चरिकोट, ७ बैशाख
नेकपा एमाले दोलखाले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहहरुमा उम्मेद्वार टुङगो लगाएको छ । एमाले दोलखाले ३० गते हुने निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका सहित सात गाउँपालिका गरि ९ वटै स्थानीय तहहरुमा प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुको टुङ्गो लगाएको हो ।
नेकपा एमाले जिल्ला कमिटि दोलखाको सदरमुकाम चरिकोटमा आज बसेको बैठकले जिल्लाका भीमेश्वर नगरपलिकामा प्रमुख भरत केसी र उपप्रमुख कमला बस्नेत, जिरी नगरपालिकाका नगर प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णामाया बुढाथोकीलाई उम्मेद्वार बनाउने घोषणा गरिएको छ ।
त्यसैगरी शैलुङ गाउँपालिकाको अध्यक्षमा धन बहादुर तामाङ र उपाध्यक्षमा पार्वती कार्की, मेलुङ गाउँपालिकाको अध्यक्षमा हिरा कुमार थोकर र उपाध्यक्षमा गायत्री आचार्य, कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा गणेश शिवाकोटि र उपाध्यक्षमा कविता थामीलाई उम्मेद्वार घोषणा गरिएको छ ।
विगु गाउँपालिकाको अध्यक्षमा अछुतम केसी र उपाध्यक्षमा देविका थामी, गौरिशंकर गाउँपालिकाको अध्यक्षमा जंग गुरुङ र उपाध्यक्षमा मुना शिवाकोटी, बैतेश्वर गाउँपालिकाको अध्यक्षमा माधव प्रसाद घिमिरे र उपाध्यक्षमा नवीना लामा र तामाकोशी गाउँपालिकाको अध्यक्षमा अभिषेक सुवेदी र उपाध्यक्षमा अम्बीका पोख्रेललाई उम्मेद्वार घोषण गरिएको एमाले दोलखाले जनाएको छ ।
जिल्लाका भीमेश्वर नगरपालिकामा नगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरानै अनुहार दोहोर्याएका छन् भने जिरी नगरपालिकामा उपप्रमुख दोहोर्याएको छ । यस्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी भने आ–आफ्नै दाबी र अडानमा अड्किएका छन् । जसका कारण जिल्लामा उम्मेदवार चयन गर्न सकस भइरहेको छ । स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनिएपनि नेपाली कांग्रेस र माओवादी केन्द्रले आ आफ्नै हिसाबले स्थानीय तहका प्रमुख, उपप्रमुख वडा अध्यक्ष र सदस्यको उम्मेदवार दाबी गरिरहेका छन् भने एकीकृत समाजवादी पार्टीले हालसम्म कुनै पनि पदमा उम्मेदवारको नाम टुंगो लगाएको छैन ।