रविन्द्रसँग संगत गरेको १५ वर्ष पूरा हुन थाल्यो । हामीसँगै नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखामा २०६४ सालमा म कार्यसमितिको सचिव उहाँ सदस्य हुनुहुन्थ्यो । मिडियामा पनि दौतरी हो जस्तो लाग्छ । तर, पछिल्लो चरणमा धेरै नजिक हुन थालियो । जिल्लादेखि विदेशसम्म सँगै खाने, एउटै कोठामा सुत्नेसम्मको सम्बन्ध भयो । यस्तो हुनमा मन पनि मिल्ने, कार्यक्षेत्र पनि एउटै एउटै भएर होला ।
रविन्द्रजी पनि भीमेश्वर एफएमको स्टेशन म्यानेजर म पनि कालिञ्चोक सामुदायिक एफएमको स्टेशन म्यानेजर भएर पनि होला । हामी सँगै एकोरावको तालिम, गोष्ठी, सम्मेलनमा देश विदेशमा सँगै सहभागी हुन्थ्यौ । अनि म नेपाल नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्ष हुँदा ऊ बागमती प्रदेश समितिको सदस्य । त्यसैले पनि कार्यक्रम, बैठकमा सँगसँगै आउने जाने गथ्र्यौ ।
जिल्लाबाहिर हुँदा कतिपय अवस्थामा जुठो पनि खायौं । विदेशमा जाँदा त झन् जूठो नै मीठो लाग्ने । मीठो चीज थोरै अनि महङ्गो हुने भएकाले बाँडीचुडी खाँदा झन् मीठो । अमार्कको कार्यक्रमको क्रममा थाईल्याण्ड र बालीमा जाँदा कहिल्यौ हामी पनि छुट्टिएनौं । दिउँसो होस या राती । सँगै कोठामा हुँदा कहिले अफिसियल कुरा गथ्र्यौ । कहिले घरायासी कुरा पनि । मेरो आनीबानी र उसको आनीबानी थाहा पाएपछि उठ्बसमा कुनै शंका थिएन । कसले कस्ता कुरा मन पराउछन् । कस्ता खानेकुरा मन पर्छ समेत थाहा भईसकेको थियो । जसले गर्दा सँगसँगै हुन कुनै समस्या भएन ।
कहिले पनि आर्थिक कारोबार र संस्थागत कुरामा मनमुटाव भएन । मलाई याद छ कि तँ तँ, म म समेत भएन । साथी भएपनि सम्मानजनक ढंगकै व्यवहार हुन्थ्यो । उसको नराम्रो व्यवहार मलाई कुनै अवगत छैन । हुन त मान्छे मरेपछि सबै राम्रा कुराहरु देख्छन् । सम्मान, सत्कार बढी हुन्छ । तर मलाई बढाई चढाई गर्नुपर्ने केही आवश्यकता पनि छैन ।
कफि पिउदै गर्दा बेलाबेलामा म भन्थे त्यो समाचार चाहि नलेख्नुन यार । तर ऊ भन्थ्यो मसँग सबै डकुमेन्ट, प्रमाण छ । लेख्नुपर्छ । किन नलेख्नु भनेर उ भन्त्यो । हुनपनि हो, प्रमाण जुटाउन होला धेरै डकुमेन्ट संकलन गर्ने बानी थियो । कतिपय सरकारी कार्यालयका कर्मचारीहरुले गोप्य कुराहरु म्यासेज गर्दो रहेछ । मलाई नभन्ने शर्तमा खुसुक्क देखाउथ्यो । भ्रष्टाचारको तथ्याङ्क धेरै थियो । गल्ती, कमिकमजोरीका डकुमेन्ट धेरै संकलन गरेको थियो उसले । सँगै हँुदा यस्तै यस्तै खालका फोन आउथ्यो । थाहा पायो त जीवन भन्थ्यो । धेरै समाचारहरुले हंगामा ल्यायो । मान्छे अलि चाकरी गर्ने, हजूर हजूर भन्ने खालको थिएन । जसले गर्दा बाहिरी रुपमा रुचाए तापनि भित्री रुपमा कमैले रुचाउथे ।
