कुनै कुनै मान्छेसँगको भेट पनि अविस्मरणीय लाग्छ । कुनै आशा, लेनदेन, हिसाबकिताब नभएपछि ढुंगा पनि देवता जस्तै हुँदो रहेछ । हावा पनि अक्सिजन । एमबी खड्कासँगको भेट यस्तै रहदै आएको छ ।
सानो उमेरबाटै साहित्य सिर्जनमा लाग्नु भएका एमबी दाई, कता कता साहित्यको विषयमा कुरा भयो । मेरो प्रकाशित कृति ‘निर्दोषी मान्छे’ कवितासंग्रह उहाँलाई एकप्रति दिए । उहाँसँग प्रकाशन नभएका सयौं कविताहरु रहेछन् । विभिन्न पत्रपत्रिका, अनलाईन, प्रकाशन भएका, रेडियोहरुमा प्रसारित भएका । उहाँसँगको भलाकुसारीमा कवितासंग्रह प्रकाशन गरिदिन्छु भने मैले । उहाँ पनि सहमत हुनुहुन्थ्यो । पछि बुकहिलले प्रकाशन गर्ने भएछ । कालो बिरालो भएपनि सेतो बिरालो भएनि मुसा मारे भयो । जसले प्रकाशन गरिदिए पनि प्रकाशन चाहियो ।
आपसी सहमति अनुसार असार २९ गते भानुजयन्तिको दिन दोलखा साहित्य यात्रा विमोचन गर्ने, असोज २९ गते एमबी दाईको कवितासंग्रह विमोचन र कात्तिक २९ गते लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा दोलखाली सर्जकहरु समेटिएको पुस्तक विमोचन गर्ने योजना थियो । सोचेजस्तो अलि भएन । तर, प्रकाशन, विमोचन भयो । यही उपलब्धिमूलक मान्नुपर्छ । यही सफलता भन्नुपर्छ ।
एमबी दाईको कवितासंग्रह ‘डाँडाको लाँकुरी’ मंसिर ११ गते विमोचनको साईत जुर्यो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विमोचन गर्नुभयो । एमबी दाईको सिर्जनाप्रति मन्त्री गुरुङ निकै हर्षित हुनु भयो । मुक्तकण्ठले प्रशंसा गर्नुभयो कवि एमबी दाईको । राष्ट्रसेवक कर्मचारीले साहित्यमा दिएको योगदानको उच्च प्रशंसाले हल तातियो । सबैको ध्यान तानियो कवि एमबी दाई प्रति ।
एमबी दाई र मबीच कुनै सम्बन्ध छैन । तर, मित्रता र भावनाको सम्बन्धनै ठूलो लाग्छ । त्यसैले उहाँले मलाई भाई भन्नुहुन्छ, म पनि दाई भन्छु । यो सम्बन्धनै बलियो लाग्छ । उहाँको कवितासंग्रह प्रकाशनमा मेरो योगदान नभए तापनि सबैभन्दा बढी खुशी म छु । मान्छे जन्मेर मर्छ, तर कृति कहिले मर्दैन । त्यसैले उहाँको कृति दोलखाली र सिंङ्गो राष्ट्रको लागि एउटा सम्पत्ति हो ।
उहाँसँग रेडियोमा साहित्य कुराकानी भयो । केही थान कविता वाचन पनि गर्नु भयो । उहाँको कविताको पहिलादेखिनै म फ्यान । कार्यक्रमहरुमा उहाँको कविता सुन्न साह्रै मज्जा आउथ्यो । उहाँलाई प्रमुख प्रशासकीय अधिकृतभन्दा पनि कवि हाकिम भनेर चिनिन्छ । वाचनशैलीले धेरैको मन तानेको हुन्छ । पटक पटक सुनाउन उहाँलाई प्रस्ताव आउछ ।
विमोचनपछि उहाँको कविता सरसर्ती हेरे । कुनै कविताले मन छोयो । कतिले त मन रुयो । उहाँकै कवितासँग भुले । माया प्रेमको कविता, देशभक्त, वातावरण, अभिभावक, आमा बुबा प्रतिको जिम्मेवारी कविताहरु संग्रहित छन् । ५२ वटा कवितामध्ये ‘डाँडाको लाँकुरी’ एक हो । पुस्तकको नाम सुन्ने बित्तिकै मेरो गाउँको याद आयो । मेरो गाउँमा पनि डाँडामा लाँकुरी छ । नजिकै माने पनि । कक्षा पाँचसम्म तिनै डाँडाको लाँकुरीमा पढें । घर नजिकै हो । लाँकुरी भएपनि मानेडाँडा भनेर चिनिन्छ । तर, अहिलेसम्म पनि तिनै लाँकुरी जीवित रहेकोले त्यसैको झल्को लाग्छ । एमबी दाईले कवितामा डाँडाको लाँकुरीको जसरी बखान गर्नुभएको
छ ठीक त्यस्तै लाग्छ ।
मेरी शीतल लाँकुरी
मेरो आउनु र जानुमा
तिम्रो बस्नु र पर्खनुमा
धेरै युग बितेजस्तो लागिरहेछ
जब म यो शहरको रापिलो धुलो
फोक्सोभरि भर्छु
तिम्रो शीतल हावाको स्पर्श याद आउँछ ।
डाँडाको लाँकुरीमा चिसो हावा चल्छ । नजिकै गौरीशंकर हिमाल । शिरमा चेर्दुङडाँडा । डाँडाको लाँकुरी काखजस्तो लाग्छ गौरीशंकरको । गर्मी मौसममा चिसो खान यही जमघट हुन्छन् । धेरै युवाहरुको रोजाई पर्दछ यस स्थान । कवि एमबी दाईले पनि मेरै गाउँको यिनै ठाउँको बखान गरेजस्तो लाग्छ ।
कुनै समय दोलखाका प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेल हुँदा साहित्य निकै चम्केको थियो । लगभग महिनामा एकपटक जमघट हुन्थ्यो साहित्य गतिविधिमा । कला साहित्य बुझेका मान्छेको कमि हुँदा पनि घाटा पर्दो रहेछ सर्जक जन्माउन/जन्मिन । दोलखामा थोरै छन् स्थापित सर्जकहरु । कमै छन् सिर्जनाहरु । पत्रपत्रिका, अनलाईनमा फट्टाफुट्टा मात्र समेटिएका हुन्छ साहित्यलाई ।
रेडियोमा साहित्य कार्यक्रमहरु प्राय शुन्यनै छ । कवि एमबी दाईको आगमनले साहित्यमा केही राहत पुगेको छ । सञ्चारमाध्यममा मात्र नभई फेसबुकमा समेत बेलामौकामा कविता पढ्न पाईन्छ । मनको भाव मात्र होइन सामाजिक घटनालाई समेत कवितामार्फतनै पोखिएको हुन्छ कवि एमबी खड्का । त्यसैले यही उपलब्धि मान्नुपर्छ यस वर्ष उहाँको कवितासंग्रह प्रकाशन हुनुमा । उहाँमा कहिले रिस देखेन । किन कि दिमाग उहाँको खाली जस्तो लाग्छ । फुर्सदको समयमा पढेर दिमाग भर्ने अनि मौका पर्ने बितिकै लेखेर पोख्ने । तसर्थ दिमाग जहिलेनि स्वच्छ, शान्त । मैले यही पाएँ उहाँको कवितामा । चाँडै अर्को प्रकाशन हुन सकोस, शुभकामना ।