चरिकोट, ९ चैत्र
जिल्लाभर कार्यक्षेत्र रहेको दोलखाको बैतेश्वर ५ स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको उत्तरी भेगमा सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ ।
साकोसले जिल्लाको उत्तरी विगु गाउँपालिका अन्तर्गत साविकका खोपाचागु, विगु, आलम्पु र चिलङ्खा गाविसका ६ स्थानमा शुक्रबार र शनिबार सहकारी शिक्षा शिविर सम्पन्न गरेको हो । शिविरमा संस्थाका अध्यक्ष हेमन्त कुमार चौंलागाई, वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, उपाध्यक्ष स्वस्थानी कुँवर, सचिव कमल बहादुर दाहाल, कोषाध्यक्ष भरत केसी र सञ्चालक सदस्य लिला बहादुर थामी लगायतले सहजीकरण गर्नुभएको थियो ।
विगु र आलम्पुमा अध्यक्ष चौलागाई र उपाध्यक्ष कुँवर, खोपाचागु र स्याँखुमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र सञ्चालक सदस्य थामी तथा थामीचागु र लोटीङमा सचिव दहाल र कोषाध्यक्ष केसीले संस्थाका शेयर सदस्य एवं भावी सदस्यहरुलाई संस्थाको उद्देश्य र सेवाका बारेमा सुसूचित गराउनु भएको थियो ।
झण्डै एक हजार नागरिक सहभागि उक्त शिविरका क्रममा पाँच सय भन्दा बढीले संस्थाको सदस्यता लिएको अध्यक्ष चौँलागाईंले बताउनु भयो । उहाँका अनुसार संस्थाले हाल सहर केन्द्रित नभई बैङ्क तथा वित्तिय संस्थामा पहुँच कम भएका विकट क्षेत्रका विपन्न नागरिकहरु केन्द्रीत अभियानमा जोड दिएको छ । त्यस्ता नागरिकलाई आवश्यकता अनुसार वित्तिय साक्षरता तथा अन्य सीपमूलक तालिम प्रदान गर्ने तथा उनीहरुमा वचतको भावना अभिवृद्धि गरी आर्थिक स्तर उकास्न संस्थाले थप अभियान सञ्चालन गर्ने र त्यसबाट उनीहरुको आर्थिक स्तरमा विकास हुने उहाँको विश्वास छ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले शिविरका क्रममा नागरिकहरुको उत्साहजनक सहभागिता हुनुले आफुहरु थप हौसिएको र निकट भविष्यमै सो क्षेत्रमा थप सेवा तथा सम्पर्क केन्द्र विस्तार गरि सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
हाल संस्थाले जिल्लाका विकट मानिने शैलुङ, विगु लगायतका अन्य १५ वटा सेवा तथा सम्पर्क कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिईरहेको छ । वचत तथा ऋणका अलवा रेमिट्यान्स, लघुवित्त, मोबाईल बैङ्किङ, सदस्य सुरक्षा विमा लगायतका वित्तिय र गैर वित्तिय सेवा प्रदान गरिरहेको उक्त संस्थामा हाल झण्डै ३३ हजार सदस्य आवद्ध रहेका छन् ।