चरिकोट, २२ असोज
वैत्यश्वर गाउँपालिकामा सोधभर्ना वापत जग्गाधनिहरुबाट प्राप्त भएको १८ सय वर्गमिटर भन्दा बढि जग्गा व्यक्तिको नाममा रहेको पाइएको छ । वैत्यश्वर गाउँपालिकामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा जग्गा व्यवस्थापन अध्ययन गरि प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रतिवेदन अनुसार गाउँपालिकालाई जग्गा दान गर्ने व्यक्तिलाई सोधभर्ना गर्न पालिकाका २८ जना व्यक्तिले १३ हजार २ सय ५१ वर्ग मिटर जग्गा दिएका थिए । सो जग्गाबाट ११ हजार ३ सय ९३ वर्गमिटर जग्गा दान गर्ने दातालाई सोधभर्ना गरिएको थियो । बाँकी रहेको १ हजार ८ सय ५८ वर्गमिटर जग्गा जनप्रतिनिधि र जग्गा व्यवस्थापन समितिको नाममा पास भएको पाइएको छ ।
प्रतिवेदन अनुसार वैत्यश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाकी श्रीमती निर्मला घिसीङ, गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यकी श्रीमती सिता आचार्यको नाममा ६ सय वर्गमिटर, त्यसैगरि वैत्यश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण बहादुर दहालकी श्रीमती मनमाया दहाल, वडा नम्बर २ का अध्यक्ष श्यामकुमार तामाङ घिसीङका आमा लालकुमारी तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष विर्ष बहादुर तामाङका नातेदार कमला तामाङको नाममा ४ सय ९ वर्गमिटर जग्गा रहेको छ ।
यद्धपी उक्त जग्गा, जग्गा व्यवस्थापन समितिको निणर्यले जग्गा मिलान लिन दिन गर्दा लाग्ने खर्च जुटाउन उनिहरुलाई विक्री गरेको जनाइएको छ । माघ १३ गते सोधभर्ना गर्न गठित समितिका संयोजक शम्सेर घिसीङको संयोजकत्वमा बसेको बैठकले यातयात खर्च, खाना खाजा, लिखत र राजश्व समेतको खर्च व्यवस्थापनका लागी सोधभर्नाका लागी प्राप्त जग्गामध्ये केहि क्षेत्रफल जग्गा घडेरीको रुपमा इच्छुक नागरिकलाई जग्गा प्राप्त गरेका समितिको सदस्यको नामबाट विक्री गरि खर्च व्यवस्थापन गर्ने निणर्य गरेको थियो ।
सोहि निणर्य अनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षले खरिद गरेको दावी गरिएको छ । त्यसैगरि बाँकी रहेको ८ सय ४९ वर्गमिटर मध्यये ६ सय १४ वर्गमिटर जग्गा व्यवस्थापन समिति सदस्य बालकुमार दहाल र २ सय ३५ वर्ग मिटर जग्गा व्यवस्थापन समिति सदस्य पदम बहादुर दहालको नाममा रहेको देखीएको छ । उनिहरुको नाममा रहेको सो जग्गा सोधभर्ना हुन बाँकी रहेका व्यक्तिको समेत रहेको छानविन समितिका संयोजक शम्सेर घिसीङले जानकारी दिनुभयो ।
उनिहरुको नाममा रहेको सो जग्गा गाउँपालिकाको नाममा जग्गा दान गर्ने व्यक्तिलाई सोधभर्ना वापत पाउन बाँकी जग्गको क्षेत्रफल उपलब्ध गराई बाँकी रहेको जग्गको क्षेत्रफल गाउँपालिकाको नाममा शिघ्र दान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । वैत्यश्वर गाउँपलिकाको केन्द्र निर्माणका लागी २६ जग्गादाताले ४३.९० रोपनी अर्थात २२ हजार ३ सय २५ वर्गमिटर दान गरेका थिए । सो जग्गा वैत्यश्वर गाउँपालिकाको नाममा रहेको छ ।