असार १३, चरिकोट
दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ मा रहेको कोभिड १९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथी हातपात भएको छ । गएराति करिव १२ बजे मदिरा सेवन गरि स्थानीय युवाको समुहले अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर रोबिश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारलाई हातपात गरेको हो ।
डाक्टर कार्कीका अनुसार तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका रोशन पोखरेल, कुमार श्रेष्ठ र विजुली नेपाली, गोपाल तिमल्सीनाको खुट्टा सुन्निएको भन्दै अस्पताल आएका थिए । विशेषगरि कोभिडका बिरामीको उपचार गरिरहेको अस्पतालमा कोरोना संक्रमणको जोखीम हुने भएकाले अस्पताल परिषर बाहिर चेकजाँच गरिदिने बताउँदा युवाहरुले अपशब्द बोलेका थिए ।
गत राती १२ वजेको समयमा स्थानिय केहि युवाहरुले मदिरा सेवन गरी अस्पताल प्रवेश गरी कोभिड अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारलाई हातपात गरेको वडा नम्वर ४ का वडा अध्यक्ष तामाकोशी गाउँपालिकाका प्रवक्ता होम बहादुर श्रेष्ठले जानकारी दिनु भयो । तामाकोशी गाउँपालिकाले संचालन गरेको मालु कोभिड अस्पतालमा राती १२ बजेको समयमा मदिरा सेवन गरी अस्पताल परिसरमा प्रवेश गरेको अन्य विरामीको समेत उपचार गर्नको लागि दवाव दिँदै डाक्टर माथि हातपात भएको गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताउनु भयो ।
मदिरा सेवन गरि आएका युवाहरुले अपशब्द बोल्न थालेपछि अस्पतालको गेट बन्द गर्दा पर्खाल नाघेर परिषर भित्र पसी आफुहरु माथि हातपात गरेको डाक्टर रोबिश कार्कीले जानकारी दिनुभयो । उनिहरुले कार्यालय सहयोगी मिजारको घाँटी न्याकेको र आफुलाई छातीमा मुक्का हानेको डाक्टर कार्कीको भनाई छ । हातपात गर्न थालेपछि भागेर अस्पताल भवन भित्र चुकुल लगाएर ज्यान जोगाएको कार्यालय सहयोगी टोप बहादुर मिजारले बताउनुभयो ।
डाक्टर माथि हातपात गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तामाकोशी गाउँपालिका मालुका गोपाल तिमलसिना, रोसन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भई रहेको र कानुन अनुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकार दिनु भयो । स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा कोभिड नियन्त्रणका लागि अस्पतलमा खटिरहेको डाक्टरमाथि हातपात हुनु गम्भिर विषय भएको र कानुन अनुसार कारवाहि हुनु पर्ने तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताउँनु भयो ।
महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको रोकथामका लागी दिनरात नभनि अहोरात्र खटिरहेको स्वास्थ्यकर्मी माथि हातपात गरिनु गम्भिर विषय भएकाले दोषिलाई हदै सम्मको कारवाहि हुनुपर्ने गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खड्काले बताउनुभयो । विनागल्ती स्वास्थ्यकर्मी माथि हातपात गरिएपछि स्वास्थ्य सेवाबाट वन्चित हुनुपर्ने होकि भनि स्थानीयवासी चिन्तित बनेका छन् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि अध्यादेश २०७८ अनुसार स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट, तालाबन्दी वा उपचारको क्रममा वाधा पारे पुर्पक्षको लागी थुनामा राखी २ देखी ५ वर्ष सम्म कैद वा २ लाख देखी ५ लाख जरीवाना वा दुवै सजाय हुन सक्नेछ ।