चरिकोट, १८ भदौ
वैकल्पिक माध्यमबाट सञ्चालन गरिने पठन पाठन प्रभावकारी नभएको भन्दै सरोकारवाला निकायका प्रतिनिधिहरुले सुरक्षाका मापदण्ड अपनाउदै भौतिक उपस्थितमा कक्षा सञ्चालन हुनु पर्नेमा जोड दिएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा माहामारीका बेला प्रयोगमा ल्याईएको वैकल्पिक पठन पाठनका विधि बारे छलफल गरिएको थियो । कोरोना माहामारीको समयमा शिक्षण सिकाईको अवस्था र अबको योजना विषयक अन्तरक्रियामा प्रधानध्यापकहरुले ईन्टरनेट र टेलिफोन लगायतका विधि मार्फत सञ्चालन गरिएको अनलाईन कक्षाहरु प्रभावकारी हुन नसकेको भन्दै भौतिक उपस्थितमै कक्षा सञ्चालनका लागि आवश्यक वातावरण बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जिल्लामा भौतिक उपस्थितमै कक्षा सञ्चालन गर्नका लागि कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा छलफल गरी आवश्यक निर्णय गरिने बताउनु भयो । हाल विद्यालयहरुले सञ्चालन गरिरहेको अनलाइन कक्षा प्रभावकारी नभएको र त्यसले सबै विद्यार्थीलाई समेट्न नसकेको हुुँदा परिस्थिती सहज बन्दै गएको पछिल्लो अवस्थामा भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्न सकिने र त्यसबारे आफुले बैठकमा छलफल पाण्डेले बताउँनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा समन्वय ईकाई दोलखाका संयोजक शंकरबाबु श्रेष्ठले अन्यत्र भन्दा दोलखामा शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी भएको उल्लेख गर्नु हुँदै दोलखा जिल्लामा विस्तारै कोभिड १९ कम हुँदै गएकोले भौतिक रुपमै कक्षा सञ्चालन गर्नका लागि डिसिसिएमसीले निर्णय गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दोलखाका अध्यक्ष हिरा थोकरले अनलाईन कक्षाले वालवालिकामा बिकृती ल्याएको भन्दै भौतिक रुपमै कक्षा सञ्चालन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रम भीमेश्वर नगरपालिका शिक्षा शाखाका अर्जुन कार्कीले भीमेश्वर नगरपालिका भित्रका विद्यालयहरु वन्द रहेको कारण कोभिड १९ फैलन नपाएको बताउनु हुँदै केही सहज भएको अवस्थामा वैकल्पिक विधिलाई समेत कायम राख्दै भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्नेबारे डिसिसिएमसीमा छलफल गरिने बताउनु भयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति दोलखाका संयोजक उद्धवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिञ्चोक माविका प्रधानध्यापक नवराज न्यौपाने, कुटीडाँडा मा.वि.का प्रधानध्यापक शंकरलाल श्रेष्ठ, भीम माविका शेषनाथ आचार्य, देवी माविका प्रधानध्यापक किशोर दाहाल लगायतले बैकल्पिक पठन पाठन प्रभावकारी नभएको भन्दै भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।