चरिकोट, ३० बैशाख
कोभिड १९ अर्थात कोरोना भाईरसबाट संक्रमित भई होम आईसोलेशनमा बसेका संक्रमित व्यक्तिहरु घरबाहिर हिँडडुल गरिरहेको भन्ने जनगुनासो आए पछि त्यसलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरिने भएको छ । होम आईसोलेसनमा बसेका संक्रमितहरु जथाभावी हिडडुल गर्दा रोग समुदाय स्तरमा झन व्यापक रुपमा फौलन सक्ने भएकोले नियन्त्रण गर्ने कार्य सुरु गरिएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसिको आज सम्पन्न बैठकले सोको लागि आवश्यक अनुगमन गर्न सम्बन्धित स्थानीय तह तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लाई परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
यसै गरी आज सम्पन्न बैठकले कोभिड १९ संक्रमणका कारण होम आइसोलेशनमा बसेका बिरामीहरुलाई सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजक मार्फत नियमित सम्पर्क गर्ने निर्णय भएको छ । संक्रमित भई होम आइसोलेशनमा बसेकाहरुलाई स्वास्थ्य कार्यालय दोलखाले स्वास्थ्य संयोजक मार्फत नियमित सम्पर्क गर्ने तथा आवश्यक परामर्श दिने समेत व्यवस्था मिलाउने निर्णय गरेको हो ।
त्यसैगरि जिल्लामा कोभिड १९ को संक्रमण तिव्र गतिमा फैलिरहेको वर्तामान अवस्थालाई मध्यनजर गरि थप फैलिन नदिन र नियन्त्रण गर्ने उद्देश्यले विभिन्न धार्मिक एवं सामजिक कार्यमा समेत रोक लगाइएको छ । बैठकले विभिन्न समुदाय, जातजाति, धर्म, सम्प्रदायले गर्ने, मनाउने, कुलपुजा एवं दिवाली लगायतका धार्मिक सांस्कृति परम्परा, पर्व वा उत्सव सामुहिक रुपमा भेला भई मनाउँदा रोगको संक्रमण अझ फैलिन गई जटिल अवस्था सिर्जना हुन सक्ने सम्भावना देखिएकाले जिल्लका सबै ठाउँमा धार्मिक एवं सामजिक कार्यमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
विवाह, ब्रतवन्ध, लगायतका धार्मिक सामजिक क्रियाकलाप सञ्चालन गर्न गराउन अर्को निर्णय वा आदेश नभएसम्मका लागि रोक लागाइएको हो । कोभिड १९ को संक्रमणको कारण होम आइसोलेशनमा रहि वा सदरमुकाम बाहिर जिल्लाका विभिन्न स्थानीय तहमा मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन गर्न उपयुक्त ठाउँ खोजी गर्न जिल्लाका ९ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले कोभिड संक्रमित भएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ गरि स्वाब संकलन गर्दा अनिवार्य रुपमा तोकिएको प्रोटोकल फलो गर्ने तथा पालना भए नभएको स्वास्थ्य कार्यायले अनुगमन गर्ने निर्णय गरेको छ ।
जिल्लामा अक्सिजन सिलिण्डरको उपलब्धता सुनिश्चित गर्नका लागि स्वास्थ्य कार्यालय दोलखाले फोकल प्रसन तोकि अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गरि विवरण संकलन गर्ने, रिफलिङ गर्ने र दुरुपयोग हुन नपाउने व्यवस्था मिलाउन अभिलेख राख्ने तथा अनुगमन गरि जिल्लामा उपलब्ध तथा आवश्यक हुने अक्सिजन सिलिण्डर विवरण समेत अध्यावधिक राख्ने लगायतका निर्णय भएको छ ।