यी कुराहरु मलाई उ मलाई सुनाउथ्यो । सानातिना कुरामा कहिले मतलव राख्दैन थियो । हो भनेपछि हो हो । कहिले पार्टीगत र यी नजिकको यी टाढाको भनेर भेदभाव गर्दैन थियो । सही कुरा बोल्दा धेरैलाई नपच्नु स्वाभाविकनै हो । जमना चाकरी, चाप्लुसी कै छ । तर रविन्द्रमा त्यस्तो बानी थिएन । अर्काको डाहा गर्दैन थियो । म आफै गर्छु । मसँगै छ भन्ने बुझाई थियो । म आफै सक्छु जस्ता । यस्ता स्वभाव भए तापनि रविन्द्रमा क्षमता चाहि राम्रो थियो । साधान स्रोत पर्याप्त थियो । समाचारको एङ्गल खोच्ने कुरामा अगाडिनै थियो । पत्रकारितानै पेशा भएर होला बिहानदेखि बेलुकीसम्म मिडियामै रमाउथ्यो । मिडियाकै कुरा गर्थे । डकुमेन्ट्री बनाउने सवालमा पनि उ धेरै अगाडि ठान्दछु । मलाई बेला बेलामा यस्तो गर्नुपर्यो, उस्तो गर्नुपर्यो भन्थ्यो ।
मिडियासँग सम्बन्धित धेरै कामहरु सहकार्य गर्ने योजना थियो । पछिल्लो अवस्थामा सामुदायिक रेडियो प्रसारक संघ (एकोराव) को कुनै उपसमितिमा बस्ने ठूलो इच्छा थियो । अनुशासन, लेखा समितिमा बस्ने रहरहरु अपूरोनै रह्यो । रेडियोमा ऊ भन्दा म अगाडि र साथीहरु मैले बढी चिन्ने भएकाले परिचय म गराईदिन्थे । एकोरावको अधिवेशनताका काठमाडौमा धेरै सँगै बस्यौ । टिकट पाउने लगभग कन्फम थियो । अन्तमा ती इच्छा पनि इच्छामै सीमित भयो ।
बैशाख १५ गते मेरी आमाको निधन भयो । केही दिनमै सहितको टिम मलाई भेट्न झ्याँकु आयो । म आमाको शोकले लगभग ३,४ दिन पानी समेत नखाई बसेको थिए । आफ्ना सन्तान अनि अभिभावक गुमाउदा कसको मन रुदैन होला ? कसलाई खुशी लाग्छ होला । यस्तै अवस्था थियो मेरो पनि । त्यही बेला रविन्द्रले आफ्ना बुबा आफू २० वर्ष हुँदा खसेको । त्यही पनि ३ दिनपछि भेटेको । त्यस्तो अवस्थामा मैले कसरी मन बुझाए होला ? तिमीले त उपचार गर्न त पायौं भन्दै मलाई सम्झाउने कोशिस गर्यो । कही दुखसुखको कुराहरु भयो । मलाई सान्त्वना दिनको लागि सँगै डोर्यो पनि । केही खानको लागि प्रेसर गर्यो । मलाई अहिले पनि सम्झिन्छु कि काँधमा हात हाली डोर्याएको । म महिनौं दिनसम्म घरतिरै रहे । पत्रकार अनि साथीहरुको खबरबाट टाढा भएँ ।
