चरिकोट, ०९ असार
दोलखामा स्थानीय सरकारहरुले आगामी आर्थिक बर्ष २०७८/८९ मा कार्यन्वयनका लागि बजेट जारी गर्ने पुर्व सन्ध्यामा जिल्लाका नागरिक समाजका संस्थाहरुले चासो देखाएका छन् ।
हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजनाले प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट आयोजना गरेको अन्तरक्रियामा स्थानीय सरकारको बजेट प्रति नागरिक समाजले प्रतिनिधिले चासो देखाएका छन् । स्थानीय सरकारको नीति कार्यक्रम तथा बजेट प्रक्रियामा नागरिक समाज र मिडियाको सहभागिता बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम र बजेट ल्याउन लागेको कार्यक्रममा जानकारी दिए । कार्यक्रममा दोलखाका स्थानीय तहहरुले असार १० गते नै ल्याउने भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले स्थानीय सरकारहरुले नीति कार्यक्रम तथा बजेट निर्माणको प्रक्रियामा सरोकारवाला निकाय समक्ष चरणबद्ध छलफल गरेको बताउँनु भयो ।
साथै जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका ९ वटै स्थानीय तह विच निती कार्यक्रम र बजेटका बारेमा छलफल समेत गरिएको बताउनु भयो । कार्यक्रममा पाण्डेले योजना बैंक बनाएर पालै पालो आयोजना कार्यन्वयन गर्ने बताउनु भयो । पाण्डेले स्थानीय सरकारले असार १० मा जारी गर्ने नीति तथा कार्यक्रम र बजेटलाई थप अध्ययन गरी सुझाव दिन नागरिक समाज र सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भयो ।
भचुअल अन्तरक्रिया कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंमबहादुर खड्का र बैत्यश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट सार्वजनिक गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जीवन लामाले स्थानीय सरकारले सञ्चार क्षेत्रलाई पनि उत्तिकै प्राथामिकतामा राखेर बजेट निर्माण गर्न आग्रह गर्नु भयो । यसै गरी नेपाल पत्रकार महासंघका सचिव दिलबहादुर के.सी.ले स्थानीय सरकारले निती तथा कार्यक्रम र बजेट निर्माण गर्दा नागरिक समाजसँग पर्याप्त छलफल हुने पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दोलखाका अध्यक्ष गोकर्णप्रसादले स्थानीय सरकारहरुले विपद् जोखिम व्यवस्थानका क्षेत्रलाई पनि प्राथामिकतामा राखी बजेट जारी गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल ग्रामीण पुर्ननिर्माण संस्था आरआरएनका प्रेम कार्कीले स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गर्दा सर्वपक्षिय छलफल गरेमा त्यसले दिगोपना पाउँने बताउनु भयो ।
छलफलमा सुशासनविज्ञ प्रणव भटट्राई तथा पैरवीविज्ञ भोला भट्टराईले स्थानीय तहको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रियामा नागरिक समाज र सामाजिक संस्थाको भूमिका तथा सिमान्तकृत समुदायको सहभागितामा स्थानीय सरकार र नागरिक समाजको भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।