चरिकोट, ८ पौष
दोलखाको भिमेश्वर नगरपालिकामा चार दिने नगरस्तरीय अग्नी नियन्त्रण सम्वन्धी तालिम गत पौष ४ गते सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाको आयोजना, युरोपियन युनियन मानविय सहायता विभागको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था मानव अधिकार तथा सचेतन विकास केन्द्र, हुराडेक नेपाल दोलखाको साझेदारीमा सञ्चालित वहुप्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजनाले तालिम आयोजना गरेको हो । परियोजना भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा सञ्चालित छ ।
तालिमका सहभागीहरुले गत पौष ४ गते बिहान गरेको आगलागी नियन्त्रण अभ्यासको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अबलोकन गर्नु भएको थियो ।तालिम समापन समारोहलाई सम्बोधन गर्नु हुँदै समाज कल्याण परिषद्का सदस्य सविच पुस्कर खातीले विपद् पुर्वतयारीका लागि तालिम महत्वपुर्ण भएको बताउँनु भयो । भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत के.सी.ले नगरपालिकाले विपद् जोखिम व्यवस्थापनलाई केन्द्रित गर्दै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउँनु भयो । कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव पोखरेलले गैह्र सरकारी क्षेत्रले सरकारका आवश्यकता आधारमा सहयोग गर्नु बताउँनु भयो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका विपद् जोखिम व्यवस्थापन सम्पर्क व्यक्ति तथा ईन्जिनीयर सुरेश राउतले भीमेश्वर नगरपालिकाले आपतकालीन सञ्चालन केन्द्र स्थापना गरी विपद् जोखिम न्युनिकरणका कार्य गर्ने बताउँनु भयो ।
तालिमका सहभागीहरुलाई भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत के.सी. समाज कल्याण परिषद्का सदस्य सचिव पुस्कर खाती, भीमेश्वर नगरपालिकाकी उप प्रमुख कमला बस्नेतले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
तालिममा नपरपालिकाको अग्नी नियन्त्रक समुह, नगर प्रहरी, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना, नेपाल स्काउट र समुदायस्तरको विपद प्रतिकार्य टोली लगायतका २८ जनाको तालिममा सहभागिता रहेको छ । काठमाडौं महानगरपालिका अग्नी नियन्त्रन विभागका पुर्व प्रमुख किशोर कुमार भट्टराईले तालिमको सहजीकरण गरिरहनु भएको छ ।