कात्तिक १ गते यज्ञराज ढुंगेलको पुस्तक विमोचन भयो । विमोचनपश्चात सांसद पशुपति चौलागाईले पुस्तक विमोचनको केही कुराहरु समेटिएर फोटो पोष्ट गर्नुभएको थियो । कहिले हात पार्ला र मज्जाले पढुँला जस्तो लागेको थियो । मलाई पुस्तकको नाम सुन्न्ने वित्तिकै मन तानेको थियो । काठमाडौबाट चरिकोट आउने धेरैलाई हेड सर लिएर आउनुस है भने । तर, बजारमा नपाईने रहेछ भन्ने जवाफ धेरैले दिनुभयो ।
कात्तिक १७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई बधाई दिन काठमाडौ पुगेको बेला नियमित पुस्तक किन्ने पसलतिर सोधें । कतै पनि पाइएन हेड सर । १८ गते बिहान पशुपति चौलागाई दाईसँग भेट्ने समय मिलाएको थिए । बिहान तीनकुने स्थित इन्द्रेणीमा भेटघाट भयो । उहाँ विमोचनको दिन कार्यक्रममा पुगेको हुनाले पक्कै उहाँसँग एकप्रति होला भन्ने लाग्यो । उहाँलाई भेटमा पुस्तक पनि ल्याईदिन आग्रह गरेको थिएँ । ल्याउनु भएछ । किताब पल्ट्याउदै केही अंशहरु देखाउनु भयो । झन मनमा कौतुहलता छायो । कतिबेला लगेर पढुँ भनेर । मेरो बानी एक्लै बसेर पढ्नु पर्छ । त्यसैले उहाँसँग छुटेपछि म आफ्नो काममा लागे ।
यसबीचमा मसँग पढ्न बाँकी धेरै पुस्तकहरु थिए । हेड सर हात पार्नुभन्दा पहिलानै अरु पुस्तकको पालो आएको थियो पढ्नलाई । मलाई प्रत्येक शब्द शब्द केलाउनु पर्छ पढ्ने बेला । त्यही बानीले अलि ढिलानै पालो पायो हेड सरले । फेरी घान हालेपछि मेलो सिध्याउन पर्छ । यही बानीले बिस्तारै घान हालौला भन्ने लागेको थियो । तर, एकदिन पशुपति दाईले कस्तो लाग्यो त पुस्तक भनेर सोध्नु भयो । म अलमलिए । ढाँट्ने कि सत्य बोल्ने भनेर । किन कि मैले पढ्न सुरुनै गरेको थिएन । त्यसैले पालो मिचेरै हेड सरलाई प्राथमिकता दिए ।
यज्ञराज ढुंगेल दोलखालीको लागि नौलो नाम होईन । मैले त अझ सहकारी अभियन्ता भनेर चिनेको÷सुनेको धेरै पटक भयो । उहाँलाई कालिञ्चोक एफएमले बहसमुखी कार्यक्रम नागरिक बहसमा एकपटक मात्र ल्याउन सक्यौ । उहाँको सहकारीप्रतिको बुझाई, बुझाउने क्षमता र शैलीले पटक पटक ल्याउने मन थियो । तर, उहाँको समय ?
