चरिकोट २९ बैशाख
पहिलो पटक २०७६ जेठ २२ मा दोलखाको लप्चीमा हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यस्तै, दोस्रो पटक २०७६ पुस २० मा रोल्वालिङ उपत्यकामा पनि हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यी दुवै ठाउँ गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्दछन् । २०६६ पुस २७ मा घोषणा भएको यो क्षेत्रमा दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका दुई हजार १७९ वर्ग किलोमिटर भूमि समेटिएको छ ।
नेपाल सरकारले गौरीशङ्कर संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मा २० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ । संरक्षण क्षेत्र स्थापना भएको दसौं वर्षमा विश्वमै दुर्लभ मानिएको हिउँ चितुवा भेटियो । त्यसपछि हिउँ चितुवाको संरक्षण गर्ने काम अघि बढाउने भनियो । तर, डेढ वर्ष बितिसक्ता पनि हिउँ चितुवा संरक्षणको कुरो नीतिमा मात्रै सीमित छ । संरक्षणको ठोस काम अघि बढ्न सकेको छैन ।
क्यामेरा ट्र्यापिङ विधिबाट डेढ वर्षअघि गौरीशङ्कर संरक्षण क्षेत्रमा “हिमालकी रानी” हिउँ चितुवा रहेको पुष्टि भएसँगै दोलखावासी खुसी भएका थिए । त्यसमा पनि पदयात्राका लागि रोमाञ्चक र रमणीय क्षेत्र रोल्वालिङ उपत्यकाभित्र पर्ने सिमी गाउँ, टासीनाम, रिकु, सुरमुचे, क्याल्चे, डोङगाङ, ठाङदिङ, वेदिङ र ना गाउँका ३० भन्दा बढी होटल व्यवसायी अझ धेरै उत्साहित भएका थिए । विशेष गरी च्छो रोल्पा हिमताल जाने पर्यटकको स्वागत र सत्कार गर्दै आएका होटेल व्यवसायीलाई लागेको थियो, अब हिउँ चितुवा हेर्न पर्यटकहरू आउने छन् । होटेल व्यवसाय फस्टाउने छ । तर डेढ वर्षसम्म हिउँ चितुवा संरक्षणको काम अघि नबढ्दा निराशा छाएको बताउनुहुन्छ, आठ वर्षदेखि सुरमुचे बस्तीमा होटल सञ्चालन गर्दै आउनुभएकी माङ्गु शेर्पा– ‘‘हिउँ चितुवा देखा परेपछि एकदमै खुसी लाग्यो, किनभने म होटल व्यवसाय गर्ने भएकाले हिउँ चितुवा देखा पर्यो भन्दा पर्यटकहरू चाहिँ धेरै भित्रिन्छ होला भन्ने आशा लागेको थियो । लगानी गरे अनुसारको फाइदा अथवा सेवा लिन दिन पाइन्छ होला भन्ने आशा लागेको थियो । कन्जर्भेसनले हिउँ चितुवा त देखा पर्यो भनेर न्युजमा आयो, प्रचारप्रसार भएन । हिउँ चितुवालाई संरक्षणको सुरुवात भएन । संरक्षण नभएकै कारणले चाहिँ हामी होटल व्यवसायीलाई निराशा र दुःख लागेको छ ।’’
नेपाललगायत विश्वका १२ देशमा मात्र हिउँ चितुवा पाइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सूचीमा हिम चितुवा ‘जोखिमयुक्त’ वर्गमा छ । संघले यसलाई ‘लोपोन्मुख’बाट ‘जोखिमयुक्त’ वर्गमा झारेको तीन वर्ष चानचुन मात्र भएको छ । यस्तै, दुर्लभ तथा लोप हुनसक्ने वन्यजन्तु तथा वनस्पतिका प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले हिउँ चितुवाको आखेटोपहार र जीवित वा मृत अवस्थामा व्यापार गर्नमा पूर्णतया रोक लगाएको छ ।
