चरिकोट, २४ साउन
कोरोना संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले दोलखा सदरमुकाम चरिकोटमा थप कडाई गर्ने भएको छ । यस अघि अनिश्चितकालीन निशेधाज्ञा जारी गरेको स्थानीय प्रशासनले पछिल्लो समय कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएकाले जिल्लामा एक साता सदरमुकाम चरिकोट बजार पुर्ण रुपमा बन्द गर्ने निर्देशन जारी गरेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसिको आज बसेको बैठकले पछिल्ला केहि दिनहरुमा संक्रमणको दर बढ्दै गएकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यहि २७ गते राति १२ बजे देखि भदौ २ गते राति १२ बजेसम्म चरिकोट बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ का सम्पुर्ण बजार क्षेत्रका सम्पुर्ण पसल, दोकान, व्यापार, व्यवसाय, होटल रेष्टुरेण्ट, पुर्ण रुपमा बन्द गर्ने तथा लामो दुरीका सवारी साधनहरु बाहेक नगरक्षेत्रमा आन्तरिक सवारी आवगमनमा रोक लगाउने दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ ।
आदेशमा सदरमुकाम चरिकोटस्थित सेवाग्राहीको संख्या धेरै हुने सरकारी कर्याललयहरुले गाउँपालिकागत रुपमा आलोपालो मिलाई सेवा प्रवाह गरि भिडभाड हुन नपाउने ढंगले स्वास्थ्य मापदण्ड तोकि सेवा प्रवाहको प्रवन्ध मिलाउन भनिएको छ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठि, तालिम, सेमिनर, सिनेमा हल, विद्यालय तथा क्याम्पस, पार्टी प्यालेस, सपिङ मल, मनोरञ्जन स्थल, सैदुन ब्युटि पार्लर, हेल्थक्लब, फुटबल, जिमखाना, पुस्तकालय, खेलमैदानमा हसने खेलकुद र मानिसहको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।
विवाह, ब्रतवन्ध, दिवाली, कुलपुजा वा धार्मिक, सामजिक वा सांस्कृतिक क्रियाकलाप पर्व, कार्य वा उत्सव अर्को आदेश नभए सम्मका लागि गर्न नपाइने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।