लामो सयमको प्रतिक्षापछि राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत उत्पादनको अन्तिम तयारी सुरु गरेको छ । आयोजनाको सबै काम ९९ प्रतिशत भन्दा बढी सम्पन्न भई सकेकोले अब आयोजना ध्यान विद्युत् उत्पादन गर्ने तर्फ केन्द्रित भएको छ ।
स्वदेशी लगानीमा निर्माण हुन लागेको चार सय ५६ मेगावाटको क्षमताको आयोजनाको जलाशय भरिएको आयोजनाले जनाएको छ । वैसाख मसान्तमा उत्पादनको तयारीमा जुटेको आयाजेनाले मुख्य सुरङ र पेनस्टक परीक्षणका लागि बाँधमा पानी भर्न सुरु गरेको थियो । जलाशय भरिएकाले बुधबारबाट पानी सुरुङमा पठाउन सुरु गरिने आयोजनाका पव्रक्ता डा. गणेश न्यापौनले बताउँनु भयो ।
सुरुङमा पानी पठाएपछि मुख्य सुरुङ र पेनस्टकको परीक्षण हुने आयोजनाले जनाएको छ । करिव १० देखि १२ दिनमा उत्पादन थाल्ने गरी परीक्षणको काम भईरहेको आयोजनाले जनाएको छ । आयोजनाले वैशाख मसान्तसम्म पहिलो युिनटबाट ७६ मगोवाट विद्युत् उत्पादनको तयारी थालेको हो ।
आयोजनाले यस अघि आगामी बैशाख १२ गते आईतबारदेखी मुख्य सुरुङको परिक्षणका लागि पानी पठाउँने कार्य सुरु हुने सूचना जारी सर्वसाधरणलाई जानकारी गराएको छ । माथील्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भए पछि वार्षिक दुई अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक नौ अर्ब रुपैयाँ आम्दानी गर्ने छ ।
हाल सम्म आयोजनाको सुरुङ, प्रसारणलाइन, बाँध, सबस्टेसन जस्ता संरचनाका सिभिल र मेकानिकलतर्फका सम्पन्न गर्न बाँकी रहेका छिटफुट कामहरु भइरहेको आयोजनाले जनाएको छ । आगमी २०७८ वैशाख ३१ गतेसम्म आयोजनाको एउटा युनिट सञ्चालनको तयारी भई सक्ने गरी काम गर्न आयोजना लागिपरेको छ । आयोजनाको माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम पनि लगभग अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाको मुख्य निर्माण तर्फका इन्टेक, बाँध, मुख्य सुरुङ, टेलरेस, विद्युतगृह, सुरुङलगायतका सिभिल संरचनाको काम लगभग सकिएको आयोजनाले जनाएको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना सहित जडान गरिएका विभिन्न हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
परिक्षण गर्न बाँकी रहेका अब सुरुङमा पानी पठाएपछि मुख्य सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षण पनि सम्पन्न हुनेछ । प्राविधिक परीक्षणका क्रममा कुनै जटिल समस्या देखा नपरेको खण्डमा सुरुङमा पानी हालेको हप्ता देखी १२ दिनमा परिक्षण कार्य पूरा हुने आयोजनाका उपप्रबन्धक तथा अनुगमन महाशाखा प्रमुख विमल गुरुङले जानकारी दिनु भयो । माथील्लो तामाकोशी जलविद्युत आयोजना मात्र नभएर मेघा आयोजना भएकोले पनि सबै परिक्षण गर्न समय लाग्ने गुरुङले ई दैनिकलाई बताउँनु भयो ।
विद्युत उत्पादनका लागि सरोकारवाला निकायबाट चासो बढ्न थालेपछि अपर तामाकोसी हाइड्रोपावर कम्पनीले फास्ट ट्रयाक विधिबाट प्राविधिक परीक्षण गरी विद्युत् उत्पादन गर्न लागेको हो ।
आयोजनाको पेनस्टक पाइप र विद्युतगृहमा जडान भएका मेसिन तथा उपकरणहरुको यसअघि नै सुक्खा परीक्षण सफल भइसकेको छ । विद्युतगृहको निर्माण भने डेढ वर्षअघि नै परिक्षण पूरा भएकाले नियमित तताउने र मर्मत सम्भार गर्ने कार्य भईरहेको छ । आयोजनाको बाँध एक वर्षअघि र बालुवा थिग्रयाउने पाखेरी एक महिनाअघि परीक्षण पूरा भइसकेको आयोजनाले जनाएको छ ।
चार सय ५६ मेगावाट विद्युत उत्पादन हुने आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुन थाल्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणमा कुल लागत ८० अर्ब रुपैयाँ खर्च पुग्ने अनुमान गरिएको छ ।