चरिकोट, २४ असार
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले आफ्ना सदस्य तथा जिल्लामा अग्रपंक्तिमा काम गरिरहेका पत्रकारका लागि छुट्याईएको कोभिड १९ विरुद्धको खोप दुरुपयोग गरको भन्दै प्रेस चौतारी नेपाल दोलखाले आपत्ति जनाएको छ ।
प्रेस चौतारी नेपाल दोलखा जिल्ला शाखाको गत असार २३ गते सम्पन्न बैठकको निर्णय प्रेस विज्ञप्ति मार्फत सार्बजनिक गर्दै कोरोना माहामारीका बेला नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले आफ्ना सदस्य तथा जिल्लामा अग्रपंक्तिमा काम गरिरहेका पत्रकारका नाममा छुट्याईएको खोपलाई गैरपत्रकार तथा आफ्ना नातागोता र आसेपासेलाई लगाई पत्रकारहरुको भाग खोस्ने कुकृत्य गरेको जनाएको छ । प्रेस चौतारी दोलखाको बैठकले सो कार्य प्रति खेद व्यक्त गर्दै भत्र्सना गर्ने निर्णय गरेको र आगामी दिनमा यस्ता कार्य गरेमा गम्भिरतापूर्वक प्रतिवाद गर्ने जनाएको छ ।
प्रेस चौतारी दोलखाका संयोजक प्रभु जिरेल र सह संयोजक ताराबहादुर महतद्धारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना माहामारीका बेला पत्रकारका नाममा प्राप्त भएको स्वास्थ्य सामग्रीहरु नेपाल पत्रकार महासंघ दोलखाका केही पदाधिकारीहरुले दुरुपयोग गरी जथाभावी बाँडेको र राहत सामग्रीहरु व्यक्तिको घरमा जम्मा गर्ने गरेको प्रति समेत आपत्ति प्रकट गरेको छ । साथै कतिपय सामाग्रीहरु बिक्री वितरण समेत गरेको जानकारीमा आएकाले अविलम्व पत्रकारहरुका लागि प्राप्त सबै सामग्रीहरुको विवरण सार्वजनिक गरी वास्तविक पत्रकारलाई समानुपातिक रुपमा वितरण गर्न समेत प्रेस चौतारीले माग गरेको छ ।
यसै गरी विज्ञप्तिमा पत्रकार कोभिड १९ सहायता कोषका नाममा रकम असुली गर्दै महासंघ दोलखा शाखाले जथाभावी पैसा उठाउने, व्यक्तिगत खातामा सहायता माग गर्ने र कुनै रकम सार्वजनिक नगरी गुुपचुपमा राख्ने जस्ता अनियमित गतिविधि गरिरहेको सूचना आएकाले सहायता प्राप्त रकम तत्कालै सार्वजनिक गर्न र पारदर्शीता कायम गर्न पनि माग गरेको छ । यसै गरी नेपाल पत्रकार महासंघले गरेको गतिविधिको कुनैपनि संस्थागत निर्णय नभएको, अध्यक्ष र केही पदाधिकारीले मनोमानी ढंगले निर्णय गर्दै गतिविधि गरेको भन्दै पत्रकार महासंघ जस्तो पवित्र संस्थालाई संस्थागत ढंगले अघि बढाउन समेत माग गरेको छ ।
यसै गरी नेपाल पत्रकार महासंघका अध्यक्ष र विभिन्न पदाधिकारीहरुले स्थानीय सरकार, कार्यालय, संघसंस्था, ठूला परियोजनाहरुमा धम्कीपूर्ण व्यवहार गरी अनावश्यक दुःख दिने र फाईदा उठाउने जस्ता निकृष्ट कार्य गर्दै महासंघको चरित्र नै धमिलो बनाईएको गुनासाहरु आएकाले यस्ता गतिविधिहरु तत्कालै बन्द गर्न पनि माग गरेको छ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका पदाधिकारी आबद्ध मिडियाले कोरोना माहामारीका बेला निषेधाज्ञाका लागि प्रयोग गर्न गैर पत्रकारहरुलाई प्रेसकार्ड बाँडेको जानकारी आएको भन्दै कहीकतै दर्ता नै नभएको गैरकानुनी अनलाईन न्युज पोर्टलहरुको नामबाट जारी गरिएका प्रेसकार्ड वितरण गरी पदीय दुरुपयोग भैरहेको ठहर गर्दै त्यस्ता कामको निगरानी गरी कार्वाही अघि वढाउन जिल्ला प्रशासन कार्यालय दोलखा समक्ष माग समेत गरेको छ । साथै नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्य रविन्द्र गौतमको कोरोना माहामारीका कारण असामयिक निधन भएकोप्रति दुःख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले प्रेस चौतारीले जारी गरेको विज्ञप्तिमा भने जस्तो कार्यहरु पत्रकार महासंघ दोलखाले नगरेको बताउँनु भयो । ‘हामीले सबै क्रियासिल र अग्रपंक्तिमा खटिएका पत्रकारलाई खोप लगाएका छौं । बाँकी रहेका सबै पत्रकारले पनि खोप पाउने छन् ।’ अध्यक्ष चौलागाईले भन्नु भयो । विभिन्न क्षेत्रबाट प्राप्त स्वास्थ्य सामग्री पत्रकार महासंघमा रहेको र त्यसलाई आवश्यकता अनुसार वितरण गरिरहेको वहाँले बताउँनु भयो । पत्रकार महासंघले सबै काम पारदर्शी र जिम्मेवार ढंगले गर्दा गर्दै गम्भीर आरोप लगाउनु पे्रस चौतारीको पराजित मानसिकताको पराकाष्ट भएको अध्यक्ष चौलागाईले टिप्पणी गर्नु भयो । आफुहरु चुनाव जितेर महासंघको नेतृत्वमा आएकोले सबै क्रियाकलाप पारदर्शी हुने भन्दै चौलागाईले सबै हरहिसाब पारदर्शी रहेको बताउनु भयो ।