चरिकोट ३० भदौ
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, लापिलाङ स्थित पहिरो पीडितलाई जस्तापाता वितरण गरिएको छ । उनिहरुलाई निता राउत फाउण्डेशन र क्रियटिभ ह्याण्डस् काठमाण्डौंले जस्तापाता बितरण गरेको हो । गाउँपालिका अध्यक्ष विन कुमार थामी र वडा अध्यक्ष सुवास थामीको उपस्थितिमा पहिरोबाट विस्थापित भएका २० घरपरिवारलाई प्रतिपरिवार १ वण्डलका दरले जस्तापाता वितरण गरिएको हो ।
पहिरोबाट घर क्षतिग्रस्त भई विस्थापित भएका विर बहादुर थामी, गणेश थामी, लालमन थामी, अमर थामी, लक्ष्मण थामी, धनमान थामी, पविमाया थामी, ईन्द्र बहादुर घिमिरे, खेल बहादुर थामीको परिवारलाई वितरण गरिएको छ । त्यसैगरी विर बहादुर थामी, बुद्धिमान थामी, खड्गमाया थामी, चलक बहादुर थामी, नविन थामी, असुनी थामी, सुजन थामी, सन्तोष थामी, रीता थामी, हरिमाया थामी र डम्बर थामीको परिवारले पनि जस्तापाता प्राप्त गर्नुभएको छ ।
जस्तापाता वितरण गर्ने क्रियटिभ ह्याण्डस काठमाण्डौले घरबारविहिन, अपाङ्गता भएका व्यक्ति, विपन्न परिवारका लागी शिक्षा, क्षमता अभिवृद्धि तालिम र आर्थिक सहयोग गर्दै आएको क्रियटिभ ह्याण्डसका उपाध्यक्ष दिपेन घलेले जानकारी दिनुभयो ।
त्यसैगरि पहिरो पिडितका लागी कालिन्चोक गाउँपालिकाले घर निर्माण गरिदिने विषयमा छलफल भइरहेकामा निता राउत फाण्डेशनले पनि घर निर्माणका लागी सहयोग गर्ने फाउण्डेशनकी अध्यक्ष निता राउतले जानकारी दिनुभयो । अविरल वर्षापछि रानीवन क्षेत्रबाट सुरु भएको पहिरोका कारण २० घरपरिवार विस्थापित भएका छन् भने दर्जनौं घरपरिवार जोखिममा छन् । स्थानीय किसानको सयौं रोपनी खेतीयोग्य जग्गा समेत बगरमा परिणत भएको छ ।