आज भदौ १६ गते स्वर्गीय पत्रकार देवदास श्रेष्ठको स्मृति दिवस । नेपाल पत्रकार महासंघ दोलखा संस्थापक रहनु भएका स्वर्गीय पत्रकार देवदास श्रेष्ठले दोलखाका पत्रकारिता विकासमा महत्वपुर्ण योगदान गर्नु भयो ।
वि.स. २०४६ साल पछि प्रजातन्त्रको उदयसँगै नेपालमा मिडिया क्षेत्रको पनि विकासको युग सुरु भयो । त्यो बेला जिल्ला स्तरमा थोरै सञ्चारकर्मी हुन्थे । जिल्लामा छिटफुट रुपमा साप्ताहिक पत्रिका प्रकाशन हुन्थे । पत्रकारिता गर्न अहिले जस्तो सर्वसुलभ थिएन । समाचार लेखेर हुलाकबाट पठाउनु पथ्र्यो वा फ्याक्स मार्फत, त्यो जटिलतासँग पौठेजोरी खेलेर पत्रकारिता गर्दा गर्दै हृदयघातका कारण समयमै उपचार सेवाको अभावमा वि.स. २०६३ साल भदौ १६ गते वहाँको निधन भयो ।
त्यो बेला जिल्लाको पत्रकारिता क्षेत्रलाई एक ढिका बनाउँदै पत्रकारितामा नयाँ पुस्ता भित्र्याउनेदेखी निष्पक्ष र निडर पत्रकारितामा रमाउने स्वर्गीय पत्रकार देववासका गुण थिए । उहाँका पत्रकारिताबाट जिल्लाका मै हुँ भन्ने शासकहरु थुरथुर हुन्थे । वहाँको कलमले कहिल्यौ पनि झुट र भ्रमको पत्रकारिता गरेन् । जे हो, जे भयो, त्यही लेख्ने खरो बानीका कारण जिल्लामा हुने अनियमिता र भ्रष्टाचार हुनबाट राज्यकोष जोगियो । ढिलासुस्ती कम भयो, सुशासन कायम हुन केही न केही योगदान पुग्यो ।
त्यो बेला र अहिलेको बेला तुलना गर्ने हो भने दोलखा जिल्लाको पत्रकारिताले निक्कै फड्को मारेको छ । जिल्लामा ७ वटा रेडियो स्टेसन सञ्चालनमा छन् । एक दर्जन बढी अनलाईन र दैनिक पत्रिका प्रकाशन भईरहेको छ । युवा जमात पत्रकारितामा रमाएको छ । जिल्लाका पत्रकारिता पढाउने विद्यालय र क्याम्पसहरु स्थापना भएका छन् ।
यद्यपी देखिन्छ जिल्लामा पत्रकारिताको क्षेत्रमा देवदासले पछ्याएको पाइलाहरु अहिले मोडिएका हुन की ? निष्पक्ष र निडर पत्रकारितामा हराउन लागेको हो की ? पत्रकारिता भन्दा बढी पार्टीकारिता भयो की ? जनपक्षिय पत्रकारिता मर्न लाग्यो की ? स्वतन्त्र र निष्पक्ष पत्रकारिता भन्दा कमाउकारिता पो बढ्यो की ? यी यस्ता प्रश्नहरु बग्रेल्ती उठान हुन थालेको यति बेला दोलखामा ।
साच्चै पेशागत धर्म निर्वाह गर्दै पत्रकारिता गर्ने हो भने देवदास पथलाई पछ्याउनै पर्छ । स्वाभिमानका साथ पत्रकारिता गर्ने हो भने देववासशैली अपनाउनै पर्छ । सूचना प्रविधि विकासको यो चरममा युगमा चूनौती बनेको पत्रकारिता क्षेत्रलाई अझै निर्खान र तिर्खान आवश्यक छ । त्यसैले पत्रकारिता जतिवेला राज्यको सच्चा चौथो अंङ्ग बन्ने त्यतिबेला हामीले देवदास पथ लाई पछ्याएका हुनै छौ ।