नेपालमा पनि हिउँ चितुवाको संरक्षणका लागि केही कानुनी र नीतिगत व्यवस्था गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा यो जनावर संरक्षित वन्यजन्तुको सूचीमा छ । यसको सिकार गर्न पाइँदैन । कसैले हिउँ चितुवा मार्र्छ, घाइते बनाउँछ, यसको आखेटोपहार राख्छ, किन्छ, बेच्छ वा ओसारपसार गर्छ भने त्यस्तो व्यक्तिले पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । पाँचदेखि १५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय पनि भोग्नुपर्छ । हिउँ चितुवाको चोरी सिकार र अवैध व्यापारसम्बन्धी सूचना दिने व्यक्तिलाई ५० हजार रुपियाँसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ ।
हिउँ चितुवा संरक्षणका लागी कानून बनेको भएपनि व्यवहारमा हुनुपर्ने संरक्षणका काम डेढ वर्ष सम्म पनि नभएपछि आफुहरुलाई खल्लो लागेको स्थानीयवासी लाक्पा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, कानुनको प्रावधान अहिले ओझेलमा परेको छ त्यसैले त अझै संरक्षणका काम भएको अनुभव हामीले गर्न सकेनाैं ।
दोलखावासीले हिउँ चितुवाको संरक्षणका काम भएको अनुभव गर्न अझै बाँकी छ । यस्तो भए पनि नेपालले सन् २००५ मा नै दस वर्षे हिउँ चितुवा संरक्षण कार्ययोजना लागु गरेको थियो । त्यसको मूल्याङ्कन गरेर कार्ययोजनालाई अद्यावधिक पनि पर्यो । सन् २०१७ मा तीन वर्षे हिउँ चितुवा संरक्षण कार्ययोजना लागु पर्यो। यस्तै, हिउँ चितुवा तथा पारिस्थितिक प्रणाली व्यवस्थापन योजनाले सन् २०१७ देखि २०२६ सम्मका लागि आवधिक योजना पनि ल्यायो । व्यवस्थापन योजनाको रणनीतिमा हिउँ चितुवाको आवास व्यवस्थापन, मानव र हिउँ चितुवाको द्वन्द्व व्यवस्थापन, कानुन सृदृढ गर्ने, अन्तर्राष्ट्रिय सहयोग जुटाउने कुरा समेटियो । यद्यपि, व्यवस्थापन योजनामा भएका कुनै पनि कार्यक्रम गौरीशङ्कर संरक्षण क्षेत्रमा कार्यान्वयन गरिएको छैन ।
‘‘कोरोना आएको छ । न नेपाल सरकारले कुनै कार्यक्रम दिएको छ न राष्ट्रिय प्रकृति संरक्षण कोषले कुनै कार्यक्रम दिएको छ । हाम्रो काम हो, दैनिक त्यहाँको जनताको काम मात्रै गर्ने । बाँकी कामहरू अहिले वास्तवमा ठप्पै सरह नै छ । जति हामीले लक्ष्य लिएका थियाै , त्यो अनुसार भइरहेको छैन ।’’ गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्य नारायण शाह भन्नुहुन्छ ।
त्यसो त हिउँ चितुवा पाइने संरक्षित क्षेत्रहरूमा हिउँ चितुवा संरक्षण कार्यमा विशेष पहल गरिएको छ । प्रत्येक वर्ष अक्टोबर २३ मा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । हिउँ चितुवा संरक्षण र अध्ययन अनुसन्धानका लागि केही संरक्षण क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र निर्माण भइरहेका छन् । हिउँ चितुवाको प्रमुख बासस्थानमध्ये एक शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा हिउँ चितुवा तथा अन्य वन्यजन्तुप्रति किसानहरूको प्रतिशोध घटाई संरक्षण गर्न पशु बिमा कार्यक्रम लागु गरिएको छ । यसरी हेर्दा हिउँ चितुवा संरक्षणलाई सरकारले प्राथमिकता दिएको देखिन्छ ।
