चरिकोट, २४ मंसिर
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार र शिक्षा बारे छलफल कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना र शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय दोलखाका जिल्ला न्यायाधिवक्ता प्रकास मरासिनीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो अवसर मरासिनीले मानव अधिकार र त्यस भित्र पर्ने शिक्षा अधिकारका कार्यन्वयनका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा मरासिनीले मानवले पाउने अधिकारका प्रकार प्राकृतिक, संवैधानिक र कानुनी आधारमा हुने बताउनु भयो ।
अन्तरक्रियामा हुराडेक नेपालका अध्यक्ष तथा ईन्सेक जिल्ला प्रतिनिधि उद्धव पोखरेलले सन् २०२१ को हाल सम्म दोलखामा भएका मानव अधिकार सम्वन्धि घटनाको विवरण सार्बजनिक गर्नु भएको थियो । सो अवसरमा वहाँले दोलखामा सन् २०२१ को हाल सम्मको अवधिमा बलात्कारका नौं वटा, बलात्कार प्रयासका चार वटा, बाल यौन दुरुपयोगका सात वटा, कर्तब्यज्यान सम्बन्धि पाँच, ज्यान मार्ने उद्योग सम्बन्धि पाँच वटा घटना भएको जानकारी दिनु भयो । यसै गरी सोही अवधिमा ६१ वटा आत्महत्याका घटनाहरु भएको पनि पोखरलेले बताउँनु भयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै दोलखामा प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले मानव अधिकार संरक्षण र सम्वद्र्धनको लागि राज्यले गम्भीरतापुर्वक ध्यान दिएको बताउँदै मावन अधिकारको हनन्का घटना न्युनिकरणका लागि सबै पक्षको साझा प्रयास हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रम दोलखाका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जिल्लामा आत्महत्यका घटना बढेको भन्दै सचेतना र आय आर्जनका कार्यक्रम सञ्चालन गरी यसलाई न्युनिकरण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता, बद्रिकुमार कार्की, हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।