माघ २७ , चरिकोट
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ६ मा समुदायस्तरीय विपद् पुर्वतयारी तथा प्रतिकार्य टोलीलाई अग्नी नियन्त्रण सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
यूरोपेली आयोग मानवीय सहायता विभागको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम सँगको साझेदारीमा स्थानीय सामाजिक संस्था हुराडेक नेपाल दोलखाको सहजीकरणमा सञ्चालन हुँदै आएको नेपालको बहुप्रकोपिय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत तालिम आयोजना गरिएको हो ।
भिमेश्वर नगरपालिका वडा नं ६ मा समुदाय स्तरिय विपद पुर्वतयारी तथा प्रतिकार्य टोलीका सदस्यहरुलाई आयोजित २ दिने अग्नी नियन्त्रण तथा उद्दार तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन भिमेश्वर वडा नं ६ का अध्यक्ष नविन कुमार लामाको अध्यक्षता र नगर प्रमुख भरत वहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यत्रलममा बोल्दै नगर प्रमुख केसीले तालिमका सहभागीहरुलाई शहरी क्षेत्र, ग्रामिण क्षेत्रभन्दा विकासको हिसावले अगाडी भएता पनि विपद् जोखिम उच्च भएको कुरालाइ ध्यानमा राख्दै समुदायस्तरिय विपद् पुर्वतयारी तथा प्रतिकार्य टोली गठन गर्नमा सहजीकरण गरी तालिमको आयोजना गरेकोमा परियोजनालाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा वहाँले सहभागीहरुलाई सक्रियताका साथ तालिममा सहभागी भई क्षमता विकासका लागि शुभकामना समेत व्यक्त गर्नु भयो । शहरी क्षेत्रमा अव्यवस्थित शहरीकरणको कारण तथा अव्यवस्थित विद्युतिय तारको कारणले समेत आगलागिको जोखिम बढाईरहेकोतर्फ इंकित गर्दै प्रमुख केसीले विपद् पुर्वतयारीमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।
भिमेश्वर नगरपालिकामा दमकल रहेको तर विगतको दिनमा नगर अग्नी नियन्त्रक टोलीलाइ तालिम अभावका कारण आवश्यक दक्षता नभएकोे हुँदा आगलागिका क्रममा धेरै क्षति हुने गरेको थियो भने नगरस्तरीय अग्नी नियन्त्रण तालिम पश्चात आगलागीजन्य विपदवाट हुने क्षतिमा कमी आएको छ । शहरी क्षेत्रको तत्कालिन प्रमुख जोखिम आगलागि र भुकम्प रहेको हुँदा समुदायमा हुनसक्ने विपदुका घटनालाई रोकथाम गर्न र विपद्बाट हुनसक्ने क्षतीलाई न्यूनीकरण गर्नका लागि विपद् प्रतिकार्य टोली गठन गरिएको र उक्त टोलीको क्षमता विकासका लागि पहिलो चरणमा अग्नि नियन्त्रण तालिम सुरु गरिएको र आगामी दिनमा खोज उद्दार तथा प्राथमिक उपचारका तालिमहरु संचालन गरिने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका परियोजना संयोजक सुशान्त शर्माले जानकारी गराउनुभएको थियो ।
२ दिने अग्नी नियन्त्रण सम्वन्धि तालिमलाई काठमाडौ महानगरपालिकाका पूर्व अग्नी नियन्त्रक प्रमुख किशोर कुमार भट्टराई, नेपाली सेना र नेपाल रेडक्रसका जिल्ला प्रतिनिधिहरुले सहजिकरण गर्नु भएको थियो । तालिममा टोल सुधार समिति, युवा क्लब, स्वास्थ्य क्षेत्र, पेट्रोल पम्प, ग्याँस डिपो, पूर्व सुरक्षाकर्मी, महिला समुह र नेपाल स्काउटबाट प्रतिनिधित्व भएको थियो ।
यसै किसिमको अग्नि नियन्त्रण तालिम भीमेश्वर नगरपालिका ३ नं. वडामा आगामी २८ र २९ गते संचालन गरिने हुराडेक नेपालका अध्यक्ष उद्धव प्रसाद पोखरेलले जानकारी दिनुभयो । तालिममा भिमेश्वर नगरपालिकाको वडा नं. ३ र ६ का १० वटा क्लस्टरवाट करीब ७० जनाको सहभागीता रहने छ ।