चरिकोट, २३ मंसिर
दोलखामा क्रियासिल नागरिक समाजको संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको सामाजिक परिक्षण कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
संस्थाले गत आर्थिक बर्ष २०७६/०७७ मा सञ्चालन गरेको परियोजना एवं अन्य गतिविधिले पारेको प्रभावका साथै चूनौती, सिकाई र असल अभ्यासका बारेमा लेखाजोखा गर्दै सामाजिक परिक्षण कार्यक्रम सम्पन गरेको हो । सामाजिक परिक्षण सँगै संस्थाले आफ्नो २८ औं वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा सहजकर्ता कर्णबहादुर नेपालीले सामाजिक परिक्षणको प्राराम्भिक प्रतिवेदन सार्वजनिक गर्नु हुँदै संस्थाले सञ्चालन गरेको गतिविधिले समुदायमा पारेको प्रभाव र सुधार गर्नु पर्ने पक्षहरुको बारेमा जानकारी गराउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले नागरिक समाजका संस्था र स्थानीय सरकार विच प्रभावकारी समन्वय हुनु पर्नेमा जोड दिनु हुँदै स्थानीय निकायका नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी आफ्ना गतिविधि सञ्चालन गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत के.सी.ले हुराडेक नेपालले सञ्चालन गर्दै आएका कार्यक्रमहरु प्रभावकारी भएको उल्लेख गर्नु भयो । यसै कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै गाउँपालिका महासंघ वागमती प्रदेश संयोजक तथा तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले हुराडेक नेपालले सरोकारवाला समक्ष आफ्ना गतिविधि सार्वजनिक गरेको पारदर्शीता देखाएको बताउँनु भयो ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेलको संस्थाले सञ्चालन गरेको विभिन्न गतिविधिहरु सरोकारवाला निकाय समक्ष सार्वजनिक गर्दै आएको र त्यसैले निरन्तरता स्वरुप संस्थाले हरेक बर्ष सामाजिक परिक्षण कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता दिने बताउँनु भयो । कार्यक्रममा हुराडेक नेपाल दोलखाका सविच जिवसराज खड्का, गैसस महासंघ दोलखाका सचिव दिलबहादुर के.सी. नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसै विच सोही अवसरमा हुराडेक नेपाल दोलखाको २८ औ बार्षिक साधारण सभा समेत सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले संस्थाका सचिव जिवसराज खड्काले पेश गर्नु भएको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुजाता शिवाकोटीले पेश गर्नु भएको संस्थाको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । कार्यक्रम हुराडेक नेपाल अध्यक्ष उद्धवप्रसाद पोखरेलको अध्यक्षमा सम्पन्न भएको थियो ।