चरिकोट, २७ भदौ
मोफसलका सञ्चार माध्यमहरुको दिगोपनाका लागि सरोकारवालाहरुको दायित्व बारे छलफल कार्यक्रम आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै पारस्परिक जवाफदेहिता परियोजना र चरिकोट मिडिया फाउण्डेसनले संयुक्त कार्यक्रम आयोजना हुन् ।
सोही अवसरमा दोलखा घर भई नेपालको सञ्चार क्षेत्रको महत्वपुर्ण जिम्मेवारी समाल्नु भएका सञ्चारकर्मीहरुलाई चरिकोट मिडिया फाउण्डेसनले बधाई ज्ञापन गर्दै सम्मान समेत गरेको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष वालकृष्ण बस्नेत, पे्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्के र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडालाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । कार्यक्रममा चरिकोट मिडिया फाउण्डेसनका अध्यक्ष जीवन लामा र हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव पोखरेलले सम्मान पत्र, पुष्ष गुच्छा सहित खादा र मालाले बधाई ज्ञापन गर्दै सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका सचिव दिलबहादुर के.सी.ले मोफसलका सञ्चारगृहरुको दिगो विकास स्थायित्वका लागि सरोकारवालाहरुको दायित्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै पत्रकार के.सी.ले दोलखामा व्यसायिक रुपमा भन्दा पनि स्वरोजगारका रुपमा मिडियाहरु सञ्चालनमा रहेको भन्दै मिडियाहरुको स्थायित्वका लागि स्थानीय सरकारले प्रवद्र्धनका कार्यक्रम कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । सो अवसरमा के.सी.ले जिल्लामा सञ्चालनमा रहेका साना उद्योग र व्यवसायीहरुले पनि सञ्चार माध्यमहरुको स्थायित्वको लागि पहल गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका वक्ताहरुले सञ्चारमाध्यमहरुको दिगोपनाका लागि सबै सरोकारवालाहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम आफ्नो धारणा राख्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मोफसलका आम सञ्चार माध्यको स्थायित्वका लागि प्रेस काउन्सिल नेपालले आवश्यक पहल गर्ने बताउनु भयो । कार्यक्रममा प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटीले मिडियाका मालिकहरु मोटाउँदै जाने र श्रमजीवि पत्रकारहरुले उचित पारिश्रमिक नपाउने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए ।
पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्केले मिडिया मर्यादित र गुणस्तरिय हुनुपर्नेमा जोड दिँदै मोफसलका मिडियाको वर्गीकरणका लागि प्रेस काउन्सिलले खुकुलो मापदण्ड बनाउँदै नीतिगत सुधार गर्नुपर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका सदस्य दिपक पाण्डेले मिडिया व्यवसायिक बन्नसके मात्र दिगोपनाको आधार स्वतः बन्दै जाने बताउनु भयो । कार्यक्रममा प्रेस चौतारी नेपालका वाग्मती प्रदेश संयोजक शरद सापकोटा, हुराडेक नेपालका अध्यक्ष उद्धव पोखरेल, चरिकोट मिडिया फाउण्डेसनका उपाध्यक्ष गायत्री आचार्य सचिव शेरबहादु भुजेल लगायत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बस्नेत मिडियाको प्रेस काउन्सिलको अध्यक्षमा केही महिना अघि नियुक्त हुनु भएको थियो भने पत्रकार महासंघको पुर्व केन्द्रीय सदस्य समेत रहनु भएका दोलखाका अग्रज पत्रकार मास्के छ महिना अघि प्रेस काउन्सिलमा सदस्य हुनु भएको थियो । खतिवडा पत्रकार महासंघको गत महाधिवेशनबाट खुल्लातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।