चरिकोट, २३ असोज
विपद् जोखिम सुशासनमा सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन भएको छ । युरोपेली युनियन मानवीय सहायता विभागको आर्थिक सहयोग र युएडीपीको प्राविधिक सहयोगमा स्थानीय साझेदार संस्था हुराडेक नेपाल दोलखाले भीमेश्वर नगरपालिकासँगको समन्वयमा सञ्चालन गर्दै आएको बहुप्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत भीमेश्वर नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गुर्न हुँदै भीमेश्वर नगरपालिकाका प्रमुख भरत के.सी.ले नगरपालिकाले विपद् व्यवस्थापन सम्वन्धि कार्यलाई मुलप्रवाहीकरण गर्न सुरु गरेको बताउँनु भयो सो अवसरमा के.सी.ले नगरपालिकाले विपद् व्यवस्थापन सम्वन्धि ऐन र रणनीति तयार गरि सकेको जानकारी दिनु भयो । के.सी.ले युएनडीपीको सहयोगमा नगरपालिकामा आकास्मिक कार्यसंचालन केन्द्र स्थापना गर्न लागिरहेकोे बताउँनु भयो ।
कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनु भएका नेपाली टाइम्सका प्रकाशक तथा सम्पादक कुन्द दीक्षीतले विपद् रिर्पोटिङ र विपद्का बेला सञ्चारकर्मीको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले संचारकर्मीहरुले विपद् पश्चातको सुचना सम्प्रेषणमा मात्र नभएर विपद्पुर्व पुर्वसुचनाको माध्यमद्धारा विपद्बाट हुने क्षतीलाई समेत न्यूनीकरण गर्नमा भुमिका खेल्नुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय विपद् जोखिम व्यवस्थापन दिवस (अक्टोबर १३) समेतको अवसर पारी आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेलले नागरिक सचेतीकरणमा सञ्चारकर्मीहरुको महत्वपुर्ण भूमिका हुने बताउँनु भयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका ईन्जिनीयर सुरेश राउतले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि नितीगत व्यवस्थाका बारेमा सहभागी सञ्चारकर्मीलाई जानकारी गराउनु भएको थियो । यसै कार्यक्रममा युएनडीपीका भेष पराजुलीले कार्यक्रमको पृष्ठभूमीका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा हुराडेक नेपाल दोलखाका परियोजना सहयोग अधिकृत राजेश भट्टराईले विपद् सम्वन्धि शब्दावली तथा विपद् चक्रको बारेमा आवश्यक जानकारी दिनु भएको थियो ।
कार्यक्रममा दोलखाका बरिष्ठ सञ्चारकर्मी चिरञ्जीवी मास्केले जिल्लाका विपद् सम्वन्धि रिर्पोटहरुको बारेमा प्रस्तुति गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाकी उपाध्यक्ष मन्दिरा थापाले विपद्को लेखाजोखा बारे अनुभव प्रस्तुतिका साथै सञ्चारकर्मीका भूमिकाका बारेमा बताउनु भएको थियो । कार्यक्रममा दोलखामा क्रियाशील २० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।