चरिकोट, १६ बैशाख
बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाकोे सूरुङमा पानी खसाल्ने कामको शुभारम्भ भएको छ । ४५६ मेघावाट क्षमताको जलविद्युत आयोजनाको बाँधस्थलमा पानी भर्ने बटम थिचेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक तथा पूर्वधारमन्त्री बसन्त नेम्वाङले सूरुङमा पानी खसाल्ने कामको सुरुवात गर्नु भयो ।
सो अवसरमा बोल्दै सञ्चार मन्त्री पार्वत गुरुङले नेपालको जलविद्युत क्षेत्रको इतिहासमा सबैभन्दा खुसीको क्षण भएको बताउँनु भयो । सो अवसरमा वहाँले केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन हुने बताउँनु भयो । राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिइएको तामाकोसी आयोजनाले यही महिनाको अन्तिम तिर पहिलो चरणको विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । तर आयोजनाले विद्युत उत्पादनको मिति भने अहिलेसम्म तयर गरेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कामको ढिलाइ प्रतिअसन्तुष्ट जनाउनु भएको थियो । प्रधानमन्त्री ओली स्वयंम आयोजनाको काम प्रति असन्तुष्टि भए पनि पछिल्लो समय आयोजना निर्माणको कार्यलाई तिब्र पारिएको छ ।
आजबाट सुरुङमा पानी पठाएपछि मुख्य सुरुङ र पेनस्टकको परीक्षण हुने आयोजनाले जनाएको छ । वैशाख मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगोवाट विद्युत् उत्पादन गर्ने आयोजनाको तयारी रहेको छ ।
माथील्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भए पछि वार्षिक दुई अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक नौ अर्ब रुपैयाँ आम्दानी गर्ने छ ।
हाल सम्म आयोजनाको सुरुङ, प्रसारणलाइन, बाँध, सबस्टेसन जस्ता संरचनाका सिभिल र मेकानिकलतर्फका सम्पन्न गर्न बाँकी रहेका छिटफुट कामहरु भइरहेको आयोजनाले जनाएको छ ।