म आफैले आफूलाई भाग्यमानी ठान्दछु । जब कि २०६४ भदौमा नेपाल पत्रकार महासंघ दोलखाको साधारण सदस्य भएँ । त्यही वर्ष फागुनमा अधिवेशन भयो । म सचिवमा निर्वाचित भएँ । यस्तो अवसर सायद कमैले पाउँछन जस्तो लाग्छ । यो क्रम चलि रह्यो । महासंघ दोलखामा मेरो उपस्थिति २ पटक सचिव, उपाध्यक्ष हुँदै एक कार्यकाल अध्यक्ष हुँदा १३ वर्ष १ महिना पुग्यो । ३ वर्षे कार्यकाल भए पनि कोभिड १९ को कारण १ वर्ष १ महिना थप नेतृत्व गर्ने अवसर मलाई मिल्यो ।
महासंघमा नेतृत्व गरिरहदा के पाइयो, के गर्यो, के गरेन ठूलो विषय हो जस्तो म आफूलाई लाग्दैन । तर, इमान्दारीता ठूलो ठान्दछु । काम भन्दा कुरा ठूल ठूला गर्नेहरुको कमि छैन यो मूलुकमा । कुरैले यो मूलुक बदलेको पनि धेरै उदाहरणहरु छन् । कामले सिन्को नभाँचेकाहरु पनि प्रशस्तै छन् । संस्थालाई संस्थागत रुपमा चलाउनु ठूलो हो । त्यही महान कार्य म ठान्दछु ।
महासंघ दोलखा स्थापना भएको २४ वर्ष पूरा भएको छ । यसअवधिमा संस्थापक सभापति स्वर्गीय देवदास श्रेष्ठ, चिरञ्जीवी मास्के, राजेन्द्र मानन्धर, उद्धव प्रसाद पोखरेलले नेतृत्व सम्हाली सक्नुभएको छ । उहाँको सफल नेतृत्वकै कारण महासंघ दोलखा भन्दा गर्व लाग्छ मलाई । यसको साधारण सदस्य भएर बस्न पनि गौरव ठान्दछु ।
नयाँ नेतृत्वलाई नयाँ कार्य गर्ने मन, जोस, उत्साह हुन्छ नै । तर क्षणिक तातेर मात्र हुँदैन रहेछ । निरन्तरता पनि चाहिन्छ जस्तो लाग्छ । समय पनि चाहिन्छ । परिस्थिति पनि चाहिन्छ । यी सबै कुराहरुको मिश्रणबाट मात्र सोचेको र खोजेको पूरा हुन्छ । सबैले राम्रा र असल खोजेर पाईदैन । पहिला त आफू नै असल र राम्रो हुनु पर्यो । अरुलाई पाठ सिकाउने तर आफू खुरुखुरु त्यही काममा रहने हो भने इमान्दारिताको पाठ कसले पढ्ने ।
धेरैलाई धेरै शंका उपशंकाहरु नेतृत्व तहलाई दिने गर्छन । तर यी सबै परिणाममा भर पर्दछ । पढेका, जानेकाहरु धेरै छन् तर रिजल्टले शुन्य । यही हो, हामी सबैले गरेका र जानेका । मैले पनि महासंघको नेतृत्व गरिरहदा यिनै उपलब्धि पाएँ जस्तो लाग्छ । यिनै पाठ सिके जस्तो लाग्छ । जानीजानी नराम्रो गरौ कसैलाई लाग्दैन तर कहिले काही फरक परिस्थिति सिर्जना हुन पनि सक्छ ।
मेरो नेतृत्वले यो गर्यो, त्यो गर्यो भनेर मैले कहिले ढ्वाङ फुक्ने काम हुन सकेन । प्रचार प्रसार गरेको जस्तो पनि लाग्दैन । तर, निरन्तर एकै स्थानमा १३ वर्ष रहदा मलाई आफ्नो घरभन्दा बढी माया महासंघको लाग्छ । मैले आफ्नो घरमा टवाईलेट, आँगन सफा गरिन होला तर महासंघ सबैको उपस्थिति, भेटघाटको थलो भएकाले सफा राख्नु पर्छ है भनेर आफैले आँगन सफा गरेको छु । भोलिको दिनमा पनि यो क्रम निरन्तर राख्छु जस्तो लाग्छ । यदि नेतृत्वकर्ताको व्यवहार सकारात्मक भएमा ।