गौरीशङ्कर संरक्षण क्षेत्रमा भने काम हुनसकेको छैन । काम नहुनुका थप कारणबारे गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना प्रमुख शाह भन्नुहुन्छ, “हिउँ चितुवालाई संरक्षण गर्नका लागि हामीले स्नोलियोपार्ड एक्सन प्लान बनाउनुपर्ने हुन्छ । हामीलाई आर्थिक अवस्था कमजोर नभएको भए, कर्मचारीको अभाव नभएको भए अहिले हामीले एक्सन प्लान बनाएर त्यसलाई इम्प्लिमेन्टतिर हामी गइसक्थ्यौं । र त्यहाँका जनताहरूलाई एक किसिमको एउटा समिति गठन गरेर हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ भनेर एक किसिमको काम अगाडि बढ्थ्यो, त्यो बढ्न सकेन ।’’
हिउँ चितुवा संरक्षणका लागि कोषले कुनै पनि कार्यक्रम नदिँदा संरक्षणको काम अघि नबढेको भन्ने विषयमा आधिकारिक विचार लिन पटक पटक प्रयास गरिए पनि कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी जवाफका लागि तयार हुनुभएन ।
गौरीशङ्कर संरक्षण क्षेत्रसहित सात वटा आयोजनाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । कोषले व्यवस्थापन गरिरहेको गौरीशङ्कर संरक्षण क्षेत्रमा हिउँ चितुवाको उपस्थिति पुष्टि हुनु कोषका लागि गौरवको विषय बन्नुपथ्र्यो । हिउँ चितुवा संरक्षणका लागि कोषले कुनै पनि कार्यक्रम नदिँदा संरक्षणको काम अघि नबढेको भन्ने विषयमा आधिकारिक विचार लिन पटक पटक प्रयास गरिए पनि कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी जवाफका लागि तयार हुनुभएन ।
हिउँ चितुवा संरक्षण गर्न तत्कालका लागि हिउँ चितुवाको सङ्ख्या, बासस्थान, स्थायी बसोबास गर्ने र केही समयका लागि आउनेको सङ्ख्या, भाले पोथी यकिन गर्न अध्ययन अनुसन्धान गरिनुपर्ने अनुसन्धानकर्ताहरूको सुझाव थियो । संरक्षण क्षेत्रमा हिउँ चितुवाको उपस्थिति रहे नरहेको पत्ता लगाउन स्थलगत अनुसन्धानमा खटिनुभएका नेपाल इन्जिनियरिङ कलेज, स्नातकोत्तर अध्ययन केन्द्रका उप–प्राध्यापक डा. नारायण प्रसाद कोजु भन्नुहुन्छ, “टड्कारो रूपमा त हामीसँग गौरीशङ्कर क्षेत्रभित्रको हिउँ चितुवाको सङ्ख्या कति हो ? यसको आहारा, प्रजातिहरू कस्तो छ र योसँग मानवको द्वन्द्व हुनसक्ने सम्भावनाका बारेमा अहिलेको केही वर्षमा यो विषयमा अनुसन्धानको निचोडमा हामी पुग्न सक्यौं भने त्यसको भविष्यको संरक्षणको निम्ति सजिलो हुन्छ । लामो समयसम्मको अनुसन्धान र संरक्षणका निम्ति यो प्रजातिको वंशानुगत अध्ययन गरेर संरक्षण क्षेत्रको वरपर संरक्षण क्षेत्रभित्र भएका हिउँ चितुवाहरूको वंशानुगत अवस्थिति के हो ? यिनीहरूको प्रजननको जुन सफलता हुन्छ, त्यो कत्तिको नजिक छ ? त्यो तहसम्म अनुसन्धान गर्न पायो भने राम्रै हुन्छ ।’’
अनुसन्धानले हिउँ चितुवा संरक्षणका चुनौतीहरूलाई पार लगाउने बाटो देखाउँछ । घुमन्ते गोठाला–स्थानीयवासीबिच द्वन्द्वसँगै चोरी–सिकार र जलवायु परिवर्तनका चुनौती छन् । घरपालुवा जनावर खाइदिने भएकाले स्थानीयवासीले हिउँ चितुवालाई मार्ने गरेका छन् । यसका साथै बासस्थान खण्डीकरण, अवैध चोरीसिकार, अङ्गहरूको व्यापार र घरपालुवा जनावरको चरन क्षेत्र जस्ता चुनौतीलाई व्यवस्थित गरी संरक्षण चेतना बढाउँदै हिउँ चितुवा संरक्षण गर्नुपर्ने हुन्छ । नेपालले जारी गरेको हिउँ चितुवा व्यवस्थापन योजनामा हिउँ चितुवा पाइने स्थानका मानिसको जीवनस्तर उकास्ने, स्थानीय समुदायलाई प्राथमिकतामा राख्ने, हिउँ चितुवाको विषयमा ज्ञान बढाउनेलगायत उल्लेख छ । तर, हिउँ चितुवा रहेको पुष्टि भएको गौरीशङ्कर संरक्षण क्षेत्रमा हिउँ चितुवा संरक्षण समितिसमेत बनाइएको छैन ।
