धार्मिक विश्वास सबैमा हुन्छ । अहिले पनि भगवान हुन्छ भन्दा अचम्म मान्नु पर्दैन । भगवानप्रति विश्वास नभएका व्यक्तिहरु सायद कमै होलान । ढुंगाको पूजा कतिलाई बाध्यता हुन सक्छ भने कतिलाई आशा । तर मान्छेलाई दुख, कष्ट, समस्या आईपर्दा भगवान जप्ने र गुहार माग्ने गर्छन । भगवानलाई भाकल गर्छन । सन्तान प्राप्तिदेखि गाईवस्तु र धन आर्जनको लागि भगवानको भरोसा गर्छन । सुख शान्तिको लागि भगवानलाई आशिर्वाद लिन्छन् । त्यसको लागि हप्तौदिनसम्म व्रत बस्छन्, लामो यात्रापश्चात भगवानको शरणमा पुग्छन् ।
यति धेरै भूमिका बाध्नुको कारण आस्था नै हो । भगवानप्रति कस्ता मान्छेहरु आस्थावान छन् त ? यसै विषयमा केही कुराहरु उल्लेख गर्न चाहन्छु । गुगलमा नक्सा सर्च गरि हेर्दा पाँचपोखरी, जटापोखरी नजिकै पोखरी देख्न सकिन्छ । तर यसको नाम उल्लेख छैन । नजिकैको पाँचपोखरी र जटापोखरीको नाम भने उल्लेख छ गुगल नक्सामा । पाँचपोखरीपछि ठूलो मानिन्छ यस पोखरीलाई । स्थानीयले यस पोखरीलाई विभिन्न नामले चिनिने गर्छन । कसैले यसलाई भूत पोखरी भन्छन् । किन कि कहिलेकाही भूतको आवाज निस्कने गर्छ यस पोखरीमा । कतिले कालो पोखरी पनि भन्छन् । माथिबाट नियाल्दा कालोनै देखिन्छ । कतिले यसलाई बौलाह पोखरीको नाम दिएको छ । छिनछिनमा यसमा उत्तरचढाव आउछ । कुनै पनि आवाज यसले सुन्न चाहदैन । सानो आवाजमा पनि बादलले छोप्ने र सुनसानमा खुला हुने गर्छ ।
भाग्यमानीहरुले यस पोखरीमा तारा देखिने भएकाले अहिले पछिल्ला अवस्थामा तारा पोखरीले चिन्न थालेका छन् । साच्चिकै यसमा तारा जस्तै बलेको देखिन्छ । म पनि भाग्यमानी भएर हो कि खै के भएर हो तारा देखें । सुरुमा त बत्ती होला जस्तो लाग्यो । तर राम्ररी नियाल्दै जाँदा पूर्णिमाको रात भन्दा कम थिएन । तारा झलझली चम्किरहेको देखिन्थे । कतै रात पो पर्यो कि भन्ने पनि लाग्यो । तर बादले ढाक्दा पनि तारा प्रष्टै देखिन्थे । लस्करै ६,७ वटा तारा पोखरीको कुनामा चम्किरहेको थियो । क्यामेराले धेरै पटक कैद गर्न खोजे । बल्लतल्ल केही मात्र कैद भयो । धेरै पटकको प्रयास पछि मात्र यति सानो भाग क्यामेरामा कैद भयो । मोवाईलमा त कैद गर्ने सम्भावनानै थिएन । कतिपय साथीहरुले नदेखेर न्यास्रो मानिरहेका थिए । साथीहरुले उ तारा भन्दा मलाई पनि सुरुमा विश्वास लागेन । तर, जब राम्ररी नियाले प्रष्टै देखिन्थे ताराहरु । कतै बत्तिको लाईन पो छ कि जस्तो पनि लाग्यो । होईन रहेछ । पछि बादलले ढाक्दा पनि बलिरहेको थियो ।
बुढापाकाका कुरा सुन्दा पहिला पहिला बीचमा ठूलै बत्ती देखिन्थ्यो रे । एउटा मात्र झलझली बल्थ्यो रे बत्ती । अहिले सत्यता र आस्था कम भएकाले सानो देखिएको भनाई रहेछ । हुन त यस पोखरीको आफ्नै कहानी रहेछ । पहिला यस पोखरीमा गोले बोन्पो (झाँक्री) ले पूजा गर्न आफ्ना श्रीमतीसहित पुगेका थिए रे । श्रीमतीलाई अक्षता दिएर म बाहिर निस्कदा तिमीले मलाई त्यस अक्षताले हान्नु भने छन् । श्रीमती अक्षता हातमा लिएर बसेकी थिईन रे । गोले बोन्पो ड्याङरो ठोक्दै बीच पोखरीमा पुगे रे । धेरै समयपछि ठूलो नागसँग लडाई गर्दै बाहिर निस्कदा श्रीमती डरले अक्षतानै छाडेर भागेकी थिईन रे । त्यसपछि नागले श्रीमानलाई त्यही अलाप बनाई दियो भन्ने जनश्रुती पनि छ । श्रीमान कहिले नफर्किने गरी पोखरीमै बिते पछि तसर्थ हत्तपत्त छोरी मान्छेहरु यसमा जान डराउछन रे अहिले पनि । यहाँ पूजा गर्न टाढैबाट फूल अक्ष्यता, त्रिसुल, भेटी चढाउछन् । अहिले पनि प्रत्येक जनैपूर्णिमाको दिन मेला लाग्ने गर्छ यस पोखरीमा । पोखरी नजिकै कोही पनि दर्शन गर्न जाँदैनन् । यसको पहिला दर्शन गरेर मात्र पाँचपोखरी, जटापोखरीको दर्शन गर्ने धार्मिक विश्वास छ । घर फर्किदा यस पोखरीपट्टि फर्केर पनि हेर्न हुँदैनन भन्ने भनाई अहिले पनि यथावत छ ।
यस क्षेत्रमा धेरै पोखरीहरु गुगल म्यापमा उल्लेख भएको छ । तर कुन कुन पोखरी हो र कति टाढा छन् भने केही उल्लेख भएको छैन । यस तारापोखरीको नजिकै हातेपोखरी पनि छ । तर यसको त्यत्ति चर्चा छैन । चंखु लुवाङ्साबाट नजिक हुने भएकाले यस भेगका भक्तजनहरु मात्र यस पोखरीमा पुग्ने गर्छन । पाँचपोखरी, जटापोखरीबाट लगभग ३, ४ घण्टा लाग्ने भएकाले जोकोही पुग्न मान्दैनन । ४,६१२ मिटर उचाईमा अवस्थित यस पोखरी हिउँदमा झ्याप्पै हिउले ढाक्ने गर्छ । तसर्थ यस क्षेत्रको अवलोकन, भ्रमणको लागि बर्खायामनै उपयुक्त मानिन्छ ।
यस पोखरीको प्रचारप्रसारको लागि र नयाँ गन्तव्यको लागि गौरीशंकर गाउँपालिकाले एक हप्तै भ्रमणको आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्कादेखि गाउँ पार्टी अध्यक्ष जंगबहादुर गुरुङले यस भ्रमणको व्यवस्थापन गर्नुभएको थियो । भ्रमणमा २६ जनाले विभिन्न क्षेत्रमा गहिरो अध्ययन गरेका थिए । भोलिको दिनमा यस पोखरी लगायत यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि गाउँपालिकाले विभिन्न कार्यक्रम तथा योजनाहरु तय गरेको गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काको भनाई छ ।