चरिकोट, १० असार
दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ८८ करोड भन्दा बढि बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागी ८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको हो ।
आर्थिक विकासका लागी ४ करोड ४२ लाख ६३ हजार, सामाजिक विकासका लागी ३५ करोड ७२ लाख ६६ हजार ५ सय रुपैयाँ, भौतिक पुर्वाधार विकासका लागी ३७ करोड ९ लाख २ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ९८ लाख ५० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ८ करोड ५५ लाख ९२ हजार १८ रुपैयाँ प्रस्ताव गरिएको छ ।
नगरपालिकाले कृषिमा बाँझो जग्गा फुटाउँ, खेती लगाउँ भन्ने अभियान सञ्चालन गर्ने उल्लेख गर्दै कृषि क्षेत्रमा १ करोड ५४ लाख ६ हजार रुपैयाँ, पशुपन्छी पालन क्षेत्रमा १ करोड १६ लाख ९४ हजार, उद्यमशीलता क्षेत्रमा ३३ लाख, सहकारी र वित्तीय क्षेत्रमा २९ लाख ६३ हजार, पर्यटन प्रर्वद्धनका लागी १० लाख, सिञ्चाइ व्यवस्थापनका लागी ९९ लाख, युवा तथा खेलकुदका लागी १६ लाख, खानेपानी तथा सरसफाइका लागी १ करोड ८४ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरि शिक्षाका लागी २४ करोड १ लाख ८० हजार रुपैयाँ, स्वास्थ्यका लागी ५ करोड ७१ लाख ६५ हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण एवम् जनसंख्या तथा बसाइसराइ समबन्धित सेवा र कार्यका लागी १ करोड ५२ लाख १ हजार ५ सय, यातयात पुर्वाधारका लागी ६ करोड ८० लाख ४२ हजार रुपैयाँ, भवन आवास तथा सहरी विकासका लागी २८ करोड ३० लाख ८० हजार विनियोजन गरिएको उपप्रमुख कमला बस्नेतले जानकारी दिनुभयो ।
नगरपालिकाले सञ्चार तथा सूचना प्रविधि र उर्जाका लागी ४० लाख रुपैयाँ, सम्पदा पुर्वाधारका लागी १७ लाख, श्रम तथा रोजगारी गरिबि निवारण र मानव संशाधन विकासका लागी ३३ लाख रुपैयाँ, योजना तर्जुमा कार्यान्वयन अनुगमन तथा मुल्यांकन र तथ्यांक प्रणालीका लागी ३५ लाख, वन, वातावरण तथा जलवायु र विपद व्यवस्थापनका लागी १ करोड १३ लाख ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ८ करोड ५५ लाख ९२ हजार १८ रुपैयाँ विनियोजन गरेको छ ।
नगरसभा भीमेश्वर नगरपालिका प्रमुख भरत केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।