चरिकोट १ असार
दोलखामा ५ औँ पटक थप गरिएको निषेधाज्ञामा दोलखाको सरकारी कारोबार गर्ने बैंक आइतबार देखी शुक्रबार सम्म नै खुल्ने छन् भने अन्य बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरु आइतबार, मंगलबार र बिहिबार गरी ३ दिन मात्र बैंकिङ सेवा सञ्चालन गर्न पाउने भएका छन् ।
दोलखामा सोमबार राती १२ बजेदेखी असार ७ गते सोमबार राती १२ बजे सम्म अर्थात ७ दिन निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाका समयमा दोलखा जिल्ला भरिका बजार, व्यापार व्यवसाय तोकिएको समय बाहेक अन्य समयमा बन्द गर्ने, सभा सम्मेलन जस्ता भिडभाड हुने सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने, धार्मीक स्थलहरुमा नित्यपूजा बाहेकका सम्पुर्ण धार्मिक सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न स्थानीय प्रशासनले सूचना प्रकाशन गरी रोक लगाएको छ ।
सार्जजनिक एवं निजी सवारीका साधन निषेधाज्ञा अवधिभर सञ्चालन गर्न नपाइने अत्यावश्यक सेवा ढुवानी गर्ने सवारी साधनले स्पष्ट खुल्ने गरि सोको प्रमाण्णित हुने कागजात सहित सञ्चालन गर्न पाउने व्यवस्था मिलाईएको छ ।
अत्यावश्यक सेवाका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक सहकारी तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारी मात्र राखी स्वास्थ्य मापदण्ड पालना गरी कार्यालय सञ्चालन गरिने छ ।
निषेधाज्ञाको अवधिमा अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई जिल्लाबाट गन्तव्य सम्म जान दिइने दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेले जानकारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ ।
अत्यावश्यक खाद्य सामग्रीको पसल विहान १० बजे सम्म, हार्डवेयर लगायत निर्माण सामग्री सम्बन्धि पसल बिहान १० बजे देखी १ बजे सम्म मात्र खुल्ला गर्ने, पाठ्यपुस्तक तथा पत्रपत्रिका पसल एवं प्रिन्टिङ प्रेस बिहान १० बजे सम्म खुल्न पाउनेछन् । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश पालना नगरेमा जरिवाना तथा तोकिए बमोजिम सजाय हुने सूचनामा उल्लेख गरिएको छ ।