चरिकोट, २१ जेठ
दोलखामा दिनानुदिन कोरोना भाईरसबाट संक्रमितहरु बढिरहेको बेला स्वास्थ्य संस्थाहरुमा कोरोना संक्रमितहरुलाई आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिनको लागि चरिकोट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
बोधीसत्वा विहारका सुप्रिम मास्टर हेगुवाङ्सीको सहयोगमा नेपालका लागि कार्यक्रम संयोजक शान्त शर्मा र योगदान राष्ट्रको लागि दोलखा जिल्ला संयोजक राजु थापा, कुमार श्रेष्ठ, रमेश श्रेष्ठ र कुमार बस्नेतले चरिकोट अस्पताल सञ्चालक समितिका अध्यक्ष भरत बहादुर केसी र अस्पताल प्रमुख विनोद दंगाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन । बोधीसत्वा विहारको सहयोगमा अन्तराष्ट्रिय समन्वय समाज दोलखा र योगदान राष्ट्रको लागि दोलखाको पहलमा उक्त स्वास्थ्य सामग्री चरिकोट अस्पताललाई हस्तान्तरण गरेका थिए ।
सदरमुकाम चरिकोटमा सञ्चालित चरिकोट अस्पताललाई कोभिड १९ का बिरामीलाई आवश्यक स्वास्थ्य सामग्रीहरु मास्क दुई सय, ग्लोब्स एक सय, फेस शिल्ड ४०, पीपीई सेट २०, चश्मा २४, एन ९५ मास्क २०, नर्सिङ क्याप एक सय, फिनेल १५ लिटर, सेनीटाईजर १५ लिटर, टवाईलेट क्लिनर ५ लिटर, ह्याण्डवास १५ लिटर, अक्सिजन कन्सेनीरेटर ३ वटा र कोरोनाको बिरामीलाई आवश्यक औषधिहरु गरी ६५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
जिरी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र जिरी, कालिञ्चोक गाउँपालिकास्थित लापिलाङ, वैतेश्वर गाउँपालिकाको वैतेश्वर अस्पताल क्षेत्रपा र गौरीशंकर गाउँपालिकास्थित जुँगुका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिने अन्तराष्ट्रिय समन्वय समाज दोलखाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनु भयो ।