चरिकोट, १९ फागुन
स्थानीय सरकारमा सुशासन र समावेशिकरणको अवस्थाबारे दोलखा जिल्लाका नगरपालिका र गाउँपालिकाहरुमा गरिएको समीक्षा अध्ययन प्रतिवेदन स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको छ ।
जिल्लामा क्रियासिल नागरिक समाज संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखासँगको समन्वयमा जिल्लामा समन्वय समिति दोलखाले गरेको स्थानीय तहको समिक्षा अध्ययन प्रतिवेदन बुधबार जिल्ला समन्वय समिति मार्फत स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको हो ।
हुराडेक नेपाल दोलखाले युएसएआईडीको आर्थिक तथा एफएचआई ३६० को प्राविधिक सहयोगमा सञ्चालन गर्दै आएको नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजनासँगको सहकार्यमा जिल्ला समन्वय समिति दोलखाले तयार गरेको सो अनुसन्धानमुलक प्रतिवेदनमा समावेस गरिएको विषयवस्तुबारे प्रस्तुतिकरण र छलफल समेत सम्पन्न गरिएको छ ।
स्थानीय तहमा सुशासन र समावेशिकरणको अवस्थाबारे अध्ययन अनुसन्धान कार्यको नेतृत्व गर्नु भएका त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रिय विभागका प्रमुख प्राध्यापक डाक्टर डम्बर चेम्जोङले अध्ययन प्रतिवेदनमा समावेस गरिएका विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अनुसन्धान कार्यमा संलग्न त्रिभुवन विश्वविद्यालय प्राध्यापक डाक्टर जनक राई, प्राध्यापक डाक्टर सुरेश ढकालले अध्ययनमा समावेस भएका दोलखाका स्थानीय सरकारका राम्रा पक्ष र सुधार गर्नु पर्ने पक्षहरुको बारेमा जानकारी दिनु भएको थियो । सो अवसरमा वहाँहरुले दोलखाका स्थानीय तहहरुले आवश्यक कानुन तथा नीति निर्माण सहभागितामुलक विधि मार्फत निर्माण गरेको उल्लेख गर्नु भयो । सो अवसरमा वहाँहरुले स्थानीय तहमा न्यायिक समितिको काम कारवाही प्रभावकारी रहेको बताउँनु भयो ।
सो अवसरमा वहाँहरुले अध्ययनका क्रममा लक्षित समुदायका लागि पर्याप्त बजेट विनियोजन हुन नसक्नु साथै स्थानीय तहमा कमचारी र निर्वाचित जनप्रतिनिधि विच प्रभावकारी समन्वयको अभाव देखिएको, दोलखाका स्थानीय सरकार र प्रदेश सरकार विच समन्वयको अभाव रहनुको साथै अन्तरपालिका योजना निर्माण र कार्यन्वयनमा समेत समस्या देखिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले अध्ययन प्रतिवेदनले दिएको सुझावलाई स्थानीय तहहरुले छलफल गर्दै कार्यन्वयनमा लैजाने बताउँनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले प्रतिवेदनमा स्थानीय तहमा सुशासन र समावेसीकरणका राम्रा र असल अभ्यासन समेत समावेस भएकोले प्रतिवेदन स्थानीय सरकारका लागि नमुना दस्ताबेज हुने बताउनु भयो ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेल, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंमबहादुर खड्का, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, लगायतले अध्ययन प्रतिवेदनमा समावेस विषय वस्तुमाथी सुझाब व्यक्त गर्नु भएको थियो ।