जेठको ६ गते चरिकोट आएँ । लकडाउन भएकाले कोहीसँग भेटघाट हुन सकेन । सामाजिक सञ्जाल पनि खासै चलाईएन । मलाई आमाको याद आउँदा रविन्द्रले भनेका कुराहरु सम्झिन्छु । चित्ता बुझाउछु । तर, रविन्द्रको स्वास्थ्य अवस्था कमजोर भईसकेको कुरा ८ गतेमात्र थाहा भयो । मैले ८ गते दिउँसो फोन गरे उठेन । ९ गते काठमाडौ लाने थाहा भयो । त्यति जटिल होईन होला जस्तो लाग्यो । चरिकोट अस्पतालमा पुगे । पत्रकार साथीहरु धेरै जम्मा भईसकेका रहेछन् । करिव १ घण्टा जत्तिको कुराई पर्यो । हामी बाहिरै बस्यौ ।
हेलिकप्टर गौरीशंकर क्याम्पसको प्राङ्गणमा बस्यो । रविन्द्रलाई एम्बुलेन्सबाट त्यहाँसम्म लगियो । मैले धेरै फोटोहरु कैद गरे । फर्केर आएपछि यी जम्मै फोटोहरु दिउँला भनेर मनमनै सोचे । उ फोटोको क्रेजी थियो । म बोल्दै गर्दा या कुनै कार्यक्रममा हुँदा सुटुक्क फोटो खिचेर इमेल, म्यासेन्जरमा पठाउथ्यो । म पनि बेला मौकामा त्यस्तै गरिदिन्थे । फोटो साटासाट हुन्थ्यो । कतिपय उसको प्रोफाईल फोटोहरु मैले कैद गरेको हुँ । यस्तै कुराहरु सम्झेर एम्बुलेन्सदेखि हेलिकप्टर उड्दासम्मको फोटोहरु कैद गरेर थिए । तर, अब कसलाई पठाउ, कहाँ देखाउने म आफै अलमलमा परेको छु ।
जाँदासम्म उहाँ म बाँचेर आउँछु राम्ररी बस्नु भन्दै थियो प्राय सबै साथीहरुलाई । बोल्न अप्ठेरो हुन्छ होला भनेर मैले कुरा गर्ने चाहना हुँदाहँुदै पनि बोल्न सकिन । हेराहेर चाहि भयो । काठमाडौ पुगेको केही दिनपछि फोन गरे । फोन उठेन । तर म्यासेज आयो मलाई ठीक हुँदैछ । अहिले नबोल्नु भनको छ । पछि कुरा गरौला भनेर । मैले ओेके मात्र लेखें, किन डिस्ट्रव गर्नु भनेर ।
जेठ १६ गते दिउँसो चिरञ्जीवी दाई, प्रभु, गोकर्ण, कमल दाई हामी सँगै थियौ । हल्ला अलि बढीनै भईरहेको थियो रविन्द्रलाई अलि गाह्रो भयो भनेर । बेलाबेलामा सोधीखोजी हुने क्रम जारी थियो । मलाई के लाग्थ्यो भने केही हुँदैन । निको भएर चाँडै फर्किन्छ भनेर । म हेरी निकै दह्रो जस्तो लाग्छ । खानपिनमा पनि मभन्दा बढीनै खान्थ्यो ।
बलिया मान्छेलाई त रोगले पनि छुदैन कि जस्तो लाग्छ । तर, अहिले थाहा भयो रोगले दुब्ला, पाताला र बलिया भन्दैन रहेछ । धनी गरिब पनि भन्दैन रहेछ । अहिलेसम्म पनि पत्यार लागेको छैन उ सको निधनप्रति । बेलाबेलामा फोटोहरु देख्छु मेरो ल्यापटप, मोवाईलमा सँगै खाको, नाँचेको, उफ्रेको । यत्तिका शब्दहरु लेखिरहदा मलाई सपना जस्तै भईरहेको छ । कतै म गलत त छुईन । म सपनीमा पो छु कि झैं लागीरहेको छ । तर के गर्नु यतिको दिन भईसक्यो । रविन्द्र कहिल्यै नफर्किने गरी हामीबाट टाढा भईसक्यो । हार्दिक श्रद्धाञ्जली रविन्द्र ।