चरिकोट, १० असोज
दोलखा सदरमुकाम चरिकोटका विभिन्न स्थानमा नछोईकन हातधुने स्थान अर्थात कन्ट्याकलेस ह्याण्डवास स्टेसन स्थापना गरिएको छ । भीमेश्वर नगरपालिका वडाहरु ३ र ६ को कार्यालय सहित विभिन्न सरकारी कार्यालय र सातदोबाटो चोकमा ह्याण्डवास स्टेसन स्थापना गरिएको छ ।
यूरोपेली आयोगको मानवीय सहायता विभागको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी नेपालसँगको सहकार्यमा हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको नेपालको बहुप्रकोपिय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत हात धुने स्थान निर्माण गरिएको हो ।
भिमेश्वर नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय गरि ६ वटा सरकारी कार्यालयमा हातले नछोईकन सावुन र पानी झर्ने हात धुने ह्याण्डवास स्टेसनको स्थापना गरिएको हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दरकुमार लामिछानेले बताउँनु भयो ।
विश्वभर फैलिएको कोरोना भाईसर (कोभिड १९) को संक्रमणवाट वच्न सावुन पानीले हात धुने उपायलाई मध्यनजर गर्दै सवै भन्दा वढि सर्वसाधरणहरुको आवात जावत हुने स्थान भएकोले हरेक स्थानमा पाँच सय लिटर क्षमता भएका प्लास्टिकका ट्याङ्की, स्टीलको वेसन, दुई वटा पेडल, पानी भर्न र निकास गर्न एचडिपिइ पाईप सहितको सेट सहित ह्याण्डवास स्टेसन निर्माण गरिएको यूएनडीपीका नगर प्राविधिक अधिकृत भेषबहादुर पराजुलीले जानकारी दिनु भयो ।
ट्याङ्की स्टयाण्डमा सावुन र पानी झार्नका लागि दुईवटा पेडल राखिएको र फलामको एउटा पेडल खुट्टाले दवाएपछि हात धुने तरल सावुन आउने र अर्को दवाएपछि धाराको टुटीवाट पानी आउने अनि दवाउन छोडेपछि आफै वन्द हुने प्रविधि जडान गरिएको हुराडेक नेपाल दोलखाका परियोजना सहयोग अधिकृत राजेश भट्टराईले जानकारी दिनु भयो ।
कोरोना भाईरस एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्ने भएकोले नछोएरै हात धुने धाराको स्थापना गरेकोमा खुशि व्यक्त गर्दै वडा अध्यक्षहरु हरिशरण शिवाकोटी र नविन कुमार लामाले आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
यूरोपेली आयोग मानवीय सहायता विभागको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालसँगको साझेदारीमा हुराडेक नेपाल दोलखाले भिमेश्वर नगरपालिका वडा नम्वर ३ र ६ मा नेपालको बहुप्रकोपिय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत विपद व्यवस्थापन तथा न्युनिकरण सम्वन्धी कार्य सञ्चालन गर्दै आएको हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेलले जानकारी दिनु भयो ।