मेरो मन तान्ने पुस्तकभित्र पर्दछ हेड सर । बेस्ट सेलर पुस्तक र पब्लिक फिगरका पुस्तकहरु धेरै पढेको छु । मेरा लागि त्यहीमध्येको पर्दछ हेड सर पनि । सोचेको थिईन यति बिग्न मन तान्छ भनेर । तर, उहाँको लेखनले मलाई पनि सँगसँगै डोर्यायो । कहिले काठमाडौको डेरामा । कहिले जनसचेतन साकोसको कार्यालयमा त कहिले बैतेश्वर मावि नाम्दूमा ।
पुस्तक पढेर साथीहरुसँग गफ दिन्थे । कति कुराहरु आफ्नै जीवनमा लागू गर्ने कोशिस गर्थे तर हेड सरले मलाई कक्षमा पढाईरहेको भान भयो । म शिक्षक गुरुप्रति सम्मान व्यक्त गर्नेमा पर्दछ । जहिले पनि आदर, सम्मान गर्दछु शिक्षक गुरुलाई । हेड सर पढ्दा पनि मैले मेरै विद्यार्थी जीवनलाई सम्झे । कति ठाउँमा झस्के पनि । बाल्यकालको त झनै कुरा नगरौ ।
यज्ञराज ढुंगेलको आत्मवृत्तान्त हरेक शिक्षक, विद्यार्थी, सहकर्मी, राजनीतिक कार्यकर्ता, सामाजिक अभियन्ताले पढ्न जरुरी देखें । अहिले समाजसेवाको नाममा विकृति फैलिएको छ । हरेक व्यक्तिले आफ्नो भूमिका बिर्सेका छन् । कमाउ धन्दामा लागेका छन् । इमानदारीता र अनुशासनको पाठ बिर्सेका छन् । तर, यस पुस्तकले कताकता झस्काउछ कि ? तसर्थ हेड सर नपढे तापनि प्रत्येक विद्यालय, सहकारी, पार्टी कार्यालयको पुस्तकालयमा सजिन आवश्यक छ ।
पुस्तकमा व्यक्तिगत अनुभव, शिक्षा, राजनीति, सहकारीको विषयमा धेरै ज्ञानवद्र्धक भेटें । पाठकको नजरमा हेड सरलाई केलाउदा प्रत्येक शब्द शब्दमा भिजेको महशुस भयो । कुनै पाना छोड्न मेरो मन मानेन । सुरुदेखि अन्तसम्म सबै केलाए । पुस्तकको विषय वस्तुसँग धेरबहुत म पनि भिजेको छु । हल्का ज्ञान भएकाले पढ्दा मज्जा आयो । आफ्नै विद्यालय, सहकारी, पार्टी सम्झे । उहाँले उठाएका राम्रा र सुधारात्मक विषय वस्तुहरु हुबहु मिल्छनै । उहाँको व्यक्तिगत अनुभवहरु पनि कोर्ष जस्तै लाग्यो । तालिमनै सम्झे ।
मलाई लागेको थिएन कि पशुपति चौलागाई, आनन्द पोखरेलको पनि शिक्षा, राजनीतिको गुरु भनेर । उहाँ त दोलखाकै गुरु सम्झे । हाम्रा बानी, संस्कार मरेपछि सम्मान दिने गर्छन । वयान गर्ने गर्छन । तर, जिउँदो हुँदा खराब बाहेक केही देख्दैनौ । यज्ञराज ढंगेलले चालेका कदमहरुमा किन अहिलेसम्म साथ नदिएका होलान । उहाँ जस्ता सक्षम, दक्षता, क्षमतावान व्यक्तिले किन अहिलेसम्म कहीकतै अवसर नपाएको हो त ? अवसर दिनको लागि के गुट मिल्नुनै पर्छ र ? चाकरी, चाप्लुसी नपुगेकै हो त ? आफ्नो मान्छेनै चाहिन्छ र ? मलाई पनि उहाँले उठाएका केही गुनासोमा यस्तै यस्तै लाग्यो । हाम्रो समाज अहिले पनि कता कता बाटो बिराउन थालेको हो कि ? समाज झुलेको हो कि ? होईन भने स्वच्छ र सभ्य समाज पाउन गाह्रो छ ।
सहकारीको गुरु । शिक्षाको गुरु भनेर संसारले चिनेका छन् यज्ञराज ढुंगेललाई । सिङ्गो मुलूक परिवर्तन गर्न नसके तापनि टोल, गाउँ परिवर्तन गरेका छन् । व्यक्तिगत रुपमा लागेका छन् । खल्तीको पैसा खर्च गरेका छन् । समाजको लागि चुनौती भोगेका छन् । तर, कताकता गुनासोको पोका धेरै देखें । कतिपय बाह्यमुलुकमा ४० वर्ष कटेपछि अनुभवको आधारमा ब्याचलर ठान्छन रे । यज्ञराज ढुंगेलले ७४ वर्ष पुगेका छन् । उहाँको अनुभवले एउटा पुस्तक बन्छ । पाठ्यक्रम निर्माण हुन्छ । सबै क्षेत्रका मान्छेलाई उहाँको पुस्तक एउटा गाईडको रुपमा लिन सकिन्छ ।
सबै पढें । धेरै कुरा लेखौला भन्ने सम्झेको थिए । तर, पाठकलाई ध्यानमा राखेर छोटो कुराहरु मात्र समेट्ने कोशिस गरे । आगे अहिलेलाई यति ।