चरिकोट, २८ पुस
दोलखाको भीमेश्वर नगरपालिकामा आगलागी र भुकम्पबाट क्षति न्यूनीकरण गर्नका लागि कृतिम घट्ना अभ्यास गरिएको छ । विपद्बाट हुने मानवीय र भौतिक क्षति कम गराउनका लागि मंगलबार नगरपालिकाको वडा नम्बर ३ रामकोट र वडा नम्बर ६ पुरानो बजारमा कृतिम घटना अभ्यास गरिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, नेपाल रेडक्रस, नेपाल स्काउट र स्थानीयको सहभागीतामा कृतिम घट्ना अभ्यास गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष नवीन लामाले जानकारी दिनु भयो ।
भीमेश्वर नगरपालिकाको आयोजनामा गरिएको कृतिम घट्ना अभ्यासमा आगलागी हुँदा आगो नियन्त्रणका लागि दमकल बोलाउने, घाइतेको उद्धार तथा उपचार गर्ने र पीडितलाई राहत उपलब्ध गराउनुका साथै पुनर्वाससम्मको विधि तथा प्रक्रिया समावेश गरिएको थियो ।
घटना अभ्यास कार्यक्रम युरोपेली आयोगको मानवीय सहायता विभागको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा हुराडेक नेपाल दोलखाले सहजीकरण गर्दै आएको बहुप्रकोप जोखिमयुक्त शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण एवं आपत्कालीन प्रतिकार्य क्षमता अभिवृद्धि परियोजनाको सँगको समन्वयमा आयोजना गरिएको हो ।
त्यसैगरि भूकम्प जादा उद्धार टोलीलाई खबर गर्नेदेखि सुरक्षित ठाउँ छनोट र सावधानी अपनाउने बारेमा अभ्यास गरिएको छ । विपद् व्यवस्थापनका लागि पुर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनस्र्थापना जस्ता कार्यको ब्यवस्थापन हुन नसक्दा शहर बजार र गाउँबस्तीमा भुकम्प तथा आगलागीको जोखिम बढ्दै गएकोले कृतिम अभ्यास सञ्चालन गरिएको भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले जानकारी दिनु भयो ।
उहाँले वहुप्रकोप जोखिमयुक्त शहरी क्षेत्रमा बिपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि कृतिम घटना अभ्यास मत्हवपूर्ण रहने बताउनु भयो ।
कार्यक्रममा दमकल, एम्बुलेन्स, अग्नि नियन्त्रण तथा उद्धार सामाग्रीहरुको प्रयोग गर्नुका साथै स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुले निर्वाह गर्नुपर्ने भूमिकाको चित्रण गरिएको थियो ।