चरिकोट, २६ पुष
नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका महासचिव छिरिङ जाङ्बु शेर्पाले कालिञ्चोक क्षेत्रलाई स्की हवको रुपमा प्रवद्र्धन गर्नु पर्ने बताएका छन् । कालिञ्चोकमा पाँच दिने स्की तालिम दिएर फर्किएका शेर्पाले आफ्नो अनुभव साट्दै कालिञ्चोक विश्वकै आकर्षक स्की हव बन्ने धारणा राखेका हुन् ।
आदिवासी जनजाति पत्रकार महासंघ दोलखाले अन्तर्राष्ट्रिय पर्वतीय गाइड शेर्पाको टिमलाई चरिकोटमा गरेको स्वागत कार्यक्रममा सो धारणा आएको हो । उक्त कार्यक्रममा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य समेत रहेका शेर्पाले कालिञ्चोक क्षेत्र स्की हवको लागि प्रचुर सम्भावना भए पनि सरोकार निकायले ध्यान दिन नसकेको बताए ।
‘कालिञ्चोक आफैमा प्रसिद्ध छ । धार्मिक र प्राकृतिक हिसावले कालिञ्चोकको महिमा उस्तै छ,’उनले भने,‘अझै हिउँ पर्दा र नपर्दा पनि स्की हवको रुपमा प्रवर्दन गर्न सकिन्छ । यहाँ भएको हिउँ व्यवस्थापन गर्ने हो भने आन्तरिकसँगै बाह्य पर्यटकको भीड लाग्छ।’
कालिञ्चोक युरोपको स्की क्षेत्र भन्दा कम नभएको उनको टिप्पणी थियो । यहाँको स्थानीय सरकारले विशेष पहल गर्नु पर्ने उनको बझुाई छ । उनले पाँच दिने तालिमका क्रममा ९ सय मिटरको स्की रन वे समेत टेष्ट गरेका छन् । कुरी भिलेजमा स्की हव बनाउनका लागि माउन्टेड एकेडेमीले मास्टर प्लान गरिरहेको समेत उनले जानकारी दिए । स्की खेलाडीहरुका लागि टि बार समेत आवश्यक भएको शेर्पाले औल्याए । स्की खेल्दा प्रशिक्षक तथा प्रशिक्षार्थी थकित हुने भएकाले पोर्टेबल टि बार सेटप गर्नु पर्ने उनको अनुभव छ ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले कालिञ्चोक पर्यटकीय आकर्षक गन्तव्य भएको बताउँदै संरक्षण र प्रवद्र्धन आवश्यक भएको बताए । ‘कुरीको भवन तथा होटल निर्माण अव्यवस्थीत छ । सरकारी जग्गा हो । यसलाई अतिक्रमणबाट जोगाउनु आजको आवश्यकता हो,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने,‘पर्यटन प्रवद्र्धनसँगै यहाँ भएका बेथितिको विषयमा सुधार्नु पर्ने छ ।’
ट्रेकिङ तथा ट्राभल कम्पनीले हिमाल हेर्न, स्की खेल्न आउन चाहने पर्यटकलाई प्याकेजको रुपमा ल्याउनु पर्ने निरौलाको धारणा थियो । पत्रकार महासंघ दोलखाका सचिव दिलबहादुर केसीले काठमाडौंबाट नजिक रहेको कालिञ्चोक र शैलुङ स्की खेलको लागि उत्तम गन्तव्य भएको बताए । केसीले स्की खेल सम्भावना भएको क्षेत्रमा अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारीसँग अनुरोध समेत गरेका थिए ।
अतिक्रमणको विषयमा हरेक वर्ष बहस र छलफल भए पनि विवाद नटुगिएको केसीको भनाइ थियो । पत्रकार महासंघ दोलखाका निवर्तमान अध्यक्ष जीवन लामाले दोलखा प्राकृतिक तथा धार्मिक हिसावले प्रसिद्ध भएको बताउँदै कालिञ्चोक स्की खेलका लागि उर्वर भूमि भएको बताए ।
प्रशिक्षार्थी विरोध बुर्लाकोटिले दोलखा पर्यटकीय गन्तव्य हुँदा हुँदै पनि ट्रेकिङ रुटहरु डोजरे विकासका कारण हराएकोमा चिन्ता व्यक्त गरेका थिए । ‘दोलखाको प्राकृतिक भुवनोट जोगाउँनुस्, प्रवद्र्ध गर्ने जिम्मा हाम्रो भयो,’ उनले भने,‘यदि दोलखाको प्रकृकि जोगियो भने पर्यटन आफै प्रवद्र्धन हुन्छ ।’
उनले कालिञ्चोक र शैलुङ क्षेत्रमा भएको अतिक्रमणको विषयमा कटाक्ष गर्दै ट्रेकिङ रुटको स्वरुप विगारेकाले स्थानीय सरकार आफै चनाखो हुनु पर्ने धारणा राखेका थिए ।
पाँच दिने तालिम सम्पन्न
नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजना गरिएको छैटौँ स्की लेभल १ प्रशिक्षण सम्पन्न भएको छ ।
कालिञ्चोकमा पुस १८ देखि २५ गतेसम्म भएको प्रशिक्षणमा १८ जना प्रशिक्षार्थी सहभागी थिए । कार्यक्रममा इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसियसनद्वारा मान्यता प्राप्त चार जना माउन्टेन गाइडले प्रशिक्षण दिएका थिए ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य छिरिङ जाङ्बु शेर्पा, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष आङ नोर्बु शेर्पा, पासाङकाजी शेर्पा, छिरिङ पाण्डे भोटेले प्रशिक्षण दिएका थिए । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संयुक्त रूपमा सन् २०१५ देखि हरेक वर्ष हिउँदमा स्की प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।