चरिकोट, २१ भदौ,
प्राय जसो विवादमा आईरहने दोलखाको दक्षिणी मेलुङ गाउँपालिका पछिल्लो समय खानेपानी आयोजना सञ्चालन सम्वन्धि विषयमा भएको विवादमा फसेको छ ।
साविक भेड्पु गाविस अर्थात हालको वडा नम्बर ४ मा सञ्चालन भईरहेको अरले खानेपानी आयोजनाको विवाद उत्कर्षमा पुगेको हो । मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले स्थानीय उपभोक्ताको मागलाई बेवास्ता गर्दै आफूसँग निकट सम्बन्ध रहेको टोलहरुमा सर्भे शुरु गर्न लगाएपछि विवाद बढेको हो ।
खानेपानी आयोजना सम्वन्धि विवाद बढ्दै गएपछि गाउँपालिका कार्यालयमा तालावन्दि समेत हुनु पुग्यो । तालावन्दि तोड्न गाउँपालिकाले सदरमुकाम चरिकोटबाटै प्रहरी बोलाउनु पर्यो । आन्दोलनरत केही स्थानीयलाई प्रहरीले पक्राउ गरी चरिकोट ल्याई हिरासतमा राखेपछि अहिले खानेपानी विवाद झन् दलदलमा फसेको छ ।
भेड्पु स्थित गोले गाउँ, थामी डाँडा, पिपलबोट, मानेडाँडा, स्वाराडाँडा लगायतका स्थानमा खानेपानी आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट ९० लाख बजेट उपलब्ध क्रमागत योजनाका रुपमा संचालित अरले खानेपानी योजनाको बजेट अन्यत्रै रकमान्तर गर्न अध्यक्ष श्रेष्ठले खोजेपछि त्यसकोे विरोधमा गत भदौ १८ गते वडाध्यक्ष छत्रबहादुर तामाङ सहितको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गाउँपालिकाको कार्यालय गएको स्थानीयहरुको बताउँदै आएका छन् ।
गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका स्थानीयलाई अध्यक्ष श्रेष्ठले अभद्र व्यवहार गर्दै अव्यबहारिक जवाफ दिए पछि स्थानीय सरोकारवाला तथा अध्यक्ष श्रेष्ठ विच विवाद भएको प्रत्यक्षदर्शीहरुको भनाई छ । सोही क्रममा स्थानीय युवाहरु आक्रोसित भई अध्यक्षको कार्यकक्षमा तालावन्दी गरेका थिए । तर श्रेष्ठले भने आफुलाई दुब्र्यवहार गरी धम्की दिएको बताएका छन् । गाउँपालिकामा अप्रिय स्थिति हुन नदिन जिल्लाबाट प्रहरी परिचालन गरियो ।
विवादका विच राप्रपाका केन्द्रीय सदस्य प्रविन थोकर, कृपाश्वर गोले, कुमार गोले, मधुकर गोले र सपन गोलेलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो बस्तिका लागि केन्द्रबाट विनियोजित रकम पनि अध्यक्ष श्रेष्ठले वडाध्यक्ष छत्रबहादुर तामाङलाई समेत थाहै नदिई अन्यत्र लैजान खोजेपछि स्थानीयहरुले विरोध गर्नु स्वभाविक भएको नेपाली काँग्रेस दोलखाका नेता बर्मा लामाले बताए । पानी माग्न जाँदा हिरासतमा पुग्नु पर्ने अवस्थाका लागि नेपाली जनताले लोकतन्त्र नल्याएको लामाको भनाइ छ ।
मेलुङको खानेपानी सम्वन्धि विषयलाई लिएर शनिवार नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले प्रेसविज्ञप्ति जारी गर्दै पक्राउ परेका उपभोक्ताहरुलाई तत्काल विना शर्त रिहाईको माग गर्दै अरले खानेपानी योजना तोकिएकै बस्तिमा सम्पन्न नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । यसै गरी मेलुङ गाउँपालिकामा भएका अनियमितता तथा भ्रष्टाचारको छानविन गर्न अख्तियार समक्ष काँग्रेसले आग्रह गरेको छ । यस्तै राप्रप दोलखाले पनि राजनैतिक प्रतिशोध साँध्ने गरी गिरफ्तार गरिएका उपभोक्ताको रिहाईको माग गरेको छ । स्थानीय विवादलाई स्थानीयस्तरमै समाधान गर्न आग्रह गरिएपनि अध्यक्ष श्रेष्ठको दम्भका कारण राप्रपाका केन्द्रीय सदस्य सहित उपभोक्तालाई मुद्दा लगाईएको छ ।
यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा अध्यक्ष नवराज श्रेष्ठले विज्ञप्ती प्रकाशित गर्दै आफ्ना नेता थोकरको विनाशर्त रिहाइको माग गर्दै अन्यथा थप उत्पन्न विवादको जिम्मेवार गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले लिनु पर्ने बताईएको छ ।