पवटी, भदौ २३
मेलङ गाउँपालिका वडा नम्बर एक पवटी सिम्टेमा दुध संकलन केन्द्र स्थापना भएको छ । कृषकहरुको आय आम्दानीमा वृद्घि गर्ने उद्घेश्यले पवटीका स्थानिय पशुपालक कृषकहरुको पहलमा दुध संकलन केन्द्र स्थापना गरिएको हो ।
अरु व्यवसाय भन्दा दुग्ध व्यवसाय गर्दा कृषकलाई राम्रो आम्दानि हुने र अरु व्यवसाय जस्तो जोखिम पनि नहुने देखेपछि कृषकहरुकै पहलमा दुग्ध विकास संस्थान डिडिसि चरिकोटले पवटीमा उत्पादन भएको दुध डेरीको नियमानसुर उचित मूल्यमा लिइदिने संझौता गरेपछि कृषकहरु उत्साहित भई दुध संकलन केन्द्र स्थापना गरिएको पवटीका अगुवा कृषक माधव प्रसाद उप्रेतीले बताउनुभयो ।
गाउँमा दुध संकलन केन्द्र स्थापना भएपछि विषेश गरी पवटी सिम्टेका कृषकहरु दुग्ध व्यवसायमा आकर्षित भएका छन् । सुरुका एक दुइ दिनमा संकलन केन्द्रमा एक दुई जना कृषकले मात्र दुध ल्याउने गरेता पनि पछिल्लो समयमा दिनमै पन्ध्र बीस जना कृषकले दुध ल्याउने गरेका र दैनिक चालिस देखि पचास लिटर सम्म दुध संकलन हुने गरेको दुध संकलक सुजन शिवाकोटीले जानकारी दिनुभयो ।
किसानले ल्याएको दुध फ्याट र ल्याक्टोको आधारमा गाईको दुध प्रति लिटर पैतालिस देखि चौउन्न रुपैया सम्म र भैसिको दुध अन्ठाउन्न देखि पचहत्तर रुपैया पर्ने संकलक शिवाकोटीको भनाई रहेको छ । स्थानिय व्यवसायि तथा कृषक रामशरण पाठकको घरमा संकलन केन्द्र बनाइ दुध संकलन गर्न थालिएको छ ।
पवटीका अगुवा कृषकहरु कमल प्रसाद ओली, माधब प्रसाद उप्रती, सुजन शिवाकोटी, रामशरण पाठक, पुरुषोत्तम पाठक, गुणराज नेपालको विषेश पहलमा दुध संकलन केन्द्र स्थापना गरिएको हो । संकलन गरिएको दुध भण्डारण गर्ने डिप फ्रिज र दुधको फ्याट हेर्ने सेन्ट्रिपm्युज मेसिन डिडिसि चरिकोटले उपलब्ध गराएको हो भने दुध संकलनको लागि आवश्यक पर्ने क्यान,जरकिन लगायत अन्य आवश्यक सामाग्री कृषकहरु आफैले किनेको कृषक कमल प्रसाद ओलीले बताउनु भयो ।
आफूले पालेको गाई भैसीको दुध गाउँमै बेचेर राम्रै आम्दानि हुन थालेपछि गाउँका अरु कृषकहरु पनि दुग्ध व्यवसाय तिर आकर्षित हुन थालेका छन । पवटी दुग्ध संकलन केन्द्र नामको कृषि संस्था गाउँपालिकामा दर्ता गरेर दुग्ध व्यवसाय सुरु गरेका किसानहरु मेलुङ गाउँपालिकाले यस आर्थिक वर्षको बजेट बाट पवटीमा दुध चिस्यान केन्द्रको लागि भनेर सात लाख रुपैया छुट्ट्याएकोमा उक्त सात लाख रुपैया हाल संचालनमा रहेको कृषि संस्थालाई उपलब्ध गराएमा पवटीका धेरै किसानहरु उत्साहित भएर दुग्ध व्यवसायमा लाग्ने र दुग्ध व्यवसाय बाट नै आत्मनिर्भर बन्न सक्ने पशुपालक कृषकहरुको भनाइ रहेको छ ।