चरिकोट, २८ असार
दोलखा जिल्ला भर कायक्षेत्र बनाई सेवा प्रवाह गर्दै जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले अब राजधानी काठमाण्डौ सहित पाँच जिल्लालाई कार्यक्षेत्र सेवा प्रवाह गर्ने भएको छ ।
सहकारी संस्थाले दोलखा सहित राजधानी काठमाण्डौ, काभ्रेपलाञ्चोक र भक्तपुरको पुरै जिल्ला र ललितपुर जिल्लाको ललितपुर महानगरपालिका भरी कार्यक्षेत्र बनाई वचत र ऋणको कारोबार गर्न पाउने भएको संस्थाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिनु भयो । जनसचेतन बचत तथा ऋण सहकारी संस्था, रसिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेपा र मुनाल वचत तथा ऋण सहकारी संस्था एक आपसमा एकीकरण भएकोले संस्थाको कार्यक्षेत्र बढेको अध्यक्ष चौलागाईले जानकारी दिनु भयो । यद्यपी सहकारीको मुख्य कार्यालय भने बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ काब्रे दोलखामै रहने छ ।
संस्थाले विद्यमान प्रावधान अनुसार एकीकरण प्रक्रिया पुरा गरी भूमी ब्यवस्था तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट एकिकृत रुपमा काम गर्ने स्विकृत प्राप्त भईसकेकोले आमगी साउन महिनाबाट एकिकृत रुपमा कारोबार सुरु हुने अध्यक्ष चौलागाईले जानकारी दिनु भयो । दोलखा जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर काम गर्दै आएको जनसचेतनको एकै पटक राजधानी लगायत आसपासका जिल्लामा कार्य क्षेत्र बिस्तार हुनुले सहकारी संस्थाले दिने सेवा सुविधा आम रुपमा प्रवाह गर्ने मौका आएको अध्यक्ष चौलागाईले बताउनु भयो । यस अधि राजधानी काठमाण्डौ बसोबास गर्ने दोलखाली नागरिकलाई मात्र सिमित रुपमा सेवा दिदै आएको भए पनि अब कार्य क्षेत्र बिस्तार पछि काठमाण्डौं ललितपुर र भक्तपुर सँगै काभ्रेपलाञ्चोकका नागरिक समेत संस्थाको शेयर सदस्य बन्न पाउने भएका छन् । यसबाट संस्थाले फराकिलो रुपमा बचत संकलन गरी ऋण प्रवाह गर्ने अवसर प्राप्त गरेको छ ।
दोलखा जिल्लाको तत्कालीन काब्रे गाविसमा वि.सं.२०५० साल असोज २२ गते स्थापना भएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले केही बर्षदेखी दोलखा जिल्ला भरी कार्यक्षेत्र बनाई कार्य गर्दै आएको थियो । एशियाली ऋण महासंघबाट २०६९ सालमा अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डक पाएको यस सहकारीले २०७३ साल देखी सिल्भर स्तरको ब्राण्ड निरन्तर रुपमा पाउँदै आएको छ । हाल ३३ हजार भन्दा बढी सदस्य रहेको यस संस्थाले १४ वटा सेवा तथा सम्पर्क केन्द्र मार्फत आफ्ना सदस्यलाई सेवा प्रदान गरिरहेको संस्थाका सचिव कमल दाहालले जानकारी दिनु भयो । समायोजन पछि संस्थाका सदस्य संख्या बढ्ने भए सँगै थप सेवा केन्द्र सञ्चालनका लागि स्विकृती समेत लिई सकिएको सचिव दाहालले जानकारी दिनु भयो ।
हाल सहकारीले आफ्ना सदस्यलाई बचत तथा ऋण सुविधाका साथै निःशुल्क अन्तर सेवा केन्द्र सेवा, मोवाईल बैकिङ सेवा, सदस्य सुरक्षा कोष सेवा, रेमिट्यान्स सेवा, लघुवित्त सेवा र सहकारी शिक्षा तथा तालिम जस्ता सेवा सुविधा उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी नवराज दाहालले बताउनु भयो । तिन वटा सहकारी संस्थाहरु एकीकरण भए सँगै निन वटै संस्थाको शेयर रकम एकिकृत हुने भएको छ भने संस्थाका सम्पुर्ण कोष, ऋण लगानि भएको रकम, बचत, सदस्य एबं तिर्नु पर्ने पर्ने दायित्व समेत एकिकृत हुने भएको छ ।