चरिकोट, ७ मंसिर
दोलखाको ९ वटै स्थानीय तहका विद्यालयहरु आगामी एक साता भित्र सञ्चालनमा आउने भएका छन् । जिल्ला समन्वय समिति दोलखामा समन्वय समिति प्रमुख डबल पाण्डेको अध्यक्षता तथा स्थानीय तहका प्रमुख/अध्यक्षको सहभागीतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचामा उल्लेख गरिएका मापदण्डको पुणर्पालना गरि विद्यालय सञ्चालनमा ल्याउने निणर्य गरिएको हो । कार्यढाँचामा उल्लेख गरिएका मापण्दण्ड पुरा गर्ने विद्यालय भोलीबाटै सञ्चालनमा आउनेछन् । भने मापदण्ड पुरा गर्न बाँकी विद्यालयलाई अर्को साताको आइतबार सम्म सञ्चालनमा ल्याउन भनिएको छ ।
विद्यालय सञ्चालन गर्दा कोरोनाको जोखिमलाई ख्याल गर्दै विद्यालय सञ्चालन गर्ने निणर्य गरिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो । थोरै संख्यामा विद्यार्थी भएका विद्यालय अन्य समयमा जस्तै पुरा समय र विद्यार्थी संख्या बढि भएको विद्यालय सिफ्ट अनुसार सञ्चालन हुनेछ ।
दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचामा उल्लेख गरिएका मापदण्डको पुणर्पालना गरेका विद्यालय भोलीबाटै सञ्चालनमा आउने बताउनुभयो । यद्यपी भोली नगरक्षेत्रका प्रधानध्यापक सँग विद्यालय सञ्चालन सम्बन्धमा बैठक राखीएको छ । यसैबिच दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा रहेको देवी माध्यमीक विद्यालयमा भोलीबाटै पठनपाठन सुरु हुने भएको छ । विद्यालयमा आज बसेको बैठकले कक्षा ९ देखी १२ सम्मका विद्यार्थीका लागी बिहान ७ बजेबाट ११ बजे सम्म बिहानी सत्र र बालकक्षा देखी ८ सम्मका विद्यार्थीका लागीका बिहान ११.२० देखी ४ बजे सम्म दिवा सत्रमा कक्षा सञ्चालन गर्ने निणर्य गरिएको छ ।
विद्यालय प्रवेशद्धार र धारामा साबुनपानीको व्यवस्था, सामान्यतया ६० जना सम्म विद्यार्थी राख्दै आएको कक्षाकोठामा अधिकतम ३० जना राख्ने, अनिवार्य मास्कको प्रयोग जस्ता तयारी गरिएको देवि मावि बोचका प्रधानध्यापक किश्वोर दहालले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचामा सङ्क्रमणको जोखिम नभएको वा कम हुँदै गएको पालिकाले विद्यालयहरूसँगको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख छ । विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ ।
कार्यढाँचामा सरसफाइका सामग्रीको व्यवस्था गरी पर्याप्त प्रकाश र हावा आवतजावत गर्ने कक्षाकोठामा कक्षा सञ्चालन गर्न भनिएको छ । शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, लगायतका व्यवस्था कार्य ढाँचामा उल्लेख छ । यस्तै सबै विद्यार्थीको शरीरको तापक्रम नाप्ने, कुनै विद्यार्थी, शिक्षक वा कर्मचारी बिरामी परेमा विद्यालय आउन नहुनेलगायतका व्यवस्था कार्यढाँचामा गरिएको छ ।