चरिकोट, २६ भदौ
किवी फलले पहिचान बनाउँदै गरेको दोलखामा पछिल्लो पटक नेपालकै पहिलो र नयाँ जातको किवी फल उत्पादन सुरु भएको छ । किवीको धेरै जातमध्ये गोल्डेन र मिनी नयाँ जातका हुन् । व्यवसायीक रुपमा किवी खेती गर्दै आउनु भएका स्थानीय श्याम खड्काले नयाँ जातको किवी फलाउन थाल्नु भएको छ । भीमेश्वर नगरपालिका ६ स्थित पाँच रोपनी जग्गामा खड्काले वर्षौदेखि किवी खेती गर्दै आउनु भएको छ ।
फरक किसिमको स्वाद र छिट्टै पाक्ने भएकाले स्वीजरल्याण्ड र जापानबाट झिकाएर गोल्डेन र मिनी किवी उत्पादन सुरु गरेको खड्का बताउँनु हुन्छ । यी दुई जातको किवी आफ्नो बगैचाबाहेक अन्यत्र नभएको खड्काको दावी छ ।
स्वीजरल्याण्डबाट नेपाल घुम्न आएका डाक्टर क्रिश्चेन गेसी खड्काको घरमा १ महिनाजत्ति बसेका थिए । पछि आफ्ना देश फर्केपछि कोसेलीस्वरुप गेसीले मिनी जातको किवी पठाएको खड्काले बताउँनु भयो । सोही किवी २०७३ सालमा लगाएको र अहिले अरुभन्दा ३ महिना अगाडिनै फल्ने गरेको छ ।
दोलखासँगै व्यवसायीक रुपमा धेरै जिल्लामा किवी खेती सुरु भएको । केही बर्ष अघि एसियाली विकास बैंकको अनुदानमा सञ्चालित हिमाली परियोजनाले दोलखाका धेरै किसानलाई अनुदान दिएर किवी व्यवसायी बनाएको थियो ।
खड्काको बगैचामा उक्त जातको किवी १० देखी १२ केजी फल्न सुरु गरेको छ । थोरै फलेको भए तापनि मीठो र बोक्रैसँग खान मिल्ने भएकाले धेरैले रुचाउने गरेका छन् । झुस नहुने र अरुभन्दा चाँडै पाक्ने भएकाले यस फलप्रति धेरैको रुची बढ्न सक्ने खड्काको विश्वास छ । यसको विरुवा अरु निकाल्न बाँकी रहेकाले २ वटा मात्र बोट रहेको छ ।
खान सजिलो र अरुभन्दा मीठो हुने भएकाले जापानबाट झिकाएको गोल्डेन जातको किवीले पनि फल दिन सुरु गरेको छ । गोल्डेन पनि खानलाई स्वादिलो र मीठो किवीमा पर्छ । यो पनि अरु किवीभन्दा अगाबै फल्ने गर्छ । गोल्डेन किवी पनि देश भर आफ्नो बगैचामा मात्र भएको खड्काको दावी छ । अहिले ३ वटा बोटले फल दिन सुरु गरेको छ । यसवर्ष ४० केजी भन्दा बढी फल्ने खड्काको अनुमान छ ।
दोलखासँगै व्यवसायीक रुपमा धेरै जिल्लामा किवी खेती सुरु भएको । केही बर्ष अघि एसियाली विकास बैंकको अनुदानमा सञ्चालित हिमाली परियोजनाले दोलखाका धेरै किसानलाई अनुदान दिएर किवी व्यवसायी बनाएको थियो ।
दोलखा जिल्लामा किवी उत्पादन गर्ने एक सय ४४ वटा फार्म तथा समुहहरु सुचिकृत भएका छन् । उच्च भूभागमा फल्ने किवी दोलखामा आव ०७६/७७ मा पाँच सय ५० मेट्रिक टन उत्पादन भएको थियो । दोलखा जिल्लाको दुई सय ३५ हेक्टर क्षेत्रफल किवी जोनले ओगटेको भए पनि हाल ६५ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रमा पर्दछ । विकीको उत्पादकत्व भने ८.५ प्रति हेक्टर रहेको छ ।