चरिकोट २२ चैत्र
दोलखाको बैतेश्वर गाउँपालिकामा सञ्चालित जनसचेतन कप अन्तर मावि स्तरिय भलिबल प्रतियोगिताको उपाधी पुरुष तर्फ कालिढुङ्गा मावि मिर्गे र महिला तर्फ हनुमन्तेश्वर माविले हात पारेका छन् ।६४ औँ सहकारी दिवसको अवसर पारेर बैतेश्वर ५ काब्रे स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको प्रतियोगितामा कालिढुङ्गा माविले विष्णु मावि गैरीमुदीलाई सोझो सेटमा पराजित गर्दै पुरुष तर्फको उपाधी उचालेको हो ।
यो सँगै विष्णु माविले भने दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । उता महिला तर्फ हनुमन्तेश्वर माविले पराजित गरेसँगै जनज्योति मावि गैरीमुदी पनि दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भएको छ । यस्तै प्रतियोगितामा पुरुष तर्फ जनज्योति मावि गैरीमुदी र महिला तर्फ विष्णु मावि गैरीमुदीले तृतिय स्थान ओगटेका छन् । पहिलो, दोस्रो र तेस्रो हुने दुवै टिमले क्रमश १०, ७ र ५ हजार नगदसँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा पुरुष तर्फ विष्णु माविका सुदिप तामाङ र महिला तर्फ जनज्योति माविकी रसिला श्रेष्ठले बेस्ट स्पाईकरको उपाधी जितेका छन् भने कालिढुङ्गा माविका सुवास तामाङ र हनुमन्तेश्वर माविकी जानुका कार्कीले क्रमश पुरुष र महिला तर्फको बेस्ट डिफेन्डरको उपाधी जितेका छन् । विजयी खेलाडीहरुलाई जनसचेतन साकोसका अध्यक्ष हेमन्तकुमार चौलागाईं, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहितचन्द्र खड्का, संस्थाका सल्लाहाकार भीमप्रसाद दाहाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै समन्वय समितिका प्रमुख पाण्डेले सहकारीले शुद्ध बचत र ऋण मात्र नभई सामाजिक, साँस्कृतिकसँगै खेल क्षेत्रलाई समेत समेट्दै अघि बढ्नुले खेलाडीसँगै समाज विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनसचेतनबाट पाठ सिक्दै अन्य सहकारीले पनि यस्ता क्षेत्रमा गतिविधी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका अध्यक्ष चौलागाईंले आफुहरुले खेल र खेलाडीको विकासका लागि जनसचेतन कप नै स्थापना गरेको र आगामी वर्षदेखि बैतेश्वर गाउँपालिका मात्रै नभई सिङ्गो जिल्ला स्तरिय प्रतियोगिता आयोजना गर्ने जानकारी दिनुभयो ।
यस्तै प्रतियोगिताको समापन समारोहमा संस्थाका सल्लाहाकार भीमप्रसाद दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहितचन्द्र खड्का, संस्थाका कोषाध्यक्ष भरत केसी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
जिल्लामै पहिलोपटक अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त जनसचेतन साकोसले हाल जिल्लाभर १५ ओटा सेवा केन्द्र मार्फत आफ्ना ३३ हजार सदस्यलाई सेवा दिँदै आएको छ ।