हिउँ चितुवाको अध्ययनमा २०३७ सालदेखि निरन्तर लाग्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करन बहादुर शाह हिउँ चितुवाको संरक्षणका लागि स्थानीय समुदायलाई समेटेर तत्काल समिति बनाउनुपर्ने ठान्नुहुन्छ । उहाँको भनाइ छ– ‘‘समितिले बढी फोकस हिउँ चितुवालाई गर्ने । किनभने हिउँ चितुवा मात्रै त जोगाउनु त भएन । हिउँ चितुवा जत्तिक्कै त्यसको आहारा, उसले खाने वन्यजन्तु उसलाई पनि जोगाउनु प¥यो । हिउँ चितुवा मार्ने एउटा कारण चाहिँ बदलाको भावनाले मार्ने हो नेपालमा । उनीहरूको गाईवस्तु मारेको, उनीहरूको भेडा बाख्र्रा च्याङ्ग्रा मारेको जति छ, त्यो अनुसारको पैसा पायो भने त हिउँ चितुवालाई मार्दैन त । विष हालेर मार्दै पासोमा पार्दैन । लोकल मान्छेहरूलाई अरू ठाउँको भ्रमण गराएर, अरू ठाउँ भनेको चाहिँ जहाँ हिउँ चितुवा पाउने हो त्यो ठाउँमा राम्रो काम भएको छ स्थानीयको सहभागितामा त्यही ठाउँमा लगेर बुझाइए स्थानीयले पनि संरक्षण गर्छन् । यो जिम्मेवारी चाहिँ गौरीशङ्कर संरक्षण क्षेत्रका सम्बन्धित अधिकारीहरुको हो ।’’
गौरीशङ्कर संरक्षण क्षेत्रका सम्बन्धित अधिकारीले प्रकृति संरक्षण कोषलाई देखाउने र कोषका पदाधिकारीले पत्रकारलाई जवाफसमेत दिन नचाहेको अवस्था छ । यसले हिउँ चितुवा संरक्षणको काम अझै टाढा रहेको देखाउँछ ।
गौरीशङ्कर संरक्षण क्षेत्रका सम्बन्धित अधिकारीले प्रकृति संरक्षण कोषलाई देखाउने र कोषका पदाधिकारीले पत्रकारलाई जवाफसमेत दिन नचाहेको अवस्था छ । यसले हिउँ चितुवा संरक्षणको काम अझै टाढा रहेको देखाउँछ । हिउँ चितुवा कोषले विश्वमा तीन हजार पाँच सयदेखि सात हजारको सङ्ख्यामा हिउँ चितुवा रहेको अनुमान गरेको छ भने नेपालमा यो सङ्ख्या ३५० देखि पाँच सय रहेको बताइन्छ । संसारमै दुर्लभ हिउँ चितुवा दोलखामा पनि पाइएपछि त्यसको प्रचार गर्न तामझामका साथ पत्रकार सम्मेलन गरिएको थियो ।
हिउँ चितुवा संरक्षणको सवाल उतिबेलै उठे पनि हालसम्म संरक्षणको कामै सुरु नहुँदा दोलखामा हिउँ चितुवाको उपस्थिति कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै भएको छ । अर्कातिर संरक्षण क्षेत्रमा १० वर्षसम्म गरिएको खर्च पनि बालुवामा पानी खन्याए जस्तै भएको छ । अनि हिउँ चितुवाले ‘हिमालकी रानी’ बनेर संरक्षण पाउनेभन्दा पनि ‘हिमालको भूत’ जसरी हराउने अवस्था पो भोग्नुपर्ने हो कि भन्ने चिसो पनि गौरीशङ्करवासीमा पस्न थालेको छ ।
तस्विर : गौरिशंकर संरक्षण क्षेत्र आयोजना दोलखा
(यो आलेख/फिचर इन्टरन्युज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता: रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)