दोलखाको ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागी निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न तयारी गरिरहेका छन् । असार १० गते भित्र निति कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार जिल्लाका स्थानीय तहले तयारी गरिरहेका हुन् ।
चरिकोट ८ असार
दोलखाका ७ गाउँपालिका र २ नगरपालिका मध्ये ८ वटा स्थानीय तहले असार १० गते निति कार्यक्रम र बजेट ल्याउने बताएका छन् । जिल्लाको भीमेश्वर नगरपालिकाले भने भोली ९ गते आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नेछ भने १० गते बजेट प्रस्तुत गर्ने जनाएको छ । गत वर्षका योजनालाई निरन्तरता दिदै नयाँ निति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले जानकारी दिनुभयो ।
बाँकी ८ वटा स्थानीय तहले असार १० गते एक साथ निति कार्यक्रम र बजेट प्रस्तुत गर्ने जनाएका छन् । जिरी नगरपालिकाले आठौ नगरसभा मार्फत करिव ६० करोड ४९ लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिरहेको छ । यस वर्ष नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकीले जानकारी दिनुभयो ।
त्यसैगरि वैत्यश्वर गाउँपालिकाले यस वर्ष कोभिड १९ कोरोना भाइरसको महामारी रोकथाम र उपचार, गत वर्षका योजना तथा कार्यक्रमलाई निरन्तरता, वैत्यश्वर अस्पतालको क्षमता विस्तारलाई प्राथमीकतामा राखी १० गते निति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
चालु आर्थिक वर्षका लागी ५३ करोड ५९ लाख बजेट ल्याएको गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी करिव ५० करोड रुपैयाँको बजेट ल्याउने गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाको ८ वटै वडा कार्यालय भवन, वैत्यश्वर गाउँपालिका केन्द्रमा आवश्यक पुर्वाधार निर्माण सकिएकाले आगामी वर्ष स्वास्थ्य, सडक र कृषिलाई प्राथमीकता दिने उपाध्यक्ष आचार्यको भनाई छ ।
जिल्लाका गौरिशंकर, विगु, तामाकोसी, सैलुङ, मेलुङ, कालिन्चोक गाउँपालिकाले पनि स्वास्थ्यलाई पहिलो प्राथमीकता दिदै असार १० गते निति कार्यक्रम र बजेट प्रस्तुत गर्ने जनाएको छ ।