इट्टा सबैले थप्नु पर्छ । अनि पो उचाई बढ्छ । महासंघमा यदि सबैले इट्टा नथपेको भए अहिले नेतृत्व गर्न हाना थाप हुँदैन थियो होला । प्रतिष्पर्धा चल्दैन थियो होला । निद्रा माया मारेर धेरैले नेतृत्वको लागि लाग्दैन थिए होलान । आफ्ना पेशा, व्यवसाय छाडेरै मरि मेट्ने थिएनन् होला । महासंघको उचाई छ र तिनै उचाईमा चढ्न प्रतिष्पर्धा चल्यो । तसर्थ यस उचाईलाई अझ थप बनाउन सबैको जिम्मेवारी छ । घटाउने अधिकार कसैलाई छ जस्तो लाग्दैन । राजेन्द्र मानन्धरको पालामा उत्कृष्ठ जिल्ला शाखा घोषणा भयो । मेरो पालामा शाखाले सम्मान पायो । यस्तो अवसर पाउनेमा सायद कमै जिल्ला होला । तसर्थ महासंघको छविलाई धमिलाउने कार्य अहिले सम्म भएको छैन र भावी दिनमा पनि हुँदैन भन्नेमा म ढुक्क छु ।
मेरो कार्यकालमा नराम्रो भन्ने केही देख्दिन । नराम्रो शब्द कसैमा छैन पनि । थिएन पनि । जे गर्यो राम्रै गर्यो, जे भयो राम्रै भयो जस्तो लाग्छ । मैले यहाँ रिपोर्टको रुपमा १, २ गरेर बयान पनि गर्न चाहन्न । म रिजल्टमा विश्वास गर्छु । राम्रा रिजल्टनै मेरो सफलता ठान्दछु । मैले मेरा कामको बारेमा साथीहरुलाई नसुनाउदा साथीहरुको मुन्टो बाङ्गो हुन्थ्यो । तर, म रिजल्ट नआई भविश्यवाणी मन पराउदिन । यो मेरो कमिजोरी हो या सही अहिले पनि छुट्याउन सकेको छैन । म आफूलाई गर्व लागेको विषय भनेको कहिले पनि महासंघलाई भर्याङ बनाएर आफू माथी चढ्ने कोशिस गरिन् ।
धेरैले भन्ने गर्थे घर र थर नभएका मान्छेको भर हुँदैन भनेर । त्यसैले महासंघको आफ्नै घर भयो । यही सफलता म ठान्दिन । तर, यस घरले कत्तिलाई बस्न शान्ति मिल्छ त्यो कुरा ठूलो हो । घर भनेको घाम, पानी, हावाहुरी र विश्राम लिने स्थल हो । तर घरमा आगो लगाएर न्यानो लिने कार्यमा कसैको मन गएको छैन जस्तो लाग्छ । समयले साथ दिएसम्म मेरा कार्यसमितिका सबै साथीहरु लाग्नु भयो ।
मेरो भन्दा बढी योगदान, श्रम, मिहिनेत साथीहरुको छ । म साथीहरुप्रति शब्दद्धारा उच्च सम्मान व्यक्त गर्दछु । म तपाईहरुप्रति ऋणी छु । सुन बिर्सिन सक्छ तर, तपाईहरुको गुण बिर्सिन सक्दिन । समयले कोल्टे फेरेमा कुनै दिन अवश्य मेरो सहयोग रहनेछ । मेरो नेतृत्व रहदा महासंघका १४६ जनै सदस्यहरुप्रति धन्यवाद दिन चाहन्छु । पूर्वअध्यक्षहरु, सल्लाहकारहरु सबैप्रति आभार व्यक्त गर्दछु ।
नेतृत्वकर्ताले कहिलेकाही आफू भुल्नु पर्दो रहेछ । घर, परिवार सबै सबै बिर्सिने दिन पनि आउदो रहेछ । म धेरै पटक रोएर संस्था सम्झेको छु । साथीहरु, अग्रजहरुको गालीलाई ताली सम्झेको छु । मसँग अहिले पनि जिउँदै छ साथीहरुको म्यासेज, स्टाटस, भाषण सबै सबै । तर मैले यसलाई सम्पत्तीको रुपमा लिएको छु । उपलब्धिको रुपमा लिएको छु । कोहीप्रति मेरो रिस, अहमता, घमण्ड छैन ।
सल्लाहको रुपमा लिएको छु । ठानेको छु । भोलिको दिनमा पनि त्यही रुपमा लिने छु । कोहीप्रति मेरो गुनासो, रिस रहने छैन । मैले महासंघलाई विश्वविद्यालय ठाने । किन यहीबाट धेरै पाठ सिके । व्यक्ति, समाज बुझ्ने, पढ्ने अवसर मिल्यो । मैले समय मात्र दिए, मिहिनेत मात्र गरे आर्थिक, भौतिक खासै खर्च गर्नुपरेन तर धेरै पढ्ने अवसर मिल्यो । मेरो यही पढाईलाई उतार्ने हो भने एउटा पाठ्यपुस्तकनै तयार हुन्छ । तसर्थ मेरो जिन्दगीको ठूलो उपलब्धि ठान्दछु । जहाँसम्म कि आफू हारेर अरुलाई जिताए जस्तो लाग्छ । आफू भोकै रहेर अरु अघाउनु पनि धर्म हो नि ।
जीवन लामा
पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ दोलखा