साँझ बिहान छिमेकमा अथवा चियापसलमा गफ गर्ने समय । एक प्रहरको निद्रा । टेलिभिजनको हाँस्यव्यङ्ग्य । विदाका दिनहरुमा गरिने मनोरञ्जन । लिजर पिरियडमा समकक्षीसँगको अन्तरङ्ग ।
यसअघि पनि कथा संग्रह र कविता प्रकाशन भईसकेको छ फेरी भर्खर सार्वजनिक भएको याम्बुनेर कथासंग्रहले पाठकलाई के दिन खोजेको सन्देश के छ ?
– आममानिस जस्तै लेखक पनि समयसँगै विकसित, परिमार्जित र परिष्कृत हुँदै जाने जीव हो । उसका धारणा, विचार र बोध अनुभव, ज्ञान र अन्तरक्रियाले परिमार्जित हुँदै जान्छन् । त्यसको प्रभाव उसका पछिल्ला रचनाहरुमा देखिन्छन् । सायदै यसै हिसाबले अघिल्ला दुई पुस्तकभन्दा ‘याम्बुनेर’ फरक छ ।
यस कथासंग्रहमा कस्ता कस्ता कथाहरुलाई समेट्नु भएको छ ?
– सिमान्तकृत समुदायले भोग्नुपरेको कथाहरु बढी मात्रामा समेटिएको छ । त्यसमा खास नश्लको आधारमा राज्यले गरेको दमन, निर्माण गरिदिएको मानक, दोस्रो दर्जाको मान्छे हुनुको पीडामात्रै होइन त्यसविरुद्ध उसले गरेको संघर्ष पनि समेटिएको छ ।
याम्बुनेरको अर्थनै अलि छोटोमा बताई दिनुहोस न ।
–तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ । याम्बुुनेरको शाब्दिक अर्थ काठमाडौनेर हो ।

याम्बु (काठमाडौ) का वास्तविक तामाङ समुदायको अवस्थालाई चाहि तपाइ लेखकको दृष्टिले कसरी नियाल्नु भएको छ ?
– याम्बुलाई वरिपरिबाट घेरेर उभिएको भुगोल नै याम्बुनेर हो । याम्बुनेर अधिकांश तामाङहरुको बस्ती छ । ती यहाँका रैथाने हुन् । तर शक्ति केन्द्रको नजिक भएर पनि तामाङ समुदायले कहिल्यै राज्य–सत्ताको सामिप्यता महशुस गर्न सकेन । ऊ सधैँभरी छेउ किनारमै राखियो । सधैं अपहेलित भयो । सधैं तिरस्कारमा पर्यो । सत्ताले उपलब्ध गराउनुपर्ने सुविधाबाट सधैँ वञ्चितीमा रह्यो । परिणाम, इतिहासको लामो कालखण्डमा मान्छे भएर जन्मेपछि गर्नुपर्ने न्युनतम जीवनभोग पनि गर्न पाएन । अहिले यो समुदाय सचेत भएको छ । र, मान्छे हुने संघर्षमा लागिपरेको छ ।
दस्तावेजीकरण या लिखित इतिहास नभएकै कारण तामाङ समुदाय पछि परेको हो जस्तो लाग्छ कि लाग्दैन ?
– इतिहास लेखन ज्ञान निर्माणसँग जोडिने प्रक्रिया हो । ज्ञान निर्माण शक्तिमा आधारित हुन्छ । ज्ञान र शक्तिको सम्बन्ध बुझेपछि यसको इतिहास लेखन कहाँनेर छ भन्ने प्रष्ट भइहाल्छ नी ।
अबको लेखक या साहित्यकारहरुले पछाडि पारिएका समुदायको जनजीवन या वास्तविक कथा वस्तुलाई कसरी झल्काउनु पर्छ ?
– सबाल्टर्नले आफ्नो कथा आफै भन्नसक्छ कि नाहिँ भन्नेबारे लामो समय बहस भयो । गायत्री स्पिभाकले त लामो निबन्ध नै लेखिन् – ‘क्यान सबाल्टर्न स्पिक ?’ उनीहरुजस्तै बौद्धिकहरुले सबाल्टर्न बोल्न सक्छन् भन्ने पुष्टि गरिदिए । अहिले हामी आफ्नो कथा भन्न सक्ने भएका छौं । तर, हामी आफैँले आफैलाई कति बुझेका छौं भन्ने अर्को मुख्य प्रश्न हो । फेरी आफू हुनुको पहिचान पनि समयसँगै परिवर्तन हुँदै जाने हो । इतिहास र वर्तमान दुवैलाई सँगसँगै नबुझी कुनै पनि समुदायको सांगापांगो तस्वीर बन्दैन । लेखकमा इतिहास बोध मात्र होइन वर्तमानबोध पनि भयो भने सही तस्वीर उतार्न सक्छ । नभए लेखन एकाङ्गी र एकपक्षीय हुन्छ ।

तामाङ लेखक तथा साहित्यकारहरुको स्तर या लेखकीय क्षमता कत्तिको छ ?
– विज्ञानले अहिलेसम्म लेखन क्षमता नाप्ने कुनै प्यारामिटर बनाएको छैन । त्यसैले यसको जवाफ मसँग छैन ।
यस अवधिमा तपाईको पुस्तक जजसले अध्ययन गर्ने अवसर पाउनु भयो पाठक प्रतिक्रिया कस्तो छ नि ?
– सकारात्मक प्रतिव्रिmया पाएकोले नै संग्रह निकाल्ने हिम्मत बढेको हो । बजारमा भर्खरै पुस्तक गएकोले पाठक प्रतिव्रिmया आउनै बाँकी छ ।
अन्तममा समयदिनु भयो । धन्यवाद ।
– मैले भन्ने त सिर्जनामै हो । भन्न बाँकी थप रचनाबाटै भन्ने छु ।