रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा अवस्थित सानो शैलुङमा भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । मागेको कुरा पूरा हुने जनविश्वासको कारण भक्तजनहरु सानो शैलुङको दर्शन गर्न जाने गर्छन । वर्षामा ४ पटक ठूलो मेला लाग्छ । त्यसबाहेक प्रत्येक शनिबार भक्तजनहरु महादेवको दर्शन गर्न लाईननै लाग्छ ।
सानोशैलुङबाट पुगेर ई दैनिक सहकर्मी जीवन लामाले कैद गर्नु भएका केही तस्वीरहरु
रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवानबाट समेत भक्तजनहरु आउने गरेका छन् । ठूलो जंगलको बीचमा ओढारभित्र रहेको महादेवको शिला पछि मात्र पत्ता लागेको हो । ठूलो भीरको बीचभागमा अवस्थित रहेको महादेवको साथै छ फिट अग्लो शिवलिङ्ग रहेको छ । उक्त शिवलिङ्गमा भाग्यमानीहरुलाई माथिबाट गाईको थुनबाट दूध झारिदिने जनविश्वास छ । तसर्थ महादेवको दर्शनको लागि महिलाहरु बढी मात्रमा पुग्ने गरेका छन् ।
ठूलो भीरको ओढारमा शिव, गणेशको समेत शिलाहरु रहेका छन् । यहाँ पापीहरु छिर्न नसक्ने तर धर्मात्मक व्यक्तिहरु छिर्न सकिने धेरै प्वालहरु छन् । जहाँबाट बालबालिकादेखि ज्येष्ठ नागरिकहरु समेत छिर्ने गर्छन । साथै त्यसैभित्र बजाउदा मादलको आवाज आउने भित्ताहरु पनि छन् ।
लकडाउनपछि यहाँ दर्शन गर्न जानेहरुको लर्कोनै देखिन्छ । दोलखाको शैलुङ गाउँपालिका, ढुंगेबजार, ताम्चेतदूधपोखरी, गौचारा, खोरपानीहुँदै सानो शैलुङसम्म मोटरबाटो पुगेको छ । सानो शैलुङ चरिकोटबाट ५२ किलोमिटर टाढा रहेको छ ।