चरिकोट, १२ बैशाख
दोलखाको दक्षिणी भेगमा पर्ने मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङसुकाठोकर स्थित माझगाउँ टोलका रवि लामाको परिवार विगत ६ बर्षदेखी टहरामा बस्न बाध्य छ । वरिवरी सबैका चिटिक्क परेका घर बनी सक्दा पनि भूकम्प प्रभावित लामाको घर कहिले बन्ने हो कुनै अत्तो पत्तौ छैन् । सोही गाउँका अर्का भूकम्प पिडित इन्द्र लामाको त निजी आवास निर्माणका लागि अनुदानका लागि विभिन्न ठाउँमा धाउदा उल्टै दशौं हजार खर्च भयो तर अहिले सम्म अनुदान रकम आउने वा नआउने कुनै ठेगान छैन ।
आदिवासी जनजाति तामाङ समुदायको मुख्य बसोवास रहेको माझगाउँवासी अहिले भूकम्पले छियाछिया बनाएको घरमै बस्न बाध्य छन् । २०७२ सालमा गएको भूकम्प ६ वर्ष पूरा भएको छ । २०७२ साल बैशाख १२ गते गएको भूकम्पमै घर चर्केर बस्न नसक्ने बनाई दिए पछि सोही दिनबाट माझगाउँवासीको वास टहरोमा सरेको हो । भूकम्प गएको छ बर्ष पुरा भई सक्दा पनि उनीहरुको बसाई टहराबाट घरमा कहिले सर्ने हो । अहिले यसै भन्न गाह्रो छ ।
मेलुङ गाउँपालिकाको वडाकार्यालय, गाउँ कार्य पालिकाको कार्यालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यालयमा पटक पटक निवेदन गर्दा पनि लाभग्राही सूचिमा नाम नआएपछि अहिले पनि ढुंगा माटोको चर्केकै घरमा बस्नु परेको गुनासो गर्नुहुन्छ स्थानीय भूकम्प प्रभावित इन्द्र लामा । अनुदानको लागि सदरमुकाम चरिकोट जाँदा उल्टै दशौं हजार खर्च भएका तर अनुदान नपाएको वहाँको गुनसो छ ।
गाउँपालिका र प्राधिकरणले भनेझैं सबै ठाउँमा निवेदन गरे तापनि माझगाउँका माझगाउँका २५ घरधुरी मध्य अहिले १२ घरधुरीले अनुदान पाउन सकेका छैनन् । भूकम्प गएको ६ वर्ष पूरा हुँदासम्म लाभग्राही सूचीमा नाम नपरेपछि उनीहरुको अनुदान पाउने आश मर्दै गएको छ ।
सोही गाउँका भूकम्प प्रभावित डिल्ली भुजेललाई फेरी भूकम्प आयो भने जतिखेर पनि आफ्नो घर ढल्न सक्छ भन्ने चिन्ताले अझै छाडेको छैन। प्राविधिकहरुले त्यतिबेला नै बस्न हुँदैन भनेका थिए चर्केको घरमा तर अनुदान रकम प्राप्त गर्न नसके पछि अहिले त्यही चर्केको घरमै जोखिम मोलेर आफ्नो परिवार बस्न बाध्य भएको भुजेल बताउँनु हुन्छ । हामीले अनुदान आउला र घर बनाउला भनेर आशै आशमा बसेको ६ वर्ष पूरा भयो तर, अहिलेसम्म पाउँछ पाउदैन अतोपत्तो छैन भुजेलले गुनासो गर्नु भयो ।
गाउँपालिका र प्राधिकरणले भनेझैं सबै ठाउँमा निवेदन गरे तापनि माझगाउँका माझगाउँका २५ घरधुरी मध्य अहिले १२ घरधुरीले अनुदान पाउन सकेका छैनन् । भूकम्प गएको ६ वर्ष पूरा हुँदासम्म लाभग्राही सूचीमा नाम नपरेपछि उनीहरुको अनुदान पाउने आश मर्दै गएको छ ।
भूकम्प गएको लगत्तै प्राविधिक, इन्जिनियरहरुले घर धराप छ । भित्र नबस्नुस भनेका थिए । त्यसैले गाउँका सबैले भत्किएको घर नजिकै कटेरा बनाएर बसेका थिए । ती कटेराहरु अहिले पनि भत्काएका छैनन् । अनुदान नपाएको वर्षौ भएकाले धराप घरमा धेरैले लिपपोत गरेर बसेका छन् । सिङ्गै बस्ती चर्केका घरमा बस्दापनि कोहीकसैले चासो नदिदा गाउँमा नयाँ मान्छेहरु देख्ने बित्तिकै उनीहरु अनुदान दिने अधिकारी पो आएकी भन्ने आशा पलाउने गरेको छ ।
घ्याङका माझगाउँ मात्र होईन, गोलेगाउँका १६ घरधुरीमा ६ जनाको मात्र लाभग्राही सूचिमा परेका थिए । १० घर परिवार अहिले पनि चर्केकै घरमा बस्नुको बाहेक विकल्प छैन । इन्द्र लामा मात्र होईन यस टोलका नेत्र बहादुर तामाङ, अल्जम तामाङहरु जस्ता धेरै तामाङहरु भूकम्पले चर्केका घरमै बस्न बाध्य छन् । यस्तै माझगाउँ दमाई टोलका २२ घरधुरीमध्ये ६ वटा घर अझैं भूकम्पले चर्केको घरमा बस्दै आएका छन् ।
जनप्रतिनिधि लगायत प्राधिकरणले भनेझै पटक पटक चरिकोट धाउदा पनि अनुदान पाउन सकेनन् । यस दमाई टोलका कान्छा तामाङ, चन्द्र बहादुर नेपाली लगायतका घर चर्केकै छ । अनुदान आउला र भूकम्प प्रतिरोधी घर बनाउला भन्दाभन्दै पाँच बर्ष वित्न थालेको छ । अब त सरकारले अनुदान पाउने नपाउने बेलैमा स्पष्ट पारिदिएका भए आफ्नै सुरले नयाँ घर बनाउने माझगाउँबासी बताउँछन् ।
सबै निकायमा हारगुहार गर्दापनि केहीसिप नलागेपछि अहिले उनीहरुमा अनुदान रकम पाउने आश मरिसकेको छ। स्थानीय सरकारले पनि सबै निकायमा पहल गरेको तर, काम हुन नसकेको वडा अध्यक्ष हिरा थोकर बताउनु हुन्छ । उहाँको अनुसार अहिले पनि यस वडामा धेरै जसो भूकम्प प्रभावितले अनुदान नपाएका कारण घर बनाउन नसकेको बताउनुहुन्छ । यद्यपी भूकम्प प्रभावितहरुलाई अनुदानका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणलगायत सबै निकायमा पहल गरेका जारी रहेको वडा अध्यक्ष थोकरले बताउँनु भयो ।
सबै तस्वीरहरु: जीवन लामा