चरिकोट, ९ चैत्र
बालबालिका सम्वन्धि ऐन २०७५ को प्रभावकारी कार्यन्वयनका लागि दोलखाका स्थानीय सरकारहरुले १२ बुँदे साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
बालबालिका सम्वन्धि ऐन २०७५ को स्थानीय तहमा कार्यन्वयनका लागि राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरको सहजिकरणमा जिल्ला समन्वय समिति दोलखाले आइतबार दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको बालबालिका सम्वन्धि ऐन २०७४ को ब्यवस्थाहरु स्थानीय तहमा कार्यन्वयन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका प्रतिनिधिहहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरित साझा प्रतिवद्धता पत्रमा प्रत्येक स्थानीय तहमा स्पष्ट संरचनासहित स्थानीय बाल अधिकार समिति गठन गर्ने, बाल कोषको स्थापना गर्ने उल्लेख गरिएको छ । प्रतिवद्धतामा स्थापना गरिएको बाल कोषबाट जोखिमपूर्ण अवस्थामा रहेका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार, संरक्षण व्यवस्थापन, राहत तथा क्षतिपूर्ति प्रदान गरिने उल्लेख छ ।
यसै गरी सो प्रतिवद्धता पत्रमा स्थानीय तहमा बाल कल्याण अधिकारी तोक्ने, यथाशिघ्र अनाथ बालबालिकाको तथ्याङ्क संकलन गर्ने, स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई वालमैत्री स्थानीय शासन प्रवद्र्धन वारे सचेतना र प्रशिक्षित गर्ने, अस्थायी संरक्षण सेवाप्रदायक, बालमनोविज्ञ, सामाजिक कार्यकर्ताको सूचीकरण गर्ने, बालबालिकाको क्षेत्रमा बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा दोलखाका स्थानीय तहहरुले बालबालिकाका क्षेत्रमा हाल सम्म सञ्चालन गरेको गतिविधि र तिनले पारेका प्रभावका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्षता गर्नु हुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले अगामी केही महिना भित्र आवश्यक सबै सुचकहरु पुरा गरी दोलखालाई वालमैत्री स्थानीय शासन कार्यन्वयन भएको जिल्ला घोषणा गर्ने तयारी भईरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय वाल अधिकार परिषदका सदस्य सुन्दर लामिछानले वालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने अभियानलाई व्यवहारिक रुपमा कार्यन्वयनका लागि परिषद्ले सबै जिल्लामा स्थानीय सरकारका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा बाल अधिकार परिषद्का आत्माराम थापाले बालबालिका सम्वन्धि ऐन २०७५ मा समावेस गरिएका प्रावधानहरु र सो ऐनलाई स्थानीय तहमा कार्यन्वयनका लागि स्थानीय तहले गर्नु पर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।