चरिकोट, २८ कातिक
मुडे–चरिकोट सडक अलपत्र पार्ने सडक निर्माणमा चासो नदेखाएको भन्दै आन्दोलित ७ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । चाँडै सडक निर्माण गर्न दबाब दिइरहेका दोलखावासी माथि प्रहरी हस्तक्षेप भएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाले आज मुडे चरिकोट सडक निर्माण अलपत्र भयपछि आन्दोलनमा उत्रिएकाहरूलाई आयोजना प्रमुखको कार्यलयमा चाबि लगाउदा नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मुडे चरिकोट सडक निर्माण संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के, सहसंयोजक रमेश खतिवडा, सचिब गोकर्णप्रसाद भण्डारी, सदस्यहरू श्रिजनकुमार घिमिरे, श्याम खतिवडा, अर्जुन कार्की र राजन बस्नेत रहेका छन् ।
सडक समयमै नबनाएको भन्दै दोलखावासीले हरेक सवारीसाधनमा भौतिक पूर्वधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका थिए । पक्राउपछि पनि उनीहरुले प्रहरी परिसरभित्रै नाराजुलुस गरेका छन् । यस अघि सम्बन्धित ठेकेदारको फोटो गाडीमा राखेर विरोध गरेपनि सडक निर्माणमा चासो दिइएको थिएन ।
बहिरो सरकार, सरकार हाम्रो सडक कहिले बनाउने र जनताको माग कहिले पुरा गर्छस् लगायतका प्रश्न राखेर सार्वजनिक बसमा पोष्टर टाँसेर विरोध भइरहेको छ ।
सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का पाएको हो । ७९ करोडमा निर्माण सम्झौता भएको सडकको सोही वर्षदेखि काम सुरु गरेको थियो ।