चरिकोट, २६ भदौ
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । त्यस्तै पश्चिम बंगालमा न्युन चापीय क्षेत्र अवस्थित छ।
हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । त्यस्तै गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज विहान १ः३० बजे मापन भए अनुसार पछिल्लो ३ घन्टा नवलपरासी, रूपन्देहीको सूर्यपूरा, बुटवल र आसपासका क्षेत्र, कपिलबस्तु, पोखरा, बागलुङ, पर्वत, म्याग्दी आसपासका क्षेत्रमा ठुलो बर्षा भएको छ ।
थप वर्षाको सम्भावनासमेत रहेको छ । तसर्थ तिनाउ, कंचनखोला, बाणगंगा लगायतका रूपन्देही र कपिलबस्तु भई बहने साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।
आज दिउँसो देशभर सामान्यतयादेखि पुर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशभरको मौसममा सामान्यतया बदली रहने छ । केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।