चरिकोट, कातिक ३
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ।
महाशाखाले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ।
हाल देशमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको महाशाखाले जनायो।
दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महशाखाले जनायो। 'प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १ का थोरै र प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।'
यसैगरी राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनायो। 'प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ, 'देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।'